ad ad

समाज


पुरुषसँग बिहे र महिलासँग प्रेममा रहेकी सुमित्राको सकसको कथा

पुरुषसँग बिहे र महिलासँग प्रेममा रहेकी सुमित्राको सकसको कथा

राधिका अधिकारी
जेठ २९, २०८१ मंगलबार ७:८, काठमाडौँ

पहिचानभन्दा फरक मन बोकेर हिँड्न मुस्किल हुन्छ उनलाई। बेलाबेला आफ्नै मनले दुःख दिन्छ। म के हुँ भन्ने प्रश्नले लखेट्छ। आफैँसँग भागेर जाने कुनै ठाउँ छैन। उनी अर्थात सुमित्रा। सुमित्रा अहिले आफ्नो नामबाहेक अन्य परिचय दिनसक्ने अवस्थामा छैनन्। यही अवस्थाले पनि उनलाई नमज्जासँग दुखाएकै हुन्छ। भन्छिन्, ‘मेरो परिस्थितिले मलाई धेरै कुरा सार्वजनिक गर्न सहज बनाएको छैन।’

उनको जन्म छोरीको रुपमा भएको हो। घरमा छोरीको लाडप्यार पाएर हुर्किएकी उनको छनौटमा कहिल्यै पुरुष परेनन्। सानैबाट उनको आकर्षण महिला र पुरुष दुवैप्रति हुन्थ्यो। तुलनात्मक रुपमा अहिले पनि उनलाई केटा होइन, केटी धेरै मन पर्छ।

उनको एक महिलासँग प्रेम सम्बन्ध छ। समाजले देख्दा उनको प्रेमलाई मित्रता देखेको छ। सुमित्रा आफैँ पनि आफ्नो प्रेमलाई खुलेर प्रेम भन्न सक्दिनन्। पछिल्लो समय यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका मानिसहरु खुल्ने क्रममा छन्। आफूजस्तै अरु मानिस खुलेर समाजमा बाँचेको देख्दा उनलाई पनि खुलेर बाँच्ने रहर पलाउँछ। मनलाई नबुझिकन उनको बारेमा समाजले बेलाबेला बनाउने धारणालाई लिएर उनी खुल्न सकेकै छैनन्। 

भन्छिन्, ‘मेरो उमेर २८ वर्षको भयो। यो २८ वर्षमा मैले २८ वटा किताब भन्दा ज्यादा जीवन बाँचे, भोगेकी छु।’

उनले एसएलसीपछि पढ्न पाइनन्। भन्छिन्, ‘म एक आम नेपाली महिला हूँ। जो सामान्य जीवनयापन गरिरहेकी छ।’

हाम्रो समाजमा कोही ‘ट्रान्सम्यान’ पनि छन्। कोही ‘ट्रान्सवुमन’ पनि छन्। कतिपय महिलाको यौनाङ्ग लिएर जन्मिएका हुन्छन्। उनीहरुमा महिलामा हुनुपर्ने भावना हुँदैन। आफूलाई महिलाका रुपमा चिनाउन पनि चाँहदैनन्। आफूलाई पुरुष अनुभूत गरेपछि पुरुषको जस्तो जीवनशैली अपनाउँछन्। सुमित्रा पनि यस्तै मध्येकी एउटा पात्र हुन्। तर उनलाई परिस्थितिले खुल्न दिएको छैन। 

सुमित्रा भन्छिन्, ‘हाम्रो जीवन देख्नेहरुले यो मान्छे किन यस्तो बनेर हिँडेको होला? प्रकृतिले दिएको हुन्छ एउटा अंग, पहिरन र स्वभाव अर्कोको जस्तो भएपछि उनीहरुले गरेको प्रश्न पनि ठिक हो। तर, उनीहरुका हरेक प्रश्नको खुलेर उत्तर दिन पनि धेरै कुरा चाहिने रहेछ जीवनमा।’

विविधता त समाजको सुन्दरता हो। नेपाली समाजले लैंगिकताको सुन्दरतालाई भने बुझ्न नसकेको सुमित्राको कथन छ। 

‘कतिपयले यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई हेयको भावनाले हेर्छन्,’ भन्छिन् ‘हाम्रो समुदायको अस्तित्व, तथ्य र यसभित्रको विज्ञान बुझेका मानिसहरू अब चाहि अलिअलि हुन थालेका छन्।’

यो समुदायका मानिसको समुदाय अल्पसंख्यामा छ। खुलेर बाहिर आएकाहरुलाई समाजले अझै राम्रोसँग स्वीकार गर्न नसकेको सुमित्रा बताउँछिन्। सबैभन्दा जोडी पाउन मुस्किल भएको र धेरैले एक्लै हिँड्नु परेको सुमित्राले गुनासो गरिन्। 

‘हामीलाई हामीजस्तै मान्छे चाहिन्छ। यही भएर हाम्रो लागि जोडी पाउन पनि कठिन नै छ। तर, पनि संसार विकल्परहित छैन। हामीले हाम्रो साथी मुस्किल भए पनि भेट्छौँ,’ उनी भन्छिन्।

अरु मानिसहरुको तुलनामा यो समुदायका मानिसको सम्बन्ध लामो समय नटिक्ने पनि सुमित्रा बताउँछिन्। दया, माया, करुणाको कुरा जतिसुकै गरे पनि यो समुदायका लागि समाज निर्दयी रहेको उनको भनाइ छ। 

‘यहाँ दुःखमा आफ्नैले त साथ छाड्छन् भने अरुले सधैँ सहयोग गर्दैनन्। हाम्रै लागि भनेर खुलेका संस्थाहरूले धेरै हदसम्म यो समुदायको अधिकारका लागि लडिरहेका छन्,’ सुमित्रा भन्छिन्, ‘संस्थाले लडिदिने लडाइँ हाम्रा लागि पर्याप्त छैन। समुदायका प्रत्येक व्यक्ति सक्षम हुनुपर्छ। समाजमा भएका अरु महिला–पुरुष सबैले उन्नति, प्रगति गर्ने तर हाम्रो समुदायको मानिसले किन गर्न सकिरहेका छैनन्? गम्भीर भएर सोच्नु पर्ने बेला भएको छ।’

सुमित्राका श्रीमान् प्रहरीमा जागिरे छन्। सुमित्रा घर धानेर बसेकी छिन्। घर धाने पनि मन धानिएको छैन। आफ्नो मन र भावना अनुसार बाँच्न नपाउँदाको सकस सधैँ उनको मनमा छ। उनको वास्तविकतासँग उनका श्रीमान् पनि जानकार छैनन्।

सुमित्रा आफू खुल्न सकेकी छैनन्। उनीभित्र खुल्न नपाउनुको उकुसमुकुस छ। तर, यसलाई पीडाका रुपमा कथन गर्न उनी तयार छैनन्। 

‘हामी अल्पसंख्यक हौं, हामीलाई समाजले हेपेको छ भनेर आफ्नो दुःख देखाउँदैमा यहाँ हामीमाथि दया देखाउन कोही पनि आउनेवाला छैन। यसकारण हामी जस्ता मान्छेले आफ्नो ज्ञान बढाउनुपर्छ। धेरै पढ्नु पर्छ,’ सुमित्रा भन्छिन् ‘पढ्न सकिएन भने कुनै न कुनै पेसा, व्यवसायमा यसरी समर्पित हुनुपर्छ कि सफलता हाम्रै पाउमा आउन बाध्य बनोस्। आकाशजमिन एक गरेर भए पनि हामीले उन्नति गर्नुपर्छ। सफलता भनेको त्यसै आउने कुरा होइन। यसका लागि धेरै ठूलो संघर्ष, त्याग र कैयन रहरहरू बिर्सिन सक्नुपर्छ।’

२८ वर्षको उमेरसम्म खुलेर आफ्नो परिचय बनाउन नसकेकी सुमित्रा अहिले एक ट्रान्सवुमनसँग सम्बन्धमा छिन्। दुवैजना मिले कही गर्ने योजनामा छन्। तर, उनीसँग बताइहाल्न मिल्नेखालको केही योजना बनिसकेको छैन। अहिले बाँचिरहेकै तरिकाले जीवन सफल नहुने उनको निष्कर्ष छ। 

भन्छिन्, ‘अब हामीले जीवन जिउने कला बदल्नुपर्छ। हिजोसम्म जे भयो भयो, अब आजदेखि हामीले आफ्नो शैली बदल्न सकेनौँ अने हामी पछाडि छुट्छौँ, अरु सबै अगाडि बढिसक्छन्। समानता, न्याय, स्वतन्त्रता र सबैका लागि न्याय भन्ने कुरा बुझन मात्र पनि हामीले आफ्नो ज्ञानको दायरा बढाउनुपर्छ। नबुझेका कुरा बुभनु पर्छ। नजानेका काम गर्न सिक्नुपर्छ।’

आफ्नो स्तरवृद्धिका लागि पनि मेहनत गर्नुपर्छ भन्ने कुरा उनले बुझेकी छिन्। सुमित्रालाई आफ्नो अध्ययन अगाडी बढाउन मन छ। भन्छिन्, ‘अब प्लस टु र ब्याचलर पास गर्न मलाई ६ वर्ष लाग्छ। मैले यो तहको पढाइ पूरा गर्दा मेरो उमेर ३४ वर्ष हुन्छ। ३४ वर्षको उमेरमा मैले केही गर्न सकिनँ तर कुनै स्कुल र ट्युसन मात्रै पढाउन सकेँ भने पनि मलाई महिनाको ४०–५० हजार कमाउन गाह्रो हुँदैन।’

उनलाई यो थाहा छ, कल्पना गरेको जस्तै अबको जीवन पनि सहज छैन। समयको व्यवस्थापन र खर्चको अहिलेका लागि सुमित्राको सबैभन्दा ठूलो चुनौती हो। सुमित्राको आफ्नो परिवार छ। बालबच्चा छन्। आफ्नो करिअरका लागि उनले यो सबै कुरा छोडेर हिँड्नु पर्ने छ। एक्लै बच्चाको जिम्मेवारी उठाउन पनि गाह्रो छ। पारिवारिक सहयोगको अपेक्षा पनि शून्य छ। त्यसैले उनका लागि शैक्षिक योग्यता हासिल गर्ने र स्वावलम्बी भएर बाँच्ने सपना चानचुने होइन। तर, सुमित्रा अब यही अप्ठ्यारो बाटोमा आफूलाई हिँडाउन र प्रमाणित गर्न तयारी भएकी छिन्। 

सुमित्रालाई भौतिक सुख ठिकै छ। उनी यो सुखको बाटो छोडेर हिड्न चाहन्छिन्। भन्छिन्, ‘मेरो पार्टनरलाई पनि मैले अब देखाउने भनेको यही उन्नति र प्रगतिको बाटो हो। मैले हिँड्ने बाटो पनि अब यही हो। बाँकी समस्या त जीवनमा आउँछन्, जान्छन्। समस्या नभएको, दुःख नभएको यो संसारमा कोही मान्छे होला त?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .