ad ad

समाज


बहुमूल्य धातु क्वार्ज क्रिस्टललाई पृथ्वीनारायणको गद्दी आसनसँगै राखियो

प्रधानमन्त्री प्रचण्डले भने : यसले गोरखामा पर्यटक बढाउन मद्दत गर्छ
बहुमूल्य धातु क्वार्ज क्रिस्टललाई पृथ्वीनारायणको गद्दी आसनसँगै राखियो

तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
चैत २३, २०८० शुक्रबार १४:१९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गोरखा दरबारमा पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका छन्। 

गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले उक्त धातु पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गरेका हुन्। 

उक्त अवसरमा प्रधानमन्त्रीले ऐतिहासिक र बहुमूल्य धातु क्वार्जको प्रतिस्थापनसँगै जिल्लाको महत्त्व अझ बढ्ने विश्वास व्यक्त गरे। उनले जिल्लाको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उल्लेख गरे।

गोरखाको जनप्रतिनिधिका हैसियतले यहाँको विकास निर्माणमा आफू निरन्तर लागिपर्ने विश्वास उनले दिलाए। 

प्रचण्डले गोरखकाली उद्योग र बूढीगण्डकी जलविद्युत आयोजना एवम् पार्क निर्माणमा आफ्नो ध्यान जाने पनि बताएका छन्। 

गोरखा जिल्लामा फेला पारिएको ५२.३३० केजीको उक्त धातु पुरातत्व विभागले बहुमूल्य भएको प्रमाणित गरेको थियो।

कहाँ भेटियो?

गत असार १४ गते गोरखा नगरपालिका वडा नम्बर ७ सतिपिपलका चन्द्रमान शाहीको घरबाट पारदर्शी ढुंगा प्रहरीले बरामद गरेको थियो।

लामो सयम प्रहरी कार्यालयमै राखिएको उक्त ढुंगाको गत साउन अन्तिम साता खानी तथा भूगर्भ विभागको टोलीले परीक्षण गरेको थियो।

त्यसबेला विभागका भूगर्भविदहरूले परीक्षण गरी उक्त ढुंगा बहुमूल्य क्वार्ज क्रिष्टल भएको रिपोर्ट दिएका थिए। 

भूगर्भविदहरूले खानी तथा खनिज पदार्थ ऐन २०४२ को दफा २५ अनुसार बहुमूल्य क्वार्ज क्रिष्टल विभागलाई बुझाउनुपर्ने बताएका थिए। तर त्यसलाई गोरखामै राख्न दबाब बढेको थियो। 

उक्त ऐनको दफा २५ मा अनुमति नलिई निकालिएको खनिज पदार्थ जफत गर्नुका साथै त्यस्तो व्यक्तिलाई १ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ।

शाही परिवारले उक्त पत्थर पुस्तौँदेखि देवताका रूपमा पुज्दै आएका थिए। आफ्ना पुर्खाले उक्त क्वार्ज क्रिस्टलको संरक्षण गरेर राखेको उक्त परिवारको दाबी थियो।

शाही परिवारले उक्त पारदर्शी ढुंगालाई कुलदेवाताका रूपमा पुज्थे। प्रहरीले बरामद गरिसकेपछि शाही परिवारले प्रहरी कार्यालयमै उक्त ढुंगाको पूजा गर्ने गरेको थियो।

शाही परिवारले देवताका रूपमा पुज्ने गरेको उक्त ढुंगालाई अन्तत: गोरखाबासीको दबाबमा काठमाडौं नलगी त्यही प्रतिष्थापन गरिएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .