ad ad

समाज


छोराले भिडियो खिचेको भन्दै बाबुलाई कुटपिट गरी शौचालयमा थुने मेयरले

छोराले भिडियो खिचेको भन्दै  बाबुलाई कुटपिट गरी शौचालयमा थुने मेयरले

शैलेन्द्र महतो
फागुन ६, २०७६ मंगलबार ७:३७,

 स्थानीय विकास निर्माणको काम लामो समय अधुरो छाडेको विषयमा स्थानीय युवा मुकेश कुशवाहाले गुनासो गरेको र मेयरको प्रतिक्रियाको भिडियो खिचेको भन्दै बाराको महागढीमाई नगरपालिका मेयर उपेन्द्र यादवले उनका बुबालाई गाली तथा कुटपिट गर्नुका साथै आधा घण्टा शौचालयमा थुनेका छन्।

महागढीमाई नगरपालिका २ बरियारपुरका मुकेशका बुबा ५५ वर्षीय महेन्द्र भन्ने हरेन्द्र महतोलाई मेयर यादवले सोमबार गाली तथा कुटपिट गर्दै आधा घण्टा नगरपालिकाको शौचालयमा थुनेको पीडितले आरोप लगाएका छन्।

सोमबार दिउँसो खेतमा पानी सिंचाइ गरिरहेका महतोलाई नगरप्रहरी परिचालन गरी समातेर ल्याई कुटपिट तथा शौचालयमा थुनेको पीडितले बताएका छन्।

‘दिउँसो खेतमा पानी सिँचाइ गरिहहेको थिएँ। केही नगरप्रहरी खेतमै आइपुगे। मलाई मेयर साहेबले बोलाउनु भएको छ भनेपछि म गएँ,’ हरेन्द्रले सुनाए। सडकमा जाँदा १५–१६ जनाको समुहमा नगरप्रहरी तथा अन्य युवाहरु थिए। ‘मलाई डर लाग्यो। छोरा कहाँ छ भनेर सोध्यो। मैले थाहा छैन भने। त्यसपछि मोटरसाइकलमा बस्न भन्यो। डराईडराई मोटरसाइकलमा बसेँ। मलाई नगरपालिकामा लग्यो,’ उनले भने।

नगरपालिकामा लगेपछि मेयर यादवले उनलाई ‘छोरा कहाँ छ भनेर सोध्दै तथानाम गालीगलौज गर्दै गालामा एक झापड हिर्काएको’ उनले सुनाए।

सुरुमा मेयरले ‘तिम्रो छोरा कहाँ छ’ भनी सोधेको उनले बताए। आफूलाई भनेर नगएको बताउँदा मेयरले गालीगलौज गरेको उनको आरोप थियो।

‘त्यसपछि मेयरले लगाएको जुता फुकालेर मलाई आफ्नो टाउकोमा राख्न भन्यो। मैले नराखेपछि पनि उनले आफै जुत्ता फुकाले। फेरी राख्न भन्यो। मैले इन्कार गरेँ। त्यसपछि मलाई एक झापड गालामा हिर्काए र नगरपालिकाको चर्पीमा लगेर थुनिदियो’ हरेन्द्रले भने ‘आधा घण्टापछि मलाई निकाले। त्यसपछि मेयरले फेरी गाली गर्दै आफ्नो घर लगे। डेढ घण्टा जति आफ्नो नियन्त्रणमा राखे। छोरालाई बोलाउन भन्दै थिए।’

केहि नगरप्रहरीले पनि आफूलाई तथानाम गाली गरेको उनले बताए। ‘भोली छोरालाई उपस्थित गराउनु भन्दै साँझ ५ बजे छाडे।’
विनाकसुर आफुमाथि दुव्र्यबहार गरिएको दाबी गर्दै मेयरलाई कारबाही हुनुपर्ने उनले माग गरे।

यस्ताे छ घटनाको कारण
गत आर्थिक वर्ष २०७५-०७६ मा पुरा हुनुपर्ने नालाको काम अहिलेसम्म अधुरै छ। नालामा पानी जम्ने गरेको कारण स्थानीयलाई समस्या हुने गरेको भन्दै स्थानीय हरेन्द्रका छोरा मुकेश कुशवाहाले ६ महिनादेखि पटकपटक नगरप्रमुख यादवलाई गुनासो गर्दै आएका थिए।

मुकेशका अनुसार नगरपालिकाकै सवइन्जिनियर श्याम जयसवालले आफ्नै नेतृत्वमा उपभोक्ता समिति गठन गरी ४० लाखमा नाला बनाउने जिम्मा लिएका छन।

४० लाख बजेट निकासा गरेपनि नाला अधुरै छाडेपछि पानी जम्ने र आफुहरुले समस्या पाउने गरेको मेयर यादवलाई मुकेशले पटक पटक गुनासो गरेपछि आजित भएर सोमबार बिहान मेयर नाला निरीक्षण गर्न पुगेका थिए।

मेयरले निरीक्षण गरिसकेपछि उनले ‘अहिले यो समस्या समाधान गर्न नसकिने, र जहाँ जानु छ जाऊ’ भनी प्रतिक्रिया दिएको र त्यो प्रतिक्रियाको भिडियो खिच्न खोज्दा आफुलाई धम्काउँदै मोबाइल समेत खोस्ने प्रयास गरेको मुकेशको दाबी छ।

‘घटनापछि मेयर साहेब विभिन्न धाकधम्की दिँदै यहाँबाट जानुभयो। म पनि अर्कै कामले घरबाट बाहिरै थिएँ। दिउँसो केहि नगरप्रहरी मेरो घरमा मलाई खोज्न आए। म नभएपछि मेरो बुबालाई खेतबाट समातेर लगि कुटपिट गरी शौचालयमा समेत थुने’, मुकेशले भने ‘बुबालाई गुण्डागर्दी शैलीमा मेयरले गरेको दुव्र्यबहार तथा कुटपिटले म पनि असुरक्षित महसुस गरी बाहिर बसिरहेको छु। विकासे कामको लापरबाही विषयमा गुनासो पनि गर्न नपाउने हो अब? कुन तन्त्र हो यो?’

विनाकारण आफ्नो बुवालाई दुव्र्यवहार गर्ने मेयर यादवमाथि कारबाही हुनुपर्ने मुकेशले बताए। न्यायका लागि आफू प्रशासन जाने समेत उनले बताएका छन्।

५ सेकेण्डको त्यो भिडियो ‘एकजना स्थानीय भाईले समाजिक सञ्जालमा हालेको’ उनको भनाई छ।

मुकेशलाई यतिकै छाड्दिन : मेयर
यता मेयर यादवले भने मुकेशको बुबालाई बोलाएर सोधपुछ मात्रै गरेको दाबी गरे। तर उनले मुकेशलाई भने यतिकै नछाड्ने चेतावनी दिए।

‘मुकेशले मेरो भिडियो बनाएर फेसबुकमा हालेछ। उ फेला नपरेपछि उसको बुवालाई सोधपुछको लागि मात्र बोलाएको थिएँ। कुटपिट र शौचालयमा थुनेको छैन। तर, मुकेशलाई यतिकै छाड्दिन। जहाँबाट भए पनि समातेर ल्याई कानुनी कारबाही गर्छु,’ मेयर यादवले चेतावनी दिँदै भने।

सो घट्नापछि केही स्थानीयले भने जनप्रतिनिधिका यस्ता हैकमवादी गतिविधिले संघीय गणतान्त्रिक व्यवस्थाप्रति नै वितृष्णा फैलाउने बताए।

‘गाउँगाउँसम्म राज्यका अधिकारसम्पन्न इकाई पुगी सहजै सेवा, विकास निर्माणको काम र आफैँले चुनेको जनप्रतिनिधिबाट सहयोग पाउने भन्दै नागरिक खुसी थिए,’ एक स्थानीयले भने, ‘तर, आफैँले भोट हालेर छानेर पठाएको जनप्रतिनिधिहरु पदको उन्मादमा शासक र तानाशाही बन्दा नागरिक उल्टै प्रताडित हुन थालेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .