ad ad

समाज


रुरल डेभलपमेन्ट सहकारीको करोडौं रकम ठगी आरोपमा अध्यक्ष पक्राउ, सचिव र कोषाध्यक्ष फरार

रुरल डेभलपमेन्ट सहकारीको करोडौं रकम ठगी आरोपमा अध्यक्ष पक्राउ, सचिव र कोषाध्यक्ष फरार

नेपालखबर
भदौ ५, २०८१ बुधबार २१:५२, काठमाडौँ

काठमाडौं महानगरपालिका वडा नं १६ मा रहेको रुरल डेभलपमेन्ट ऋण तथा बचत सहकारी संस्थाका अध्यक्ष आङ बाबू राई सहकारीको रकम ठगी गरेको अभियोगमा पक्राउ परेका छन्।

सो सहकारीको ठगी प्रकरणमा मुछिएका सचिव विनोदमणि राई र कोषाध्यक्ष अप्सरा श्रेष्ठ हाल फरार छन्।

आर्थिक वर्ष २०७३/०७४ सम्म रु २२ लाख ४६ हजार १० रुपैयाँ नाफा रहेको सहकारीको सबै रकम तीनजना पदाधिकारीहरूले मिलमतोमा ठगी गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ। रकम ठगीपछि उनीहरूले हालसम्म सहकारीको साधारणसभा नगरेको पाइएको छ।

महानगरपालिकाले उक्त सहकारी छानबिन गरी १३ वटा कैफियत औल्याउँदै थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई पठाएको थियो।

महानगरीय प्रहरी वृत्त लैनचौरले ठगीमा संलग्नहरूलाई पक्राउ गरी अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

महानगरको प्रतिवेदनका आधारमा वृत्तले अध्यक्ष राईलाई साउन २२ गते पक्राउ गरि अनुसन्धान सुरु गरेको हो।

महानगरको प्रतिवेदन अनुसार तीन जना पदाधिकारीले कार्यसमितिको निर्णयबिना सहकारीको नाममा रकम संकलन गरि आफ्नो ब्यक्तिगत खातामा रकम जम्मा गरेको, सचिवको नाममा सेयर खरिद गरेको र कोषाध्यक्षको नाममा घरजग्गा खरिद गर्ने गरेको पाइएको छ।

सहकारीको कर्जा रकम असुल उपर गरी लिलामबाट आएको भीमढुंगा ३ स्थित कित्ता नम्बर ६१ को क्षेत्रफल १-११-२-० रोपनी जग्गा सहकारीको नाममा नराखी अध्यक्ष र सचिवको योजनामा कोषाध्यक्ष अप्सरा श्रेष्ठको नाममा पास गरी ठगी गरेको समेत महानगरपालिकाको प्रतिवेदनमा उल्लेख गरिएको छ।

यस्तै अध्यक्ष, सचिव र कोषाध्यक्षले निर्णयबिना आफुखुसी मनोमानी तवरले सहकारीको बचत रकमले तलब बुझी ठगी गरेको, संचालक समितिको निर्णय र साधारणसभाको निर्णयबिना कर्जा प्रवाहमा १ देखि २ प्रतिशत सेवा शुल्क लिई ब्यक्तिगत तवरले ठगी गरेको, गैरकानुनी रुपमा अध्यक्ष आफैं प्रबन्ध भएर २४ लाख ६७ हजार ४१६ र अध्यक्षको भत्ता १० लाख ३ हजार ४३५ रुपैयाँ भुक्तानी लिएर सर्वसाधारणको बचत रकम ठगी गरेको प्रतिवेदनमा उल्लेख छ।

एन्जिओ नेपाल रुरल डेभलपमेन्ट फाउन्डेसनका सदस्यहरु सहकारीको कार्यक्षेत्र सिमित गर्नेगरि स्वीकृत लिएता पनि गैरकानुनी तवरले संस्था तथा सहकारीका संस्थापक पदाधिकारीहरूलाई जानकारी नै नदिएर अन्य सर्वसाधारण नागरिकहरूलाई सदस्य राखी रकम बचत गर्न लगाई ठगी गरेको विषय थप अनुसन्धान गर्न महानगरले गठन गरेको कार्यदलले सुझाव दिएको छ।

तीन जनाले गैरकानुनी रुपमा २३ प्रतिशत ब्याज लिएर ब्यक्तिगत खातामा जम्मा गरेर ठगी गरेको, कुनैपपनि सूचना र जानकारी नदिएर ३७० जना सेयर सदस्य मध्य ४० जना मात्रैको उपस्तिथि देखाएर ६ वर्षको काल्पनिक साधारणसभा गरी नक्कली लेखापरीक्षण बनाएर महानगरपालिकामा पेश गरि ठगी गर्न लागेकोमा महानगरले अवैधानिक घोषण गरेको औल्याउँदै थप अनुसन्धानका लागि प्रहरी समक्ष प्रतिवेदन पठाएको हो।

काठमाडौं महानगर वडा नम्बर २ लाजिम्पाटमा कार्यालय रहने गरि दर्ता गरेकोमा बिना स्वीकृत काठमाडौं– १६ मा भूमिगत कार्यालय सञ्चालन गरि ठगी गरेको समेत अनुसन्धानबाट खुलेको छ।

सहकारीले संकलन गरेको रकम सहकारीको नाममा रहेको सिटिजन बैंकको खातामा जम्मा नगरी अध्यक्षको निजि खातामा जम्मा गरि सिमित ब्यक्तिले दुरुपयोग गरेको तथा कर्जाबाट उठाएको सावाँ र ब्याजको रकम समेत निजि खातामा लिएर ठगी गरेको पाइएको छ।

ठगीमा संलग्न अध्यक्ष राई एमाले सोलुखुम्बु जिल्ला कमिटी सदस्य तथा थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका प्रत्यासी समेत हुन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .