ad ad

समाज


भ्रष्टाचार कसुरमा थुनामा रहेका चूडामणि शर्माले सर्वोच्चमा दिए बन्दी प्रत्यक्षीकरणको निवेदन

भ्रष्टाचार कसुरमा थुनामा रहेका चूडामणि शर्माले सर्वोच्चमा दिए बन्दी प्रत्यक्षीकरणको निवेदन

नेपालखबर
साउन २५, २०८१ शुक्रबार १९:०, काठमाडौँ

विशेष अदालतबाट भ्रष्टाचार कसुरमा दोषी ठहर भएका पूर्वप्रशासक चूडामणि शर्मा साउन २३ गते आत्मसमर्पण गरेर थुनामा बसेका छन्।

थुनाबाहिरै रहेर विशेष अदालतको फैसलाविरूद्ध पुनरावेदन गर्न नपाएपछि उनले आत्मसमर्पण गरेका थिए।

कर फर्स्योट आयोगमा छँदा व्यापारीहरूलाई ठूलो रकम अन्धाधुन्ध छूट दिएको प्रकरणमा उनी दोषी ठहर भएका थिए। उनी आन्तरिक राजस्व विभागको महानिर्देशक छँदा आयोगको सदस्य सचिव भएर काम गरेका थिए।

अख्तियार दुरूपयोग अनुसनधान आयोगले आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव शर्माविरूद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले ९ वर्ष कैद गर्नुका साथै  बिगो र जरिवाना तोकेको हो।

कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महतलाई ९ वर्ष १ महिना कैद तोकिएएको छ। आगोगका सदस्य उमेश ढकाल र सदस्य सचिव आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चूडामणि शर्मालाई त्योभन्दा एक महिना कम ९ वर्ष कैद सजाय तोकिएको छ।

प्रत्येकले बिगो र जरिवाना गरी ६ अर्ब १६ करोड ४० लाख ९६ हजार ८४७ रुपैयाँ तिर्नुपर्नेछ। 

सर्वोच्चमा पुनरावेदन गर्नुअघि कैद र जरिवानावापतको रकम जम्मा गर्नुपर्छ। उक्त रकम जम्मा गर्न नसकेपछि शर्मा थुनामा गएका हुन्।

उनले गैरकानुनी थुना भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन भने शुक्रबार दिएका छन्। पुनरावेदनचाहिँ २३ गते नै दिएका थिए। 

शर्माविरूद्ध भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको भनी दायर गरिएको अर्को मुद्दा सर्वोच्च अदालतमा विचाराधीन नै छ।

यस मुद्दामा विशेष अदालतले उनलाई सफाइ दिए पनि अख्तियार सर्वोच्चमा पुनरावेदनमा गएको हो। शर्माले सरकारी सेवामा रहँदाको अवधिभर ३ करोड ४५ लाख ३२ हजार ३५६ रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनीरूपमा आर्जन गरेको भेटिएको अख्तियारको दाबी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .