समाज


डाक्टरी पढ्न भारतीय विद्यार्थी जुम्लामा

स्वास्थ्य विज्ञान प्रतिष्ठानले उल्टाउँदै छ कर्णालीप्रतिको धारणा
डाक्टरी पढ्न भारतीय विद्यार्थी जुम्लामा

नेपालखबर
माघ ८, २०८० सोमबार ०:५९, काठमाडौँ

१३ वर्षअघि ‘सुइना कर्नालीका’ नाटक लेखेका सुमन मल्ल जीवितै हुन्थे भने आज कथाले अर्कै मोड लिन सक्थ्यो।

नातिनीको उपचारका लागि सुदूर बस्तीबाट सहर निस्कँदा बीचमा वास पर्छ। दुवै भोकै सुत्छन्।

हजुरबुवाले मीठो सपना देख्छन्, समृद्ध कर्णालीको। त्यही कथा नाटकमा बुनिएको थियो।

कथामा त्यहाँका मुख्यमन्त्री संघीय सरकारका प्रधानमन्त्रीलाई ठूलो रकम सहायता दिन्छन्। तर, जब बिहान हुन्छ, भोकै सुतेकी ती रोगी नातिनी कहिल्यै उठ्न नसक्ने गरी आँखा चिम्लिएकी हुन्छन्।

कर्णालीका मुख्यमन्त्री संघीय सरकारलाई ठूलो आर्थिक सहायता दिन सक्ने अवस्थामा त छैनन्। तर, कर्णालीले अब संघीय सरकारलाई चिकित्सा क्षेत्रमा दक्ष जनशक्ति भने दिँदै छ।

एमबीबीएसदेखि विभिन्न विधाका विशेषज्ञ चिकित्सकसमेत कर्णालीले आपूर्ति गर्दै छ। देशलाई मात्र होइन, विदेशलाई पनि।

अझ चिकित्सा पढ्न चाहने विदेशी विद्यार्थीका लागि समेत कर्णालीको जुम्ला गन्तव्य बन्दै छ।

अभावको विम्ब बनेको कर्णालीको चित्र उल्टाउने आधार बनेको छ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला।

३ भारतीय विद्यार्थी भर्ना
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले यसै वर्षदेखि चिकित्सा शास्त्रअन्तर्गत स्नातक (एमबीबीएस) पढाउन ५० विद्यार्थीको कोटा पाएको छ। यस क्रममा जुम्लाले ३ विदेशी विद्यार्थीलाई स्वागत गर्दै छ।

यसै शैक्षिक सत्रबाट पढ्ने गरी तीनजना भारतीय विद्यार्थी भर्ना भएका छन्। तीमध्ये २ छात्रा र १ छात्र छन्। दुवै छात्रा जम्मु काश्मिरकी हुन् भने छात्र अल्लाहपुर, उत्तर प्रदेशका।

योसँगै एमबीबीएसको अध्यापन थालेको पनि तीन वर्ष हुँदै छ र चौथो ब्याच पढ्न सुरु गर्दै छ।

पहिलो वर्ष २० जनाको कोटा पाएको प्रतिष्ठानले त्यसपछिका २ वर्षमा ३०–३० जना भर्ना लियो। यस वर्षबाट चिकित्सा शिक्षा आयोगले ५० जनाको कोटा दिएपछि जुम्लामा चहलपहल अझै थपिएको छ।

१३ वटा कार्यक्रम, झण्डै ४ सय विद्यार्थी
कुनै बेला जुम्लामा पनि मेडिकल कलेज चल्छ र भन्दै नाक खुम्च्याउनेहरूका लागि प्रतिष्ठानले गतिलो जवाफ दिएको छ। अहिले चिकित्सा शिक्षाका चारवटा स्कुलमा स्नातक र स्नातकोत्तर गरी १३ वटा कार्यक्रम चलिरहेका छन्।

स्कुल अफ मेडिसिन, स्कुल अफ फार्मेसी र स्कुल अफ पब्लिक हेल्थमा स्नातकदेखि स्नातकोत्तरसम्मका कार्यक्रम सञ्चालनमा छन्। स्कुल अफ नर्सिङमा अहिलेसम्म स्नातक मात्रै भए पनि अर्को सत्रबाट स्नातकोत्तर कार्यक्रम थपिँदै छ।

यी सबै कार्यक्रमका लागि झण्डै एक सय शिक्षक–प्राध्यापक खटिएका छन्। अहिले करिब ३ सय विद्यार्थी अध्ययनरत प्रतिष्ठानमा यही फागुनबाट ४ सय पुग्ने प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल बताउँछन्।

उनकै अनुभवमा, एमबीबीएस, एमडी, बीएस्सी नर्सिङ, बीएनएस, बी फार्मा, एमपीएचलगायत कार्यक्रम चलाउने कुरा गर्दा धेरैले हाँसोमा उडाएका थिए। ती सबै कुरा अहिले सम्भव र सफल भएको उनी सुनाउँछन्।

‘कार्यक्रम र विद्यार्थी संख्यासँगै अर्को खुसीको कुरा यो हो कि हामीले गुणस्तर पनि राम्रो दिन सफल भएका छौँ,’ उपकुलपति डा. रावल भन्छन्, ‘सम्बन्धित काउन्सिलका परीक्षामा बीपीएच र नर्सिङमा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सम्भव भएको छ। अन्य विधामा पनि राष्ट्रिय औसतभन्दा राम्रो स्थानमा छौँ।’

सात गुणा बढ्यो आम्दानी
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आम्दानी पनि गएका ३ वर्षमा ७ गुणाले बढेको छ। ३ वर्षअघिसम्म वार्षिक ५ करोड आम्दानी हुने प्रतिष्ठानले गत वर्ष २७ करोड कमाएको थियो।

‘यो वर्ष ३२ करोड रूपैयाँ पुग्दै छ,’ उपकुलपति डा. रावल भन्छन्, ‘कर्णाली, त्यसमा पनि जुम्लाजस्तो ठाउँमा धेरैले असम्भव भनेको कामले मूर्तरूप पाएको छ। निकै ठूला चुनौतीका बाबजुद झण्डैझण्डै अकल्पनीय काम सम्भव भएको छ।’

उनका अनुसार, आन्तरिक आय बढे पनि अझै आत्मनिर्भर भने हुन सकेको छैन। बढिरहेका कार्यक्रमका लागि शिक्षक तथा कर्मचारीको संख्या पनि बढिरहेकाले बजेट अपुग भइरहेको हो।

८ वर्षअगाडि ५० देखि १ सयको बीचमा बिरामी आउने प्रतिष्ठानको अस्पतालमा अहिले दैनिक ६ सयसम्म सेवा लिन आउँछन्।

आसपासका अरू धेरै जिल्लाका बिरामीलाई सहज होस् र दैनिक २ हजार बिरामीको उपचार गर्न सकियोस् भनेर प्रतिष्ठानले दैलेखको राकम कर्णालीमा १ सय शय्याको स्याटेलाइट अस्पताल बनाउने योजना प्रतिष्ठानसँग छ। यसो गर्दा कर्णाली प्रदेश र सुदूरपश्चिमको करिब १० लाख जनसंख्यालाई आफ्नो सेवा क्षेत्रमा समेट्ने प्रक्षेपण छ। यसले प्रतिष्ठानलाई पनि आत्मनिर्भरतातिर लैजाने विश्वास यहाँको नेतृत्वले लिएको छ।

जुम्लामै विशेषज्ञ सेवा उपलब्ध भएपछि एकातिर जनताको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पारेको छ, अर्कोतिर नेपालगन्ज र अरू सहरहरूमा गएर उपचार गराउने खर्च जोगिएको छ।

‘प्रकारान्तरले यो राज्यलाई नै योगदान हो,’ रावल अर्थ्याउँछन्, ‘एउटा हात भाँचिएको बिरामी जुम्लाबाट काठमाडौँको वीर अस्पताल जाने हो भने कम्तीमा १ लाख खर्च हुन्छ। अब यो उपचार जुम्लामै हुन्छ र यति ठूलो खर्च पनि जोगिने अवस्था बनेको छ।’

कर्णालीको चित्र उल्टाउने प्रयास
यसअघिसम्म कर्णाली अभाव, अत्यास र आहतको पर्याय बन्यो। भौगोलिक विकटता त एउटा बहाना मात्र थियो। राज्यको उदासीनता मुख्य कारण थियो।

अब विकटता चिर्न सडक सञ्जाल विस्तार हुँदै छ। सडकले गाउँले जीवनलाई बजारसँग जोड्दै छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञस्तरको स्वास्थ्य सेवा सुनिश्चित गर्दै छ। यसले मानव विकास सूचक सुधारमा प्रत्यक्ष योगदान गर्ने विश्वास डा. रावलको छ।

उनी भन्छन्, ‘अब कर्णालीमा पहिलाजस्तो हैजा वा रुघाखोकीको महामारीले त मान्छे मर्न दिँदैनौँ नै। अरु ठूला महामारी र स्वास्थ्य संकटसँग जुध्ने क्षमता हामीले बनाइसकेका छौँ।’

उनकै भनाइमा, कोभिडकालमा महामारीसँग लड्न यही संस्थाले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही भागका लागि ठूलो भरथेग गरेको थियो। केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला, टेकुपछि सर्वाधिक नमुना परीक्षण गर्ने संस्थामा यही प्रतिष्ठान दरिएको थियो। कतिसम्म भने डडेल्धुरा नगरपालिका प्रमुख र उपप्रमुख रगतका नमुना बोकेर आफै जुम्ला पुगेका थिए। 

कर्णालीको हुम्लामा जन्मिएका उपकुलपति डा. रावल थप्छन्, ‘नेपालगन्जको भेरी अस्पतालमा आईसीयु चलाउन हाम्रै प्रतिष्ठानका डाक्टरहरू जानुभयो। यो भनेको कर्णालीको परम्परागत चित्र र धारणा उल्टाउने कोशेढुंगाका रूपमा लिन सकिन्छ।’

अन्तर्राष्ट्रिय सञ्जालमा कर्णाली
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मलेसियाको सनवे विश्वविद्यालयअन्तर्गतको सनवे मेडिकल सेन्टरसँग अनुभव आदानप्रदान गर्दै छ। यसका लागि समझदारी भइसकेको छ। जसअनुसार, ५ जना एमडी र नर्स आगामी केही महिनामा मलेसिया गएर तालिम गर्नेछन् भने त्यहाँबाट पनि केही कर्णालीमा आएर अभ्यास गर्नेछन्।

एमडी र नर्स गरी ५ जनाले त्यहाँ काम गर्न पाउने र त्यहाँका पनि कर्णालीमा आउनेछन्।

अमेरिकाको ह्युस्टन मेडिकल स्कुलका प्राध्यापक पनि प्रतिष्ठानमा योगदान गर्नेछन्।

यस्तै मेमोरियल युनिभर्सिटी अफ क्यानाडासँग अनुसन्धान र एमडीजीपी कार्यक्रमका लागि सहकार्य हुँदै छ। दुवै संस्थाबीच शिक्षक–प्राध्यापकसमेत आदानप्रदान हुने गरी प्रक्रिया अघि बढेको छ।

चीनको चोङ्सी प्रान्तस्थित ज्यु ज्याङ (च्याङ्सी विश्वविद्यालय)सँगको सहकार्यमा औषधीय जडीबुटीको अनुसन्धान केन्द्र स्थापनाका लागि पहल भइरहेको प्रतिष्ठानले जनाएको छ।

अनुसन्धान, स्वास्थ्य सेवा र शिक्षा गरी तीनै पक्षबाट समानान्तर प्रयास अघि बढाइएका छन्।

पूर्वाधारको संघर्ष
यति हुँदाहुँदै पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले योजनाअनुसार पूर्वाधार बनाउन सकेको छैन। २०७२ सालमा जुम्लामा ३ सय शय्याको अस्पताल बन्यो। कक्षा सञ्चालन, छात्रावास र शिक्षक-प्राध्यापकका लागि आवास बनाउन बाँकी नै छ।

भौतिक सुविधाको अभाव र न्यून तलबका कारण विशेषज्ञ चिकित्सक टिकाउन प्रतिष्ठानलाई हम्मे परेको छ। सरकारी कर्मचारीले विभिन्न नाममा ५ पटकसम्म तलब सुविधा बढाउँदा जुम्लामा पढाउन जाने विशेषज्ञ चिकित्सकको तलब ७ वर्षदेखि बढाउन नसकेको गुनासो प्रतिष्ठानको नेतृत्वको छ।

सरकारका पदाधिकारीहरू अरू नयाँनयाँ ठाउँमा यस्तै संस्था बनाउने भन्दै हिँडेका छन्। अर्बको हिसाबमा लगानी पनि खन्याइरहेका छन्। तर, भएको संस्थालाई बलियो, दिगो र साधनस्रोत सम्पन्न बनाउनुपर्छ भन्ने भावना कम देखिएको छ।

अझै विडम्बनाको विषय यो छ कि देशका अर्थमन्त्री संसदमा भाषण गर्छन्, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत दैलेखको आठबीस नगरपालिका, राकममा एक सय शय्याको स्याटेलाइट अस्पताल स्थापना गर्ने प्रक्रिया अघि बढाइनेछ (बुँदा नं २४३)। तर, त्यही कुरा रातो किताबमा हेर्दा छैन।

जुम्लामा शैक्षिक पूर्वाधार र राकम कर्णालीमा सय शय्याको अस्पतालका लागि संघीय सरकारका विभिन्न निकायसँग गुहार माग्दै प्रतिष्ठानका पदाधिकारीको धेरै ऊर्जा खर्च भइसक्यो।

यी पूर्वाधार बनाउन सरकारले लगानी गरिदिने हो र अबको ४ वर्ष जति मात्र सञ्चालन खर्चमा पनि सहयोग गर्न सके उप्रान्त आत्मनिर्भर हुनेमा शंका छैन,’ डा. रावलको अठोट र अनुरोध छ, ‘राज्यलाई स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको ठूलो दायित्वबाट मुक्त बनाउँछौँ। अहिलेदेखि नै आफै कमाएर बाँच भन्ने हो भने भएको पनि बिग्रिन्छ। यति कुरा सिंहदरबारमा बस्नेहरूले बुझिदिनुपर्‍यो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .