ad ad

समाज


चार दिनमै छुटे महरा, सीआईबी भन्छ : फोन सम्पर्कबाहेक अरु प्रमाण भेटिएन

चार दिनमै छुटे महरा, सीआईबी भन्छ : फोन सम्पर्कबाहेक अरु प्रमाण भेटिएन

फाइल फोटो


नेपालखबर
चैत ९, २०८० शुक्रबार १४:४१, काठमाडौँ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तेस्रो चरणमा प्रतिवादी बनाउने तयारी गरिरहेका माओवादी उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्ण बहादुर महरा चार दिनमै हिरासतमुक्त भएका छन्।

सोमबार कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौं ल्याइएका महरा शुक्रबार हाजिरी जमानीमा रिहा भएका हुन्। उनलाई खोजेको बखत उपस्थित हुने गरी छोरा निर्मलको जिम्मामा रिहा गरिएको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए।

जिल्ला सरकारी वकिल कार्यालयमा कागज गरेर रिहा भएका महरा पुनः अस्पतालमै फर्किएका छन्। महरा हिरासतमुक्त भए पनि अनुसन्धान भने जारी रहने एसपी बोगटीको भनाई छ। महराको स्वास्थ्य समस्या र अनुसन्धानमा प्रमाण लोप हुने सम्भावना पनि नभएकाले रिहा गर्नु परेको सीआईबीको दाबी छ।

सीआईबीका एक उच्च अधिकारीले भने महरालाई मुद्दा चलाउन बलियो प्रमाण नै नरहेको बताए। बलियो प्रमाण पनि नरहेको र उनको स्वास्थय अवस्थामा देखिएको समस्याकै कारण रिहा गर्नु परेको सीआईबीका अधिकारी बताउँछन्।

‘महराविरुद्ध हामीले जुटाउनु पर्ने प्रमाण नै खासै केही छैन। अहिलेसम्म देखिएको भनेको टेलिफोन सम्पर्क मात्रै हो। जुन कुरा पहिलेकै अभियोगमा पनि छ। अहिले त जाँचबुझ आयोगको प्रतिवेदनका कारण मात्रै पक्राउ गरेर मुद्दा चलाउन परेको हो’, ती अधिकारीले भने, ‘आयोगले पनि खासै केही नयाँ दिन सकेको छैन। हाम्रै अनुसन्धान प्रतिवेदनलाई बढाइचढाइ मात्रै गरेको छ।’

चार दिन नियन्त्रणमा राख्दा सीआईबीले महरासँग दुई दिन बयान लिएको थियो भने दुई दिन दिनभरी नै अस्पतालमै राखिएको थियो। अब अनुसन्धान पूरा भएपछि महराविरुद्ध पुरक अभियोग अदालतमा दायर हुनेछ।

त्यसपछि उनलाई थुनामा राख्ने कि थुनाबाहिरै राखेर मुद्दाको फैसला गर्ने भन्ने जिल्ला अदालतबाट आदेश हुनेछ। यही मुद्दामा उनका छोरा राहुल भने पुर्पक्षका लागि केन्द्रीय कारागारमा छन्।

गत असार २६ गते जिल्ला अदालत काठमाडौंले उनका छोरा राहुललाई पुर्पक्षका लागि थुनामाच पठाउन आदेश दिएको थियो। जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका राहुललाई माघ ११ गते उच्चले पनि रिहा गर्न अस्वीकार गरेको थियो।   

राहुललाई आपराधिक विश्वासघात, संगठित अपराध र भन्सार चोरी पैठारीको कसुरमा मुद्दा चलाइएको छ। त्यतिबेला प्रतिवादी बनाइएका लोकेन्द्र पौडेल भने ५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। बेल्जियन नागरिक दावा छिरिङ ६१ किलो सुन प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्। निमा गुरुङ फरार छिन्।

पहिलो चरणमा भने भन्सारका केही कर्मचारी र बाह्य बिचौलियालाई मुद्दा चलाइएको थियो। उनीहरुले भन्सारमा बरामद सुन चोरी गरेर त्यसको स्थानमा भेप राखिदिएका थिए।

भन्सारले सुन चोरी भएको पुष्टि भएपछि थप अनुसन्धानका लागि सीआईबीलाई पत्राचार गरेको थियो। सीआईबीले भन्सारका कर्मचारी रेवन्त खड्का, दिनेश बस्नेत लगायतलाई प्रतिवादी बनाउँदै २०८० असार २७ गते पहिलो चरणमा मुद्दा दायर गरेको थियो। उनीहरुमध्ये केही पुर्पक्षका लागि थुनामा छन् भने केही धरौटीमा रिहा भएका थिए।

२०७९ पुस १० गते दुवईबाट भेपमा लुकाएर ल्याएको सुन विमानस्थल भन्सारमा रोकिएको थियो। सुन ल्याएर आएका चिनियाँ नागरिक दाहोजिन वाङ यो मुद्दाका मुख्य प्रतिवादी हुन्। उनले भने सुन पक्राउ परेपछि नेपाल छाडिसकेका छन्। महरा बाबु छोराले भन्सारमा सुन पक्राउ परेपछि दावाजिनकै अनुरोधमा सुन छुटाउन टेलिफोन गरेको आरोप छ।

उनीहरुले टेलिफोन गरेको पुष्टि भएको सीआईबीले जनाएको छ। उक्त कुरा यसअघिकै अभियोगमा उल्लेख छ। महराले पनि बयानका क्रममा टेलिफोन गरेको स्वीकार गरेका छन्। तर उनले सुन छुटाउन नभई अन्य कामले फोन गरेको दाबी गरेका छन्।

सीआईबीले पनि यो टेलिफोनको कनेक्सनबाहेक अन्य प्रमाण जुटाउन सकेको छैन। यसअघि राहुललाई पक्राउ गरेर हिरासतमा राख्दा पनि कृष्णबहादुर महरालाई कागज गराएर छाडेको थियो। तर तस्करीको सुन छुटाउन दबाब दिएका महरालाई प्रतिवादी नबनाएको भन्दै जाँचबुझ आयोगले महरालाई पनि प्रतिवादी बनाउन निर्देशन दिएको थियो।

सोही प्रतिवेदनका आधारमा गत सोमबार सीआईबीले कपिलवस्तुबाट पक्राउ गरेर महरालाई काठमाडौं ल्याएको थियो। तर उनी विभिन्न रोगका कारण अस्वस्थ रहेकाले स्वास्थ्य उपचारको व्यवस्था गर्न अदालतले आदेश दिएको थियो। अदालतको आदेशपछि उनलाई पहिलो दिनदेखि नै नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

शुक्रबार खाजेका बखत उपस्थित हुने शर्तमा रिहा भएका महरा पुनः अस्पतालमै फर्किएका छन्।

सम्बन्धित समाचार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .