ad ad

समाज


काठमाडौँ महानगरका ११८ औषधि पसल मापदण्डविपरीतका, पाइए यस्ता त्रुटि

काठमाडौँ महानगरका ११८ औषधि पसल मापदण्डविपरीतका, पाइए यस्ता त्रुटि

फाइल तस्बिर


नेपालखबर
फागुन १८, २०८० शुक्रबार १३:१५, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालन नगरेको जनाएको छ।  

कामपा स्वास्थ्य विभागले गत असोज २१ गतेदेखि औषधि पसलको अनुगमन थालेको थियो। अहिलेसम्ममा वडा नम्बर १, २ र ३ का अधिकांश र अन्य वडाका केही औषधि पसलमा गरिएको अनुगमनका क्रममा ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालन नगरेको पाइएको विभागले जनाएको छ।  

वडा नं १४ कलङ्कीमा सञ्चालित मिसन फार्मेसीले फ्रिज नचलाइ खोप भण्डारण गरेको पाइएको छ। यसरी भेटाएका तीन प्याकेट (३० वटा) एन्टिरेविज भ्याक्सिन, टिटी खोप नौ थान र तीन थान इन्सुलिन जफत गरिएको विभागका निमित्त प्रमुख सजिना महर्जनले जानकारी दिइन्।   

अनुगमनका क्रममा औषधि राख्ने फ्रिजमा ‘कोल्ड चेन’ कुनैमा पनि नभेटिएकाले त्यस्ता औषधि पसलमा कुनै पनि खोप नलगाउन नागरिकलाई आग्रह गरिएको कामपाको उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डङ्गोलले बताइन्। 

‘औषधि पसलले, फ्रिज तथा खोप भण्डारण गर्ने कक्षमा आवश्यक पर्ने तापक्रम नमिलाउनु गम्भीर लापरबाही हो । जनस्वास्थ्यका दृष्टिले यो चरम गल्ती हो’, उनले भनिन्, ‘यस्ता ठाउँमा सुधारको मौका दिन सकिँदैन।’
     

औषधि पसल दर्ता गर्दा एउटाको नाममा प्रमाणपत्र छ । पसलमा अर्कै व्यक्ति बसेको पनि भेटिएको डङ्गोलले जानकारी दिइन्। उनका अनुसार केही प्रतिनिधि पसलबाहेक धेरैमा समस्या देखिएको छ।  

कामपाले गत मङ्सिरमा आफ्नो क्षेत्रभित्र सञ्चालित औषधि पसललाई प्रचलित व्यवस्थाअनुसार कानुनी दायरामा आउनका लागि सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो। सूचनाको व्यवस्ता गरेको भन्दै कामपाले अनुगमन सुरु गरेको हो।  

उक्त अवस्थामा सुधार नगर्नेलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (झ) ९, महानगरपालिका जनस्वास्थ्य ऐन, २०८० को दफा ५३ अनुसार कारबाही गरिने विभागले जनाएको छ। 

औषधि पसल सञ्चालन हुनका लागि पहलो कामपामा अनुमति लिनुपर्ने हुन्छ । फार्मेसी पढेकाले मात्रै औषधि पसल सञ्चालन र बिक्रीवितरण गर्नुपाउने कानुनी मान्यता छ । हाल कामपामा दुई हजार छ सय औषधि पसल सञ्चालनमा रहेका छन्।

औषधि पसलको यो प्रवृत्तिमा तत्काल सुधारको खाँचो रहेको विभागले जनाएको छ। कामपाले गत असोजदेखि औषधि पसलहरुको नियमित अनुगमन गरिरहेको छ। अनुगमनका क्रममा समस्या देखिएका पसललाई कारबाहीको दायरामा ल्याइने कामपाले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .