समाज


जोखिमपूर्ण बन्दै कालीगण्डकी करिडोर सडक

जोखिमपूर्ण बन्दै कालीगण्डकी करिडोर सडक

फाइल तस्बिर


नेपालखबर
भदौ २, २०८१ आइतबार १५:२२, नवलपुर (नवलपरासी)

ठाउँठाउँमा गएको पहिरोका कारण कालीगण्डकी करिडोरको सडकमा यात्रा जोखिमपूर्ण बनेको छ। करिडोरको गैँडाकोट–राम्दी–पीपलडाँडा खण्डमा पहिरोले यात्रा जोखिमपूर्ण बनेको हो। 

गैँडाकोट नगरपालिकाका प्रवक्ता एवम् वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारीले करिडोरमा ठूला पहिरो खसेर यातायात सञ्चालनमै कठिनाइ भएको बताए। 

‘यो करिडोरले पहाडी क्षेत्रका बासिन्दाको यात्रालाई सहज भएको थियो। तर विभिन्न ठाउँमा खसेका पहिरोले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘सबैभन्दा ठूलो पहिरो गैँडाकोट, बुलिङटारलगायतका क्षेत्रमा छन्।’

पहिरोले सडक अवरुद्ध हुँदा सामान्य रुपमा पहिरो हटाइए पनि पूरै सफा गर्न नसकिएको उनको भनाइ छ।

‘पहिरो आएर सडक रोकिन्छ, अलिअलि हटाउँदै यातायात सञ्चालन गरिँदै आएको छ,’ उनले भने, ‘पहिरो पूर्णरुपमा नहटाउँदा सानो पानी पर्दा समेत माथिबाट पहिरो खसेर पुनः सडक अवरुद्ध हुने गरेको छ।’

पहिरोले सडकसमेत भासिएको तिवारीले जानकारी दिए।

कालीगण्डकी करिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) सडक योजनाका प्रमुख कल्पना अधिकारीले सडकमा खसेको पहिरो र भासिएको सडक मनसुनपछि मर्मत गरिने बताए। 

‘अहिले पानी परिरहेको छ, पहिरो पूरै सफा ग¥यो भने फेरि उस्तै हुन्छ, अब मनसुन सकिएपछि राम्रोसँग सफा गर्ने योजना बनाएका छौँ’, उनले भने, ‘भासिएको सडक पनि पानी पर्न रोकिएपछि निर्माण कम्पनीले बनाउने भनेको छ।’

करिडोरमा खसेको पहिरो रोकथामका लागि बजेट नभएको उनको भनाइ छ। 

‘पहिरो नियन्त्रणका लागि धेरै बजेट लाग्छ, हामीले बजेटका लागि मन्त्रालयलाई पत्र लेखेका छौँ’, उनले भने, ‘पहिरोको दीर्घकालीन समाधान नगरी सामान्य रुपमा हटाउने हो भने समय र पैसा खेर जान्छ।’ 

करिडोरको विभिन्न ठाउँमा एक किलोमिटर भन्दा लामो पहिरो गएको योजना प्रमुख अधिकारीले बताए। करिडोरको पहिरो जोखिम क्षेत्रबाहेक सबै सडक कालोपत्र सकिएको उनको भनाइ छ।

पहिरो नियन्त्रणका लागि छुट्टै ठेक्का आह्वान गरेर काम गरिने भए पनि सडक भासिएको ठाउँमा निर्माणको जिम्मा पाएकै व्यवसायीले सडक मर्मत गर्ने उनले बताए। 

‘गैँडाकोट–राम्दी–पीपलबोट खण्ड इकेके इन्फ्रास्ट्रक्चर लिमिटेड काठमाडौँले बनाएको हो, गत वर्ष निर्माण सकिएको सडक आगामी मङ्सिरमा हस्तान्तरण गर्ने तयारी भइरहेको थियो,’ उनले भने, ‘निर्माण सम्पन्न भएको एक वर्षभित्र सडक बिग्रिएमा भासिएमा निर्माण कम्पनीले बनाउनेगरी सम्झौता भएकाले अब सडक भासिएको ठाउँमा निर्माण कम्पनीले सडक बनाएर हस्तान्तरण गर्नुपर्छ।’

निर्माण कम्पनीलाई पूरा पैसा भुक्तानी नगरिएको भन्दै उनले सडक मर्मतपछि मात्रै भुक्तानी गरिने बताए।

बुलिङटार गाउँपालिका–१ को देउढा नजिकै करिब १५ मिटर सडक भासिएर कालीगण्डकी नदीमा पुगेको छभने विभिन्न ठाउँमा सडक चर्किएको छ।

भासिएको ठाउँमा भित्ता काटेर सवारीसाधन एकतर्फी सञ्चालन गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad