समाज


अध्यागमन कर्मचारीलाई गृहमन्त्रीको निर्देशन : विदेश जाने श्रमिकलाई अभद्र व्यवहार नहोस्

विगतका गल्ती नदोहोर्‍याउन आग्रह
अध्यागमन कर्मचारीलाई गृहमन्त्रीको निर्देशन : विदेश जाने श्रमिकलाई अभद्र व्यवहार नहोस्

तस्बिर : गृहमन्त्रीको सचिवालय


नेपालखबर
चैत १३, २०८० मंगलबार १३:३, काठमाडौँ

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले अध्यागमन विभागका कर्मचारीहरूलाई मंगलबार निर्देशन दिँदै विगतका गल्ती नदोहोर्‍याउन आग्रह गरेका छन्।

कालिकास्थानस्थित अध्यागमन विभागमा पुगेर गृहमन्त्री लामिछानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्र धानिदिने श्रमिकहरूलाई अभद्र व्यवहार नगर्न भनेका हुन्। 

‘रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा–आउँदा गरिने अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्नुस्’, उनले भने, ‘सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैबाट सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउनुस्।’

लामिछानेले विदेशीका लागि अध्यायमन देशको मुहार रहेको बताउँदै त्यसमा ख्याल राख्न भनेका छन्। ‘मुहार नराम्रो हुँदा देशप्रति नै सकारात्मक धारणा बन्दैन’, उनले भने, ‘अध्यागमन सुधारका योजना ल्याउनुस्। तपाईंका योजनामा मन्त्रालयले सक्दो सहयोग गर्छ। म निर्देशन होइन सहकार्यमा विश्वास गर्छु।’

कर्मचारीवृत्तमा केही खराब मान्छेका कारण इमान्दारले दोष पाउने गरेको उनले बताए। ‘केही खराब मान्छेका कारण धेरै इमान्दारले दोष पाउने गरेका छन्। खराबलाई बेलैमा चिनेर इमान्दारलाई प्रोत्साहित गर्नुपर्छ’, उनले अगाडि भने। 

गृहमन्त्रीले अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउनु आवश्यक रहेको बताए। 

‘अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाउनु पर्छ’, उनले भने, ‘जनशक्तिलाई पर्याप्त तालिम र कार्यस्थललाई स्रोत–साधान सम्पन्न बनाउन केही चुनौती छन्। तर, प्रयास जारी राख्नुपर्छ।’ 

उनले विगतमा भएका घटनामा आफूले कसैलाई दोष नदिने बताउँदै अब त्यस्ता गल्ती दोहोरिन नहुने उल्लेख गरे।

‘हिजोका घटनामा कसैलाई दोषारोपण गर्न चाहान्न। भविष्यमा त्यस्ता घटना र प्रवृत्ति दोहोरिनु हुन्न,’ उनले भने, ‘दलीय आवद्धताका कारण कसैले संरक्षण गर्छ भन्ने नसोच्नु होला।’ 

कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले सकारात्मक सोचाई र व्यवहारका साथ सेवा दिन, प्रविधिमैत्री बन्न, मनसायपूर्ण गल्ती नगर्न निर्देशन दिए।

विभागका महानिर्देशक कोशहरि निरौलाले विभागको काम–कारबाही, समस्या र चुनौतीबारे गृहमन्त्री र सचिवलाई ब्रिफिङ गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .