ad ad

समाज


सिंहदरबारभित्रै सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरू आन्दोलित

सिंहदरबारभित्रै सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरू आन्दोलित

नेपालखबर
भदौ ७, २०८१ शुक्रबार १६:३३, काठमाडौँ

सरकारी सवारी साधन चलाउने ड्राइभरको जीवनबिमा (इन्स्योरेन्स) गर्न माग गर्दै सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरू आन्दोलित भएका छन्।

शुक्रबार सिंहदरबारमा सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी संयुक्त संघर्ष समितिले जीवनबिमाको माग गर्दै आन्दोलन गरेको हो। 

उनीहरूले सरकारले आफ्ना मागहरु पूरा नगरे आन्दोलनलाई अझै बढाउँदै जाने बताए। संघर्ष समितिका उपाध्यक्ष जितेन्द्रकुमार मिश्राले सवारी साधनको इन्स्योरेन्स भएझै सरकारी सवारी साधन चलाउने ड्राइभरको पनि हुनुपर्ने आफूहरुको माग रहेको बताए। 

आफूहरूलाई महंगी भत्ता, सामाजिक सुरक्षा कोषमा आवद्ध गरिदिनुपर्ने पनि माग अघि सारेका छन्।

संघर्ष समितिका अध्यक्ष श्याम सापकोटालाई नियमित काममा फर्काउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको बताए। उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले भारी सवारी चालक सापकोटालाई मानसिक तनाव दिई जागिरबाट निस्किने अनुचित वातावरण बनाइएको भन्दै सिंहदरबारमै अनसन बसेको बताए।

‘गाडीको इन्स्योरेन्स भएजस्तै ड्राइभरको पनि इन्स्योरेन्स गरिदिनुस्, महंगी भत्ता, सामाजिक सुरक्षा कोषमा आवद्ध गरिदिनुस् भन्दा यहाँका हाकिमले काम गर्ने इच्छा भए गर्नुस् र नगर्ने भए जानुस् भनेपछि साँचो छोडेर जानुभयो। उहाँकै बारेमा प्रधानमन्त्री कार्यालयमा यस्तो अभद्र व्यवहार हुन्छ भने हामी चुप लागेर बस्दैनौँ,’ उनले भने।

उनीहरूले सरकारको विभिन्न निकायहरुमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुको समस्याहरु समाधान गर्दै न्यायोचित व्यवस्थापन गर्न माग गरेको बताए।

लामो समयदेखि कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरुलाई मानसिक तनाव बढाउने र रोजगारीबाट हटाई आफ्नो नजिकका व्यक्तिहरुलाई राख्ने उद्देश्यले हटाइएको उनीहरूको आरोप छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .