समाज


गृहमन्त्रीलाई कर्मचारी संगठनको अल्टिमेटम : प्रहरीलाई ३ दिनभित्र कारबाही नगरे सबै सेवा ठप्प

गृहमन्त्रीलाई कर्मचारी संगठनको अल्टिमेटम : प्रहरीलाई ३ दिनभित्र कारबाही नगरे सबै सेवा ठप्प

फाइल तस्बिर


नेपालखबर
माघ १४, २०८० आइतबार १८:३४, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत तथा प्रमुख अध्यागमन अधिकृत कुटपिटमा संलग्न भनिएका प्रहरीलाई कारबाही नगरे सबै काम ठप्प पार्ने चेतावनी पाँचवटा कर्मचारी संगठनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई दिएका छन्।

आइतबार बिहानको बैठकको निर्णयअनुसार दिउँसो उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई भेटेर पाँचवटा कर्मचारी संगठनका नेताहरूले कुटपिटमा संलग्न भएका भनिएका प्रहरीलाई कारबाही गर्न तीन दिनको अल्टिमेटम दिएका हुन्। 

‘त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको घटनामा संलग्न प्रहरी कर्मचारीलाई तीन दिनभित्र कारबाही नभएमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय लगायत देशव्यापी रुपमा कार्यालयको सेवा बन्द गर्ने लगायतका आवश्यक आन्दोलनका थप कार्यक्रम घोषणा गर्न हामी बाध्य हुने व्यहोरा यसै ज्ञापन-पत्रमार्फत जानकारी गराउँदछौँ’, उनीहरूले भनेका छन्। 

कर्मचारीका नेताहरूले पछिल्लो समय कर्माचारीहरूको मनोबल कमजोर बनाउने गतिविधि भइरहेका जिकिर गरेका छन्। 
‘कर्मचारीको मनोबल कमजोर बनाउने काम पछिल्लो समय भइरहेको भन्न् हाम्रो ठम्याई रहेको छ’, उनीहरूले भनेका छन्, ‘अतः संयुक्त ट्रेड युनियनको तर्फबाट पेस भएका सुझावहरू समावेश गरी संघीय निजामती सेवा ऐन अविलम्ब जारी गर्न जोडदार माग गर्दछौँ।’

‘हामी आजै गृहमन्त्रीज्यूलाई भेटेर घटनामा संलग्न प्रहरीलाई तत्काल निलम्बन गर्न ३ दिनको अल्टिमेटम दिन्छौँ’, बैठकको निर्णयलगत्तै महासचिव रावलले भने, ‘तीन दिनमा हाम्रो माग सम्बोधन भएन भने देशव्यपापी आन्दोलनमा उत्रिनेछौँ।’

घटनाबारे आइतबार बिहान नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय कार्यालय, बबरहलमा बसेको बैठकमा सबै दलनिकट संगठनका पदाधिकारी सहभागी थिए। त्यसपछि दबाब बढाउन उनीहरू गृहमन्त्रीकहाँ पुगेका हुन्। 

गत शुक्रबार दिउँसो १२ बजेतिर विमानस्थलमा प्रहरीले अध्यागमन अधिकृत तथा प्रमुख अध्यागमन अधिकृतलाई कुटपिट गरेको घटना बाहिरिएको थियो। त्यसक्रममा एकजना अध्यागमन अधिकृतले प्रहरीमाथि लात्ती हानेको सीसीटीभी फुटेज अहिले भाइरल भइरहेको छ।

गृहमन्त्रीलाई भेट्न नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, नेपाल निजामी कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेल, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्ट, एकीकृत निजामती कर्मचारी संगठनका अध्यक्ष गगनसिंह विष्ट र नेपाल मधेसी कर्मचारी संघका अध्यक्ष विजयकुमार यादव पुगेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad