समाज


पूर्वसभामुख महरासहित तीनजनासँग जाँचबुझ आयोगले लियो बयान

पूर्वसभामुख महरासहित तीनजनासँग जाँचबुझ आयोगले लियो बयान

नेपालखबर
माघ २५, २०८० बिहिबार १९:१५, काठमाडौँ

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष समेत रहेका पूर्व सभामुख कृष्णबहादुर महरासँग बयान लिएको छ।

सिंहदरबारस्थित कार्यालयमा आयोगले बिहीबार महरासँग बयान लिएको हो। भेपमा भएको सुन तस्करीमा महरासँग पहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पनि कागज गराएको थियो।

यी सबै सुन प्रकरणमा अनुसन्धान गरिरहेको जाँचबुझ आयोगले बिहीबार दिउँसो महरालाई पनि बोलाएर बयान कागज गराएको आयोगका संयोजक डिल्लीराम आचार्यले बताए।

आयोगले विद ल्याबका सञ्चालक भिमकान्त भण्डारीसँग पनि बयान लिएको छ। यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डीएसपी रुगम कुंवरसँग पनि बिहीबार नै आयोगले परामर्श गरेको संयोजक आचार्यले नेपालखबरलाई बताए।

आयोगले भेपमा भएको सुन तस्करी, ६१ किलो सुन तस्करी लगायतका प्रकरणमा अनुसन्धान गरिरहेको छ। यसमा जोडिएका व्यक्तिसँग अनुसन्धान गरिरहेको आयोगकले अनुसन्धानमा संलग्न अधिकारीहरुसँग पनि परामर्श गरिरहेको छ। अनुसन्धानमा भएका कमजोरीबारे पनि आयोगले सम्बन्धित अधिकारीहरुसँग सोधपुछ गरिरहेको छ।

भेपमा भएको ९ किलो सुन प्रकरणमा महराका छोरा राहुल महरा पुर्पक्षका लागि कारागारमा छन्। प्रहरीले सुरुमा उनलाई जोगाउँदै प्रतिवेदन बुझाएको भएपनि चौतर्फी विरोधपछि पुरक अनुसन्धान गर्दै राहुललाई पक्राउ गरेको थियो। सीआईबीले सुरुमा कृष्णबहादुर महरा पनि संलग्न रहेको अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

तर पछि छोरालाई प्रतिवादी बनाए पनि बाबुसँग भने कागज गराएर छाडेको थियो।

यी दुई मुद्दामा थुनामा रहेका प्रतिवादीहरुलाई पनि बोलाएर आयोगले बयान लिइरहेको छ। यसअघि ३३ किलो सुन प्रकरणका गोरे भन्ने चुडामणी उप्रेतीलाई पनि केन्द्रीय कारागारबाट सिंहदरबारस्थित कार्यालयमा लगेर बयान गराइएको थियो।

यी बाहेक विमानस्थलबाट भएको सुन तस्करीका विभिन्न घटनामा जोडिएका व्यक्तिहरुसँग पनि जाँचबुझ आयोगले बयान लिइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad