समाज


वुहानबाट फर्काइने नेपालीको व्यवस्थापन गर्न सेनासहितको ‘युनिफाइड कमान्ड’

वुहानबाट फर्काइने नेपालीको व्यवस्थापन गर्न सेनासहितको ‘युनिफाइड कमान्ड’

मणि दाहाल
माघ २९, २०७६ बुधबार १३:१८,

कोरोना भाइरस प्रभावित चीनको हुबेई प्रान्तबाट उद्धार गरेर ल्याइने नेपालीको क्वारेन्टाइन, उपचारलगायत सम्पूर्ण व्यवस्थापन युनिफाइड कमान्डअन्तर्गत हुने भएको छ।

यसका लागि स्वास्थ्य मन्त्रालयको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको स्वास्थ्यकर्मी र कर्मचारी सम्मिलित टोली गठन गरिएको छ।

‘चीनबाट उद्धार गरेर ल्याउने, उनीहरुको क्वारेन्टाइन गर्ने तथा उपचारसहितको विषयलाई स्वास्थ्य मन्त्रालय, नेपाली सेना, प्रहरी र सशस्त्रको युनिफाइड कमाण्डले हेर्ने छ,’ स्वास्थ्य आपतकाल तथा विपद् व्यवस्थापन युनिटका प्रमुख सागर दाहालले भने, ‘जसको नेतृत्व स्वास्थ्य मन्त्रालयले गरेको छ।’

नेपाली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल विज्ञानदेव पाण्डेले स्वाथ्य मन्त्रालयले आग्रह गरेको क्षेत्रमा नेपाली सेना परिचालन गरिएको जानकारी दिए। ‘हाम्रा स्वास्थ्यकर्मी पनि यसमा संलग्न हुनुभएको छ,’ पाण्डेले भने, ‘स्वास्थ्य मन्त्रालयले आग्रह गरेको क्षेत्रमा हाम्रो जनशक्ति परिचालन गरिएको छ।’

 सरकारले हुबेई प्रान्तमा रहेका १ सय ८५ जना नेपालीलाई शनिबार उद्धार गर्ने तयारी गरिरहेको छ। हुबेईका ६ वटा सहरमा रहेका नेपालीहरुलाई वुहानमा भेला गरेर नेपाल वायु सेवा निगमको वाइडबडी विमानमार्फत उद्धार गरिनेछ।

 सो विमानमा नेपालबाट चार जना स्वास्थ्यकर्मी जाने छन्। जसमा एक चिकित्सक, एक नर्स र अन्य प्यारा मेडिक हुने छन्। दाहालले चीनबाट उद्धार गरेर ल्याउने, स्वास्थ्य जाँच तथा हेरचाह गर्ने काममा सहभागी हुने सबैलाई यस विषयमा आवश्यक अभिमुखीकरण गरिएको बताए।

उनले मंगलबारभित्र ८४ जनालाई अभिमुखीकरण गरिसकेको बताए। ‘यो क्रम अझै जारी छ,’ दाहालले भने।

उद्धारमा जाने विमानलाई नियमित नभई छुट्टै स्थानमा पार्किङ गरिने छ। हुबेईबाट फिर्ता ल्याइएकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै स्वास्थ्य परीक्षण गरिनेछ। जसका लागि पाँच वटा हेल्थ डेस्क स्थापना हुने छ।
एक–एक मिटरका दूरीमा राखेर उनीहरुलाई हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरिने छ। तर उनीहरुलाई विमानमै रहँदा आफ्नो स्वास्थ्य अवस्थाको बारेमा स्वघोषणाको फारम भराइने छ।

‘कोरोनाको लक्षण देखिएकालाई उपचारका लागि विभिन्न अस्पतालमा व्यवस्था गरेको आइसोलेसन वार्डमा पठाउने छौं,’ दाहालले भने, ‘विभिन्न अस्पतालमा हामीले १ सय ५० वटा बेडको व्यवस्थापन गरेका छौं। केही पनि लक्षण नदेखिएकालाई क्वारेन्टाइनमा पठाइन्छ।’ जहाँ उनीहरुलाई दुई सातासम्म राखिने छ।

यद्यपि सरकारले क्वारेन्टाइनका लागि चार स्थानमा छुट्टयाएको भएपनि कुन स्थानमा कतिलाई राख्ने भन्ने बारे निर्णय नभइसनेको दाहालले बताए।

‘कहाँ कति जना राख्ने भनेर सरकारले निर्णय गर्ने छ। यो निर्णय हुन बाँकी नै छ,’ दाहालले भने।

क्वारेन्टाइन स्थलमा पनि स्वास्थ्यकर्मीहरु परिचालन हुने छन्। त्यसरी ल्याएर राखिएको कुनैपनि व्यक्तिमा लक्षण देखिए सो व्यक्तिलाई अस्पताल भर्ना गरिने छ। दाहालले स्वास्थ्यकर्मीहरुले पूर्णरुपमा ‘पर्सनल प्रोटेक्टिभ इक्विपेन्ट प्रयोग गर्ने बताए।

‘विमानमा जाने र विमानस्थलमा रहने स्वास्थ्यकर्मीहरुले फुल पीपीई प्रयोग गर्ने छन्,’ उनले भने, ‘त्यो चन्द्रमा जाने मानिसले लगाउने लुगा जस्तो हुन्छ।’ तर, दाहालले कोरोनाबाट धेरै त्रसित हुन आवश्यक नभएको बताए।

‘सतर्कता अपाउनु पर्ने हुन्छ । यसअघि महामारीको रुपमा फैलिएको भाइरसभन्दा यो कमजोर प्रकृतिले हो,’ दाहालले भने, ‘भाइरसले संक्रमित भएका १ सय जनामा ८० जनामा अवस्था सामान्य २० प्रतिशतमा भने यसले केही गम्भीर रुप लिन्छ। पाको उमेरका व्यक्ति र कमजोर रोग प्रतिरोधी क्षमता भएको मानिसमा मात्रै यसले समस्या गर्ने गरेको छ।’

केही समयअघि महामारीको रुप लिएको सार्स र मर्सबाट संक्रमित भएका व्यक्तिको मृत्यु हुने दर क्रमशः ११ र ४३ प्रतिशत थियो। जबकि कोरोनाको मृत्युदर करिब दुई प्रतिशत मात्रै छ।

दाहालले चीनबाट फिर्ता ल्याइएका नेपालीलाई परिवारका सदस्यले सुरक्षित विधि अपनाएर भेटघाट गर्न सक्ने व्यवस्था मिलाइने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .