ad ad

समाज


मुख्य सचिव अर्यालविरुद्ध ५ वटा भ्रष्टाचार मुद्दा चलाउने अख्तियारको तयारी

मुख्य सचिव अर्यालविरुद्ध ५ वटा भ्रष्टाचार मुद्दा चलाउने अख्तियारको तयारी

नेपालखबर
फागुन २२, २०८० मंगलबार २०:५६, काठमाडौँ

समग्र प्रशासनयन्त्रमा सुशासन र अनुशासन कायम गराउने प्रमुख जिम्मेवारी मुख्य सचिवको हुन्छ। त्यसैले निजामती प्रशासनको सर्वोच्च पदमा रहने व्यक्ति उच्च निष्ठा र नैतिकतामा बाँधिएको हुनुपर्ने हो।

तर, नेपाल सरकारका मुख्य सचिव वैकुण्ठ अर्याल विवादित प्रकरणको चाङमा छन् र संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानको घेरामा छन्। 

कतिसम्म भने अख्तियारले मुख्य सचिव वैकुण्ठ अर्यालविरुद्ध ५ वटा भ्रष्टाचार मुद्दा चलाउने गरी गृहकार्य अघि बढाएको छ। मुख्य सचिव अर्याल जोडिएका सबैजसो काण्ड उनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव छँदाका हुन्।

केही अनुसन्धान सकिएर मुद्दा चलाउने चरणमा पुगेका छन् भने केही अनुसन्धानकै क्रममा छन्। हालसम्मको अनुसन्धानले ५ वटा मुद्दा चल्न सक्ने देखिएको छ। तर, केहीमा अनुसन्धान जारी नै रहेकाले अदालतसम्म पुग्ने मुद्दाको संख्या बढ्न वा घट्न सक्ने अख्तियार स्रोतले जानकारी दिएको छ।

‘उहाँ (अर्याल)का एक होइन, अनेक काण्ड रहेछन्,’ अख्तियारका एक उच्च अधिकारीले नेपालखबरलाई भने, ‘तत्कालचाहिँ ५ वटासम्म मुद्दा चल्न सक्ने देखेका छौँ। सबै अनुसन्धान एकैपटक नसकिने भएकाले ठ्याक्कै यति नै भन्न गाह्रो हुन्छ। जुन मुद्दाको अनुसन्धान सकिन्छ, क्रमशः अदालत लैजान्छौँ।’

१. टेरामक्स प्रकरण
दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका लागि अवैध कल बाइपास तथा शंकास्पद कलको निगरानीसम्बन्धी प्रविधि (टेरामक्स) खरिदसम्बन्धी करिब ३ अर्ब रुपैयाँबराबरको ठेक्कामा घोटाला भएको आशंकामा अख्तियारले छानबिन गरिरहेको छ। उक्त ठेक्का प्रक्रिया अघि बढाउँदा सूचना तथा सञ्चार मन्त्रालयका सचिव थिए, हालका मुख्य सचिव वैकुण्ठ अर्याल।

यसमा पूर्वमन्त्रीहरू मोहनबहादुर बस्नेत र ज्ञानेन्द्रबहादुर कार्कीमाथि पनि अनुसन्धान भइरहेको छ। उनीसँगै हाल संघीय मामिला सचिव रहेका तत्कालीन सहसचिव विनोदप्रकाश सिंह, तत्कालीन सचिव एवं हाल सूचना आयोगका प्रमुख आयुक्त रहेका महेन्द्रमान गुरुङ, प्राधिकरणका अध्यक्षहरू दिगम्बर झा र पुरुषोत्तम खनाललगायत पनि यस घोटालाको छानबिनको घेरामा छन्। अख्तियारले यसमा अनुसन्धानको काम सकिसकेको छ। प्रमाण संकलन र बयान सकिइसकेकाले अभियोजनको तयारी अघि बढाएको छ।

२. सुरक्षण मुद्रण घोटाला
सुरक्षण मुद्रणसम्बन्धी केही उपकरण खरिदसम्बन्धी घोटालामा ६९ करोड रुपैयाँबराबरको बिगो कायम गरी अख्तियारले यसअघि नै मुद्दा दायर गरिसकेको हो। त्यसमा अर्याललाई विपक्षी बनाइएको थिएन। त्यस प्रकरणका प्रमुख अभियुक्त विकल पौडेल अकुत सम्पत्तिसम्बन्धी अनुसन्धानमा पक्राउ परेपछि अर्यालसमेत जोडिएका थप प्रमाणहरू भेटिएका छन्। उनी सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक हुन्।

पौडेलसँग त उनको आर्थिक लेनदेन नै भएको भेटिएको छ। त्यसैले सुरक्षण मुद्रण घोटालाको दोस्रो मुद्दामा अर्यालमाथि पनि अभियोग लाग्ने भएको छ।

३. नेपाल टेलिकमको बिलिङ प्रणाली
नेपाल टेलिकमको बिलिङ प्रणालीसम्बन्धी घोटालाको केन्द्रमा पनि मुख्य सचिव वैकुण्ठ अर्याल नै देखिएका छन्। टेलिकमले २०७९ मंसिरमा चिनियाँ कम्पनी एसिया इन्फोसँग बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार सम्झौता (एएमसी) गरेको थियो। अर्याल टेलिकमको सञ्चालक समिति अध्यक्षका हैसियतले उक्त निर्णयमा जोडिएका हुन्।

उक्त कम्पनीले वार्षिक करिब ६५ करोड रुपैयाँका दरले पाँच वर्षमा ३ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी पाउने सम्झौतामा उल्लेख छ। उक्त विवादास्पद ठेक्कामा अख्तियारले अनुसन्धान गरिरहेको छ। विवादित छविका सुनील पौडेल टेलिकमको प्रबन्ध निर्देशक बनेपछि यस ठेक्काको तारतम्य मिलाइएको थियो। चिनियाँ कम्पनीको सेवामा कैफियत देखिइरहेकै बेला बिनाप्रतिस्पर्धा उसैलाई लामो अवधिको ठेक्का दिएपछि यो प्रकरण विवादित बनेको थियो।

४. घुस लेनदेन
मुख्य सचिव अर्यालले विकल पौडेलसँग शंकास्पद आर्थिक कारोबार गरेका प्रमाण भेटिएपछि यसले अरू धेरै भ्रष्टाचारको पनि सुराख मिलेको छ। त्यसैले अख्तियारले अर्यालका पालामा भएका विभिन्न विवादास्पद निर्णय र त्यस बखत भएका कारोबारहरूको विवरण संकलन गरी अध्ययन गरिरहेको छ। केही प्रकरणमा उनीमाथि घुस लेनदेनको मुद्दा चल्न सक्ने आधार अख्तियारले फेला पारेको अनुसन्धानमा खटिएका अधिकारीले जानकारी दिएका छन्।

५. नियुक्तिमा सेटिङ
सूचना प्रविधि क्षेत्रका विवादास्पद पात्रहरू सुनील पौडेल र विकल पौडेलसँग मिलेर विभिन्न खरिद एवं ठेक्कामा मात्र होइन, नियुक्तिको पनि सेटिङ चलाएको अख्तियारको अनुसन्धानले देखाएको छ। त्यसबाट उनले कहाँकहाँ केकस्ता गैरकानुनी लाभ लिएका छन् भनेर अख्तियारले विस्तृत अनुसन्धान गर्दै छ।

‘सुनील र विकलको मात्र होइन, उनीहरू मिलेर अरू पनि केही शंकास्पद नियुक्ति र तीसँग जोडिएका कारोबार फेला परेका छन्,’ अख्तियार स्रोतको भनाइ छ, ‘मुद्दा चल्न सक्ने आधार तयार गरी हामी अगाडि बढ्छौँ। अहिले अनुसन्धानकै चरणमा भएकाले धेरै कुरा भन्न मिल्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .