ad ad

समाज


भारत पुर्‍याएर कसले गर्‍यो डम्बर यादवको हत्या

भारत पुर्‍याएर कसले गर्‍यो डम्बर यादवको हत्या

शैलेन्द्र महतो
फागुन १, २०७६ बिहिबार १७:४१,

बुधबार बिहान ६ बजेको थियो। सप्तरीको बोदेबर्साइन नगरपालिका ५ को बर्सिनीटोलमा कोही उठिसकेका थिए। कोही चाहिँ ब्युँझिन खोज्दै थिए। त्यति नै बेला भारतको बिहार झन्झारपुरबाट घरमा फोन आयो, ‘डम्बर रहेन, उसको हत्या भयो।’

यो दुखद खबर दिने व्यक्ति थिए डम्बर यादवसँगै मंगलबार राति मोटरसाइकल ग्यारेजको समान लिन बिहार झन्झारपुर गएका बोदेबर्साइन नगरपालिका ८ का जितेन्द्र यादव। उनले फोन गरेर छोडेको डम्बरको हत्या खबरले घरमा रुवाबासी सुरुभयो। गाउँमा सनसनी फैलियो। बोदेबर्साइन नगरपालिका ५ का बालेश्वर यादवका २२ वर्षीय कान्छो छोरा डम्बर यादवको हत्या कहाँ कसरी भयो भन्ने कुरा स्थानीयहरु दुःखी हुँदै बुझ्न उत्सुक भए।

बोदेबर्साइन नगरपालिका ५ को बोदेबर्साइनचौकमा जितेन्द्र यादवले मोटरसाइकल ग्यारेज सञ्चालन गरेका छन्। ग्यारेजकै केही सामान ल्याउनु पर्ने छ भन्दै जितेन्द्र मंगलबार राति करिब ८ बजे डम्बरको घर पुगेर स्कारपिओ जिप चलाएर सँगै झन्झारपुर जान आग्रह गरे। घरका मानिसहरूले नजान भने पनि डम्बर जान तयार भए। उनले स्कारपिओ चलाए। ग्यारेज एवं स्कारपिओ धनी जितेन्द्रसँगै छिमेक अनिल यादवसमेत राति साढे ८ बजे भारतीय नम्बरप्लेटकै स्कारपिओमा बसेर झन्झारपुरका लागि घरबाट निस्केका थिए।

बुधबार बिहान ६ बजे स्कारपिओमा सँगै बसेर झन्झारपुर पुगेका जितेन्द्र र अनिलले फोन गरी कसैले ‘गोली प्रहार गरी बाटोमै डम्बरको हत्या गरेको’ जानकारी दिए।

बुधबार नै बिहार मधुवनी अस्पतालमा डम्बरको शवको पोस्टमोर्टम गराइ प्रहरीले शव परिवारजनको जिम्मा लगाएको थियो। डम्बरको शव बुझेर परिवारजनले घर ल्याइ बुधबार साँझ नै अन्त्येष्टि गरेको उनका दाई चन्द्रशेखर यादवले बताए। चन्द्रशेखरका अनुसार झन्झारपुर प्रहरीले स्कारपिओ नियन्त्रणमा लिएर घटनाबारेमा अनुसन्धान गरिरहेको छ।

डम्बर गाडी चालक थिए। उनी केहीदिन अघिसम्म आफै भारतीय नम्बर प्लेटको गाडी किनेर चलाइरहेका थिए। पछि बिक्री गरेपछि कहिलेकाहीँ जितेन्द्रको स्कारपिओ चलाउने गरेका थिए।

सँगै गएका जितेन्द्रले बयानमा भनेका छन्, ‘म र अनिलले गाडीबाट हामफालेर ज्यान जोगायौं, डम्बरमाथि गोली प्रहार भयो।’

जितेन्द्रले आफ्नो कान्छो भाई धर्मेन्द्रलाई यसो भने 
मंगलबार राति साढे ८ बजे हामी यहाँबाट मोटरसाइकलको बोरिङको लागि झन्झारपुर निस्क्यौं। राति अबेर हुन्छ भनेर साढे ९ बजे बाटोमै पर्ने मेरो फूपुको घरमा बास बस्यौं। बिहान साढे ५ बजे फेरि हामी समान किन्न निस्क्यौं। एउटा स्कारपिओ अगाडि पछाडि गरिरहेको थियो। हामीलाई रोक्न खोज्यो। हामीले रोकेनौं। त्यसपछि उनीहरुले अगाडि बढेर हतियार देखाउन थाले। त्यसपछि मैले आफ्नो फुपुको छोरा, दाई पर्नेलाई फोन गरें। दाइले गाडी बाटोमा नरोक्न भन्दै कुनै सुरक्षित ठाउँ प्रहरी वा पेट्रोल पम्पमा गएर मात्र रोक्न भन्नुभयो। यस्तै करिब ५ किलोमिटरसम्म हामी पार गर्यौ। उनीहरुलाई फेरि अर्को कारले पनि पिछा गर्यो। दुईवटा गाडीले अगाडि पछाडि गर्दै रोक्न खोजे। हामीले रोकेनौं। गाडीले डिस्टर्व गरेपछि उनीहरुले हामीलाई झन्भारपुरको कमला पुल नजिक छेउमा गाडी रोक्न भनियो। त्यसपछि हामीर्लाइ पिछा गर्ने स्कारपिओका चालक हाम्रो गाडीमा चढिहाले। हामी तिनै जनालाई पछाडि बसाए। उनीहरुले गाडी विस्तारै घुमाएर पछाडि गर्न थाले। मेरो साथमा ४० हजार रुपैयाँ भारु थियो। म हाम फालें। मेरो मुखमा चोट लाग्यो। अनिल पनि हाम फाले। गाडीमा एक गोली पनि चल्यो। अब त्यो गोलीले डम्बर मर्यो की हामफालेपछि पछाडिबाट आउँदै गरेको गाडीले किचेर उसको मृत्यु भयो। त्यो कुरा हामीलाई थाहा भएन। डम्बरको मृत्यु झन्झारपुरको कमला पुलमा भयो भन्ने कुरा हामीलाई थाहा भयो। लुटेराहरु भागिसकेका थिए। त्यसपछि मैले फोन गरेर डम्बरको घरमा घटना विषयमा जानकारी दिएँ।

योजनावद्ध तरिकाले डम्बरको हत्या
घटनापछि मृतक परिवारले योजनावद्ध तरिकाले ग्यारेज सञ्चालक जितेन्द्र यादव र अनिल यादवले डम्बरको हत्या गरेको आरोप लगाएको छ। मृतक डम्बरका दाई चन्द्रशेखरले आफ्नो भाइको दुबैजना मिलेर भारतमा लगि हत्या गरेको बताए ।

‘जितेन्द्र र अनिलले भने अनुसार केही कुरा मिल्दैन, घटना त्यस्तो देखिंदैन। दुवैजनाले आफुहरु हाम फालेर बाँच्न सफल भए पनि चोटपटक चाहिँ लागेको बताइरहेका छन्। तर उनीहरुलाई केही पनि भएको छैन। घटना लुकाउन नाटक गरिरहेका छन्’, दाई चन्द्रशेखरले भने, ‘दुबैजना मिलेर डम्बरको हत्या गरी अज्ञात समूहले गोली प्रहार गरी हत्या गर्यो भन्ने बनाबटी कुरा गरिरहेका छन्। डम्बरको शरीरमा कतै गोलीको निशान छैन। पोस्टमोर्टम रिपोर्टमा पनि त्यो देखिँदैन।’

योजनबद्ध तरिकाले दुवैजना मिलेर भारत लगि टाउकोमा गाडीले किचेर डम्बरको हत्या गरेको दाई चन्द्रशेखरले दाबी गरे।

‘टाउको किचिएको छ। हातखुट्टा भाँचिएको छ। तर हातखुट्टामा गाडी को चक्का डाम देखिँदैन’, दाई चन्द्रशेखरले भने, ‘भारतमा प्रहरीसँग सेटिङ गरेर डम्बरको योजनावद्ध तरिकाले हत्या गरिएको छ। उनीहरुले गरेको भिडियो रेकर्डमा डम्बर कहाँ छ भनेर खोज्दैछन्। जबकी डम्बर उनीहरुसँगै गाडी चलाएर गएका थिए। यी कुराहरुले मेरो भाइको उनीहरुले नै हत्या गरेको बुझिन्छ।’

जितेन्द्रले लागुऔषध गाँजा ठूलो परिमाणमा त्यहि गाडीमा लगेको, डम्बरले थाहा पाएपछि आफु चालक रहेकाले प्रहरीले पक्राउ गर्ने भन्दै नलग्न आग्रह गरेको, नभए अरुलाई भनिदिने बताएका कारण पनि आफ्नो पोल खुल्ने डरले जितेन्द्र र अनिलले डम्बरको हत्या गरेको हुन सक्ने दाई चन्द्रशेखरको भनाइ छ।

जितेन्द्र र अनिल विरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा हत्या विरुद्ध जाहेरी दिइएको दाई चन्द्रशेखरले नेपालखबरलाई बताए।

सप्तरी प्रहरीले भने भारतमा सप्तरीका युवक डम्बर यादवको हत्या भएको विषयमा केही जानकारी नरहेको जानाएको छ।

‘त्यस घटनको विषयमा हामीले केही कुरा सुनेका छौं। तर पूर्ण जानकारी आएको छैन’, सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले भने, ‘हामीले त्यहाँका एसपी साहेबसँग कुरा गर्न खोज्यौं। तर फोनै लागेन। केही कुरै हुन सकेको छैन।’

भारतमा भएको घटनाको जाहेरी सप्तरी प्रहारीले नलिने उनले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .