एक व्यक्तिलाई हनि ट्रयापमा पारेर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–७ घर भइ हाल काठमाडौंको बौद्ध बस्ने २० वर्षीया तेन्जी डोमा छिरिङ/डोल्मा लामा भन्ने सिर्जना तामाङ र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ घर भइ हाल कागेश्वरी मनहरा मुलपानी बस्ने वर्ष २९ को सौरभ तामाङ भन्ने लिला बहादुर तामाङ रहेका छन्।
उनीहरूले योजनाबद्ध तवरले महिला र पुरुषको समूहलाई सामाजिक सञ्जाल मार्फत परिचालन गरेर फोन आदानप्रदान गरी सम्पर्क तथा प्रत्यक्ष भेटघाट गराई अश्लील भिडिओ बनाउने गरेको र उक्त भिडिओ पीडितलाई पठाएर डर त्रास देखाई मोल मोलाई गर्ने गरेको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा सौरभले पीडित पुरुषको फेसबुक आईडी सिर्जनाको ह्वाट्सएपमा पठाई साथी बन्न लगाएको र सिर्जनाले पीडितसँग म्यासेन्जरमा कुरा गरी भेट्न आफ्नो कोठामा बोलाएको पाइएको छ।
ती पुरुष कोठामा आउन मन्जुर भएपछि सौरभले आफ्नो मोबाइलद्वारा पीडितसँगको भिडिओ बनाउन सिर्जनालाई दिए र सिर्जनाले आफ्नो र ती पुरुषको अश्लिल भिडियो बनाइन्।
उक्त भिडिओ सिर्जना र सौरभले पीडितलाई पठाई उनीसँग सुरुमा १ करोडको बार्गेनिङ गरेका थिए। तर पछि १५ लाखमा कुरा मिलाएको अनुसन्धानका क्रममा खुलेको छ।
पक्राउ परेका सिर्जना र सौरभलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
Shares
प्रतिक्रिया