समाज


जेलमा आलमको छुट्टै सानः घरको खाना, सिदा सरकारलाई दान

जेलमा आलमको छुट्टै सानः घरको खाना, सिदा सरकारलाई दान

उजिर कार्की
फागुन २१, २०७६ बुधबार १४:१६,

१२ वर्षअघि बम विस्फोटका घाइतेलाई इँटाभट्टामा जलाएर सामूहिक हत्या गरेको आरोप लागेका पूर्वमन्त्री आफताब आलम ललितपुरको नक्खु कारागारमा कैद छन्। १५ सयभन्दा बढी कैदीबन्दी राखिएको जेलमा आलमको जीवनशैली अरु सबैको भन्दा भिन्न छ।

नक्खु कारागारमा कैदी र बन्दी गरी १ हजार ५ सय ६८ जना छन्। तीमध्ये १ सय २१ जना विदेशी हुन्। यहाँ कैदीबन्दीलाई अपराधको प्रकृतिअनुसार छुट्टयाएर राख्न चार वटा ‘ब्लक’ छन्। सामाजिक अपराधमा संलग्नलाई राख्ने ब्लकलाई सीआरसी नाम दिइएको छ।

सीआरसीभित्र पनि छुट्टाछुट्टै शाखा छन्। तिनलाई एक, दुई, तीन खण्डमा विभाजन गरिएको छ। सीआरसीको ३ नम्बर ब्लकमा छन् आलम। सामाजिक अपराधका १ सय ४ जना कैदीबन्दी यही ब्लकमा छन्।

आलम बस्ने कोठामा अरु तीन जना कैदी पनि बस्छन्। दुई जना लागुऔषध र एक जना चोरी मुद्दामा समातिएका हुन्।

सबै कैदीबन्दीलाई हरेक दिन ७ सय ग्राम चामल र ६० रुपैयाँ सिदा दिइन्छ। तर, आलम सरकारी सिदा लिँदैनन्। उनका लागि हरेक छाक खाना घरबाटै आउँछ।

हत्या आरोपमा कात्तिक २९ गते आलम पुर्पक्षका लागि कारागार चलान भएका हुन्। त्यही दिनदेखि नै उनले जेलभित्रको खाना खाएनन्। जिल्ला अदालत रौतहटले उनलाई थुनामा राख्न आदेश दिएपछि रातारात उनलाई नक्खु कारागार ल्याइएको थियो।

आलमका लागि खाना ल्याएर कहिले छोरा त कहिले भतिज आउँछन्। गेटमा प्रहरीले खाना लिएर आउनेलाई नै चखाउँछ र भित्र पठाइदिन्छ।

ढिला सुत्छन्, ढिला उठ्छन्
प्रेसर र सुगरका बिरामी आलम बिहान ढिला उठ्छन्। ८ बजे उठेर पहिले उनी हरियो स्याउ खान्छन् अनि औषधी लिन्छन्। घरबाट अन्य फलफूल आएको बेला सहकैदीलाई पनि बाँड्छन्। स्याउ चाहिँ दिँदैनन्।

नक्खु कारागारभित्रै मस्जिद, गुम्बा र शिव मन्दिर छन्। कैदीबन्दीहरु आफ्नो आस्थाअनुसार पूजा/प्रार्थना गर्छन्। आलम पनि हरेक दिन मस्जिद जान्छन् र नमाज पढ्छन्।

मस्जिदमा मात्र होइन, जेलको कोठाभित्रै पनि उनी बिहान फलफूल र औषधी खाइसकेपछि नमाज पढ्छन्।

अन्य कैदीहरु बाहिर निस्किरहन्छन्। तर, आलम कहिलेकाहीँ मात्र कोठाबाहिर निस्किछन्। उनी पत्रपत्रिका खासै पढ्दैनन्।

१२ बजे खाना खानुअघि पनि उनी नमाज पढ्छन्। बेलुका साढे ९ बजेपछि कैदीबन्दीहरु कोठाबाहिर जान पाउँदैनन्। आलम कोठाभित्रै राति अबेरसम्म बस्छन् र नवाज पढ्छन्।

हरेक दिनजसो आलमलाई भेट्न कोही न कोही आइरहन्छन्। आफन्त, सांसद र स्थानीय नेता कार्यकर्ता उनीकहाँ आउँछन्।

भन्छन्ः सिदा सरकारलाई दान दिन्छु
जेलभित्र थरिथरिका मेस छन्। साधारण खाना खानेहरुले कारागारको मेसमा महिनाको तीन छाक मासु र अण्डा खान पाउँछन्। यो मेसमा खाने कैदीले सरकारले दिएको ६० रुपैयाँमध्येबाट दैनिक १५ रुपैयाँ बचाउँछन्। चामल र ४५ रुपैयाँ बुझाएपछि उनीहरुले खाना खान पाउँछन्।

पैसा थपेर खानेहरुका लागि स्पेसल मेस छ। सिदामा मासिक २ हजार ५ सय रुपैयाँ थपेपछि स्पेसल खाना पाइन्छ। यस्तो खानामा बासमती चामल, ६ थरिको तरकारी, हप्तामा तीन छाक मासु र तीन छाक अण्डा हुन्छ। नक्खु जेलमा यसरी खाना खाने करिब ४ सय जना छन्।

कोही जेलमै बुझेको चामल र सिदा पनि आफैं पकाएर खान्छन्। विदेशीहरु भने सरकारले दिने चामल बुझ्दैनन्। त्यसको सट्टा पैसा नै लिन्छन्।

‘उनीहरु चामल खाँदैनन्, आफ्नो इच्छा अनुसारको खाना बाहिरबाट मगाउँछन्, चामलको हुँदो पैसा दिन्छौं,’ नक्खु कारागारका जेलर मोहन अधिकारी भन्छन्।

आलमले लिएको भए हालसम्म ७७ केजी चामल र ६ हजार ६ सय ६० रुपैयाँ बुझिसक्थे। तर, सरकारले दिने सुविधा नलिने उनले बताएका छन्।

उनका आफन्त भन्छन्, ‘सरकारको खान्नँ भन्नुहुन्छ, जेलबाट निस्किएपछि एकमुष्ट बुझेर सरकारलाई नै दान दिने सोचमा हुनुहुन्छ।’

आलमको मुद्दा रौतहटमा छ। पहिलो संविधानसभा निर्वाचनमा पड्काउन भनेर आलमका सहयोगीले २०६४ चैत २७ गते रौतहटको राजपुरमा बम बनाउँदै गर्दा विस्फोट भएको थियो। विस्फोटका घाइतेलाई उपचारका लागि अस्पताल लैजानुको सट्टा इँटाभट्टामा हालेर हत्या गरेको आरोप उनीमाथि छ।

तर प्रहरी र सरकारी वकिलको कार्यालयसँगको मिलेमतोमा उनले घटनालाई गुपचुप राख्न सफल भएका थिए। २०६५ असार ९ गते आलमसहित घटनामा संलग्न भनिएकाहरु प्रहरीमा हाजिर भएर त्यही दिन छुटेका थिए।

त्यसपछि उनले लगातार चुनाव मात्रै जितेनन्, दुई पटक मन्त्री पनि बने। २०६९ जेठ २६ गते सर्वोच्च अदालतले मुद्दाको अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो। तर, लामो समयसम्म उनीमाथि कुनै कारबाही भएन। अन्ततः फैसला कार्यान्वयन निर्देशनालयले सात दिन म्यादै तोकेर अनुसन्धानको प्रगति विवरण मागेपछि गत असोज २६ गते उनी पक्राउ परेका थिए।

पुर्पक्षका लागि थुनामा रहेका आलमको मुद्दाको अन्तिम फैसला भने आउन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .