ad ad

समाज


विदेश जान लागेको छोरालाई बिदाइ गरेर फर्किएकी नानुमायालाई खोलाले बगायो

कुकुरको टोकाइबाट बुवा घाइते, फ्लाइट रोकेर फर्किए छिरिङ
विदेश जान लागेको छोरालाई बिदाइ गरेर फर्किएकी नानुमायालाई खोलाले बगायो

राजकुमार तितुङ, छोरा छिरिङ तितुङ र आमा नानुमाया तितुङ


सुनिता विष्ट
भदौ १६, २०८१ आइतबार १८:३१, मकवानपुर (हेटौंडा)

मकवानपुरमा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छिन्। जिल्लाको बकैया गाउँपालिका–६ की ३६ वर्षीया नानुमाया तितुङलाई आज बकैया खोलाले बगाएको हो।

निजगढबाट बकैया फर्कने क्रममा खोलाले बगाएर नानुमाया बेपत्ता भएको बकैया–६ का वडाध्यक्ष फूलमान भोम्जनले जानकारी दिए।

भोम्जनका अनुसार, खोला तर्नेक्रममा उनलाई बगाएको तराई-मधेस फास्ट ट्रयाकमा काम गर्ने मानिसहरूले देखेका थिए। 

नानुमायाका छोरा छिरिङ तितुङ वैदेशिक रोजगारीका लागि विदेश जान लागेका थिए। शनिबार (हिजो) श्रीमान् र छोराको साथमा गाडि चढेर उनी निजगढ गएकी थिइन्।

श्रीमान् राजकुमार तितुङ र छोरासँगै शनिबार निजगढमै बास बसेका थिए। आफन्तको बास बसेका उनीहरूले आइतबार आ–आफ्नो गन्तव्यतर्फ लाग्ने सोच बनाए।

सोही अनुसार आज बिहानै नानुमायाले छोरालाई बिदाइ गरिन्। राजकुमार भने प्लेन चढाउनका लागि छोरोसँगै काठमाडौँ जाने तयारीमा जुटे।

नानुमाया हिँडेरै घर फर्किइन्। लामो बाटो छिचोलेर गाउँ आइपुग्नै लागेकी उनलाई बकैया खोलाले बगायो।

‘बिहानैदेखि परेको अविरल बर्षाका कारण बकैया खोलाको बेग निकै ठूुलो थियो,’ वडाध्यक्ष भोम्जनले भने, ‘खोला तर्ने क्रममा बगाएछ। फास्ट ट्रयाकमा काम गर्ने मानिसहरूले देखेका रहेछन्। बचाउन खोजेछन् तर सफल भएनन्।’

उता, राजकुमार पनि छोरो लिएर काठमाडौँ जान नभ्याउँदै कुकुरको टोकाईबाट घाइते भएका छन्। बिहान सबेरै कुकुरले टोकेपछि निजगढमै अल्मलिएका राजकुमारले श्रीमतीलाई खोलाले बगाएको खबर पाएका पाए। 

छोरो छिरिङ वैदेशिक रोजगारीका लागि साउदी अरब जान लागेका थिए।

सोमबार अर्थात् भोलिको फ्लाइटमा साउदी जान हिँडेका छिरिङ आमालाई बगाएको खबरले गाउँमै फर्कँदै गरेको वडाध्यक्ष भोम्जनले जानकारी दिए।

घटनास्थलमा यतिबेला सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी लगायतको टोलीले खोजी गरिरहेको छ। खोलाको बहावका कारण खोजी कार्यमै सकस भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .