ad ad

समाज


सिंहदरबार पस्न अब चिनारु नचाहिने, घण्टौँ झ्यालमा कुर्न पनि नपर्ने

साउनदेखि ई–गेटपास प्रणाली, अनलाइनबाट फाराम भरेर लिन सकिन्छ
सिंहदरबार पस्न अब चिनारु नचाहिने, घण्टौँ झ्यालमा कुर्न पनि नपर्ने

तस्बिर: सरोज नेपाल


नेपालखबर
असार १८, २०८१ मंगलबार १६:१९, काठमाडौँ

देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशका लागि सरकारले अब अनलाइनबाट पास लिन सकिने व्यवस्था लागू गर्दैछ।  गृह मन्त्रालयका अनुसार अब सिंहदरबार प्रवेशका लागि अनलाइनबाट फाराम भरेर पास लिन सकिन्छ। 

सिंहदरबार प्रवेशको हालको प्रक्रिया परम्परागत र झन्झटिलो भएकाले यो व्यवस्था लागू गर्न लागिएको मन्त्रालयका उपसचिव एकदेव अधिकारीले बताए। 

हाल सर्वसाधरणले सिंहदरबार प्रवेशका लागि भित्र मन्त्रालयमा टेलिफोन गरेर पास मगाउनु पर्ने बाध्यता छ। मन्त्रालयले पठाएको पास दक्षिण गेटको झ्यालमा आउँछ। मन्त्रालय/कार्यालय अनुसार तोकिएको झ्यालमा लाइन बसेर आफ्नो परिचय खुल्ने कागजात देखाएपछि मात्रै त्यो पास पाइन्छ। 

उपसचिव अधिकारीले भने, ‘त्यो साह्रै जटिल र परम्परागत व्यवस्था हो। यसमा सबै नागरिकको सहज पहुँच छैन। भित्र आउनुपर्ने कोही सेवाग्राही/नागरिकले यहाँभित्रको कसै न कसैलाई चिन्नुपर्ने हुन्छ। सिंहदरबारभित्रको कुनै कर्मचारीलाई, कुनै पदाधिकारीलाई चिन्नुपर्ने हुन्छ। नचिन्ने/पहुँच नभएका नागरिकलाई एकदमै गाह्रो हुन्थ्यो। अब कसैले कसैलाई चिन्नु पर्दैन।’ 

अब सिंहदरबार प्रवेश गर्ने हरेक नागरिकले सजिलै अनलाइनबाट पास लिन सक्ने उपसचिव अधिकारीको भनाइ छ। 

यसरी लिन सकिन्छ अनलाइन पास
पास लिन https://singhadurbarpass.gov.np/en/login मा गएर आफ्नो अकाउन्ट बनाउन सकिन्छ। सबैभन्दा सुरुमा आफ्नो मोबाइल नम्बर राखेर रजिस्टर गर्ने, आएको ओटीपी कोड राखेर भेरिफाइ ओटीपी क्लिक गर्ने। त्यसपछि केही आधारभूत जानकारीहरू त्यसमा भर्नुपर्ने हुन्छ। आफ्नो पूरा नाम र ठेगाना (प्रदेश, जिल्ला र नगरपालिका), मोबाइल नम्बर र परिचय खुल्ने कागजात (नागरिकता वा ड्राइभिङ लाइसेन्स) अनि पासपोर्ट साइजको फोटो अपलोड गरेर रजिस्टर गरिसकेपछि आईडी बन्छ। 

त्यसपछि कुन मन्त्रालय वा निकायमा, के कामले, कसलाई भेट्न, कुन समयमा जाने हो त्यो उल्लेख गरेपछि सम्बन्धित मन्त्रालयले स्वीकृत गरेर क्यूआर कोड पठाइदिन्छ। त्यही क्यूआर कोड देखाएपछि सिंहदरबार प्रवेश गर्न पाइन्छ। 

परीक्षणको रुपमा गृह मन्त्रालयले गएको वैशाखदेखि नै ई–गेटपास प्रणाली सञ्चालनमा ल्याइसकेको छ। आगामी आर्थिक वर्ष २०८१/०८२ (साउनदेखि) भने यो प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै सिंहदरबारका सबै मन्त्रालय र निकायमा अनिवार्य लागू गरिने जनाइएको छ।  

ई–गेटपासको व्यवस्था भएपछि सर्वसाधारणलाई सिंहदरबार प्रवेशमा सजह हुने सरकारको विश्वास छ। 

मोबाइल र इन्टरनेट चलाउनेहरूलाई त यो प्रणालीले सहयोग पुग्न सक्छ तर सिंहदरबार आउने कतिपय नागरिक यसमा पहुँच नभएका नागरिक पनि हुन्छन्। उनीहरू कसरी भित्र जाने त? 

उपसचिव अधिकारी भन्छन्, ‘हो, कतिपय नागरिक साक्षर नहुन सक्नुहुन्छ, आईटी फ्रेन्ड्ली नहुन सक्नुहुन्छ। त्यस्तो व्यक्तिको हकमा उहाँहरू सिधै सिंहदरबारको गेटमा आएर आफ्नो नागरिकता वा परिचय खुल्ने कागजात दिनुभयो भने हाम्रो सहयोगी कर्मचारीहरू त्यहाँ हुनुहुन्छ, उहाँहरूले डकुमेन्ट त्यो प्रणालीमा राखेर क्यूआर कोड दिनुहुनेछ।’ 

ई–गेटपास प्रणाली लागू भइसकेपछि सिंहदरबारको दक्षिण गेटको झ्याल (जहाँ अहिले पासका लागि लाइन बस्नुपर्ने हुन्छ) मा रहेका डेस्कलाई सहायता कक्षको रुपमा परिणत गरिनेछ। त्यही सहायता कक्षमा रहेका कर्मचारीले आफैं अनलाइन फाराम भरेर पास लिन नसक्ने नागरिकलाई पास लिनका लागि सघाउनेछन्। 

नयाँ व्यवस्था वैज्ञानिक र सहज हुनुका साथै यसले अनावश्यक रुपमा सिंहदरबार छिर्ने व्यक्ति/बिचौलियालाई रोक्न पनि सहयोग गर्ने मन्त्रालयको दाबी छ। 

देशका ७७ वटै जिल्लाका नागरिक विभिन्न प्रयोजन लिएर सिंहदरबार आउने गर्छन्। एक दिनमा १२ सयदेखि चार हजारसम्म नागरिक सिंहदरबार प्रवेश गरेको सरकारी तथ्यांक छ।

नयाँ प्रणालीले पासका लागि नागरिकले घण्टौँ झ्यालमा कुरेर बस्नुपर्ने, भित्र पहुँच भएका नागरिकले मात्रै सजिलै सिंहदरबार छिर्न पाउनेजस्ता समस्याको समाधान हुनुका साथै सिंहदरबार गेटमा हुने भिडभाड र अव्यवस्थित सवारीसाधनको समस्या समेत हट्ने अपेक्षा गरिएको छ। 

गएको असार ६ गते प्रधानमन्त्री कार्यालयको सचिवस्तरीय बैठकले यसबारे निर्णय गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .