ad ad

समाज


ढोलाहिटी हत्या प्रकरण : विजयलाई आजीवन कैदको माग, सुशीललाई मुद्दा नचलाउने निर्णय

ढोलाहिटी हत्या प्रकरण : विजयलाई आजीवन कैदको माग, सुशीललाई मुद्दा नचलाउने निर्णय

उजिर कार्की
बैशाख ७, २०८१ शुक्रबार २१:३०, काठमाडौँ

ललितपुरको ढोलाहिटीमा चैत ११ गते होलीको बेलुका दुई जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान प्रहरीले टुंग्याएको छ। प्रहरी वृत्त, चापाउँगाउँले अनुसन्धान टुंग्याएर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय ललितपुरमा पठाएको हो।

घटनाका क्रममा पाँचथर घर भई हाल खुमलटार बस्ने २९ वर्षीय पुजन राई र सुनसरीको धरान घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रेबस राईको हत्या भएको थियो।

सरकारी वकिल कार्यालयले शुक्रबार सोही प्रतिवेदनका आधारमा जिल्ला अदालतमा अभियोग पत्र पठाएको छ। अदालतमा दर्ताको प्रक्रियामा रहेको र आइतबार मात्रै दर्ता हुने जिल्ला अदालत ललितपुरका प्रवक्ता राम सजीवन महतोले बताए।

आइतबारदेखि नै उनीहरूको वकपत्र सुरु हुनेछ। वकपत्र सकिएपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने वा थुनाबाहिर राख्ने आदेश गर्नेछ। मुद्दाको फैसला हुन भने समय लाग्नेछ।

प्रहरीले उक्त घटनामा ६ जनाविरुद्ध मुद्दा चलाउन राय दिएको थियो। तर प्रहरीले प्रतिवादी बनाउन राय दिएका सुशील राईलाई भने मुद्दा नचलाइने भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले सुशील राईलाई प्रतिवादी नबनाउने निर्णय गर्दै अभियोग पत्र तयार गरेको छ।

दुई जनाको ज्यान गएको घटनामा मुख्य प्रतिवादी विजय राईलाई बनाइएको छ। उनले नै दुवै जनामाथि चक्कू प्रहार गरेका थिए। विजय घटना भएको होटल डि पो–पिनाका सञ्चालक समेत हुन्। उनलाई आजीवन कैदको माग गर्दै मुद्दा लगिएको हो।

उनले आफ्नै होटलको चक्कुले प्रहार गर्दा पुजन राई र रेबस राईको ज्यान गएको प्रहरी अनुसन्धानको निष्कर्ष छ। 

३१ वर्षीय विजय राई खोटाङको साकेला गाउँपालिका–२, रतन्छा घर भई हाल ललितपुर महानगरपालिका–२६, जैनखेल बस्ने गरेका थिए।

खोटाङको साकेला गाउँपालिका–२, रतन्छा घर भई ललितपुरको खुमलटार बस्ने होटल सञ्चालक ३० वर्षीय सुलभ राई, भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–२, अन्नपूर्ण भुरचोक घर भई हाल ललितपुरको जैनखेल बस्ने ३८ वर्षीय विशाल हाङ मुकारुङ राई, काठमाडौँको गोकर्णेश्वर–११ स्थायी घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–६, सानागाउँ बस्ने २५ वर्षीय छेङ्विहाङ राई र तेह्रथुम म्याङलुङ नगरपालिका ८ घर भई हाल ललितपुरको खुमलटार बस्ने ३२ वर्षीय राजु गुरुङलाई पनि प्रतिवादी बनाइएको छ।

उक्त घटना घटाउन सहयोगी भूमिका खेलेको भन्दै विशाल हाङ मुकारुङ राई, छेन्वीहाङ राई, सुलव राई र राजु गुरुङलाई पनि प्रतिवादी बनाइएको छ। उनीहरूले दुई जनाको हत्या हुनु पहिले झगडा गरेका थिए। सोही झगडाका कारण दुई जनाको ज्यान जाने घटना भएको प्रहरीको निस्कर्ष छ।

उनीहरूलाई मतियारको रुपमा कसुर गरेको प्रहरीको ठम्याइ छ। मतियारलाई मुख्य कसुरदारलाई हुने सजायको बढीमा आधा सजाय हुने कानुनी व्यवस्था छ।

प्रहरीले उक्त दिन घटना स्थलमै रहेका र सुरुमा झगडा छुट्याउन भूमिका खेलेका सुशील राईको पनि संलग्नता देखिएको भन्दै उनलाई पनि मुद्दा चलाउन राय दिएको थियो। उनले घटनास्थलबाट राजुले विजयलाई भगाउँदा बाइकको चाबी दिएको प्रहरीको दाबी थियो।

तर बयानका क्रममा सुशीलले आफैं राजुलाई चाबि दिएको बताएका थिए। यस्तै सुशीलले घटनामा आफूले छुट्याउन मात्रै सहयोग गरेको र चक्कू प्रहारपछि घाइतेलाई उपचारमा लगेको बयान दिएका थिए। सोही कारण उनलाई सरकारी वकिल कार्यालयले प्रतिवादी नबनाउने निर्णय गरेको हो।

सुरुमा प्रतिवादी नबनाएको प्रहरीले पछि राजुले उनीबाट चाबी लिएर बाइकमा विजयलाई भगाएको बताएपछि उनलाई पनि प्रतिवादी बनाउनु पर्ने रायसहितको प्रतिवेदन प्रहरीले पठाएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .