ad ad

समाज


रुसी सेनामा नेपाली भर्ना : १४० जनाले दिए उद्धारका लागि आवेदन

१२ जनाको मृत्यु, ५ नेपाली युक्रेनी सेनाको कब्जामा
रुसी सेनामा नेपाली भर्ना : १४० जनाले दिए उद्धारका लागि आवेदन

फाइल तस्बिर : रुसी सेनाका साथमा राष्ट्रपति पुटिन


नेपालखबर
माघ २७, २०८० शनिबार ११:३९, काठमाडौँ

पछिल्लो समय रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको मृत्यु र घाइते भएको सूचना सार्वजनिक हुन थालेपछि आफन्तले उद्धारका लागि आग्रह गर्ने गरेका छन्।

परराष्ट्र मन्त्रालयको पछिल्लो जानकारीअनुसार रुसी सेनामा भर्ना भएकामध्ये हालसम्म १२ नेपालीको मृत्यु भएको छ भने पाँच जना युक्रेनी सेनाको कब्जामा छन्। 

यसैगरी कन्सुलर सेवा विभागमा करिब एक सय ४० जनाका परिवारका सदस्यले उद्धारका लागि आवेदन दिएका छन्।

यसबाहेक के कति सङ्ख्यामा नेपाली नागरिक रुसी सेनामा भर्ना भएका छन् तथा युद्धका क्रममा कति घाइते भए वा हराए भन्ने यथार्थ विवरण छैन।

मन्त्रालयले हालसम्म गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका, इलामका गङ्गाराज मोक्तान, कुन्दन सिंह नागल, स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र  धादिङका राजकुमार गिरीको रुसी सेनामा कार्यरत रहँदा निधन भएको जानकारी प्राप्त भएको जनाएको छ।

यसैगरी रुस सरकारबाट आधिकारिक जानकारी प्राप्त नभए पनि पछिल्लो समय थप दुई नेपालीको मृत्यु भएको सम्बन्धमा परिवारजनले मन्त्रालयमा जानकारी गराएका छन्।

त्यस्तै रुसी सेनामा कार्यरत अवस्थामा बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुनलाई युक्रेनी सेनाले बन्दी बनाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। रुसी सेनामा कार्यरत थप एक नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा परेको सूचना आएको मन्त्रालयले जनाएको छ।

रुसी सेनामा भर्ना हुन जाने नेपाली अधिकांश भ्रमण भिसामार्फत खाडीका मुलुकबाट त्यहाँ गएका पाइएको छ।

मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले नेपाल सरकारले रुस सरकारलाई मृतकको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरिएको जानकारी दिए। साथै उनले बन्दी बनाइएका नेपालीको शीघ्र रिहाइ गरी नेपाल फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको बताए। 

मन्त्रालयले नेपालीलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपालीलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत रुस सरकारलाई अनुरोध गरेको छ। गत महिना युगाण्डाको कम्पालामा सम्पन्न ‘नाम’ सम्मेलनमा भेट भएका रुसका सहायक विदेश मन्त्रीसँग  नेपाल सरकारका प्रतिनिधिले रुसी सेनामा नेपालीलाई भर्ना रोक्न र स्वदेश फर्काउनका लागि कुरा गरेको मन्त्रालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .