ad ad

समाज


थारु समुदायले काठमाडौंमा २ दिन माघी महोत्सव मनाउने

थारु समुदायले काठमाडौंमा २ दिन माघी महोत्सव मनाउने

नेपालखबर
पुस २७, २०८० शुक्रबार १८:३, काठमाडौँ

नेपालका थारु समुदायले पुस २९ गते र माघ १ गते दुई दिन काठमाडौंको टुँडीखेलमा माघी महोत्सव मनाउने भएका छन्। 

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै थारू समुदायले टुँडीखेलमा दुई दिन माघी महोत्सव मनाउने जनाएका हुन्। 

थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक प्रेमिलाल चौधरीले माघीका लागि विशेष तयारी गरिएको बताए।

‘२०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव मनाउँदै आएका छौँ। थारु समुदायको नयाँ वर्ष भएकाले थारु भाषा, संस्कृति र जनचेतनाको लागि दुई दिन महोत्सव मनाउने निर्णय गरेका हौँ’, उनले भने। 

माघी महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्‌घाटन गर्नेछन्। यसवर्ष ‘थारु संस्कृतिको संरक्षण, संम्वर्द्धन र प्रवर्द्धननमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान’ भन्ने नारासहति माघी पर्व मनाउन लागिएको चौधरीले बताए।

उनका अनुसार माघी सफल बनाउन मूल आयोजक समिति मातहतमा विभिन्न उपसमितिहरू गठन गरिएको छ।

जसमा आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा (सत्यनारायण चौधरी सुमन), स्टल व्‍यवस्थापन उपसमितिको संयोजकमा (चन्द्र प्रकाश चौधरी), प्रचार प्रसार तथा सदस्य सचिव संयोजकमा (प्रदिप लेखी, किशोर चौधरी सदस्य, सहदेव चौधरी), विज्ञापन व्‍यवस्थापन उपसमितिको संयोजकमा (चन्द्रप्रसाद चौधरी) छन्।

उता सांस्कृतिक उपसमिति संयोजकमा (नन्दुराज चौधरी, राम स्वागत चौधरी सदस्य, विनय वैद्य सदस्य), मोटरसाइकल र्‍याली व्‍यवस्थापनको संयोजकमा (अधिकार चौधरी), ब्लड डोनेशनमा (पुष्पा चौधरी), झाँकी र्‍याली व्यवस्थापनको संयोजकमा (बर्दियाली विकास मञ्‍च) र निसराउ व्‍यवस्थापन समितिमा (थारू महिला समाज, थारू महिला सभा र अग्रासन महिला समूह) छन्।

अतिथि सत्कार व्‍यवस्थापन उपसमितिमा (थारू महिला समाज/थारू महिला सभा र अग्रासन महिला समूह), जिता मार्ने उपसमितिमा (बर्दियाली विकास मञ्च), फोहोर व्‍यवस्थापन उपसमितिमा (जोगा चौधरी र शत्रुघनप्रसाद चौधरी) छन्।

२० भन्दा थारु संघ संस्थाहरुको संयुक्त आयोजनामा हुने माघी महोत्सवमा थारु खानाका परिकार, प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनी लगायतका करिब १०० भन्दा बढी स्टलहरू रहने छन्।

प्रचार प्रसार गर्ने उद्देश्यका साथ र्‍याली पुस २८ गते शनिबार बिहान ७ बजे मोटरसाईकल र्‍याली तीनकुनेबाट सुरु भई भृकुटीमण्डपमा समापन हुनेछ।

माघ १ गते बिहान १० बजे थारु संस्कृति, भेष भूषा, बाजा गाजा, संघ संस्थाको तूल ब्यानरसहित न्यूरोड, बसन्तपुरमा जम्मा भई झाँकी र्‍याली प्रदर्शनसहित रत्नपार्क, शहीदगेट, सुन्धारा परिक्रमा गरी मूलसमारोह टुँडीखेलमा सरिक चौधरीले बताए। 

उनका अनुसार पुस २९ गते टुँडिखेलमा रक्तदान कार्यक्रम र साँझमा जिता मार्ने कार्यक्रम राखिएको छ। रक्तदान कार्यक्रमको संयोजन पुष्पा चौधरीले गर्नेछिन् भने जिता मार्ने कार्यक्रमको संयोजन बर्दियाली थारू विकास मञ्‍चले गरेको छ।

यस्तै महोत्सवमा थारू सांस्कृतिक नृत्य तथा गीत (मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रंहवा नाँचसहित दुई दर्जनभन्दा धेरै सुन्दर नृत्य तथा गीतहरुको धमाकेदार प्रस्तुती रहने सांस्कृतिक उपसमितिका संयोजक नन्दुराज चौधरीले जानकारी दिए।

महोत्सवमा थारू जातिले माघी पर्वमा खाने विशेष खाना परिकार (ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डू, लाईमुरी, भुजा, बन्डी जाँडको झोल, स्थानीय मदिरा, केराको तरुवा, सखरखण्ड, खरिया, सुंगुर र बंगुरको मासु, परेवाको मासु, माछा, घोघी, गंगटो, सिधरा, मसुलार) रहनेछन्।

बालू सिन्की, बयरको चटनी, वरिया, चामलको गुरी, काथ्या रोटी, अन्डीक रोटी, तेलपौर रोटी, झभ्झा रोटी लगायत विभिन्न परिकार पनि राखिने छ।

महोत्सवमा देशभरका थारु समुदायको उपस्थिति रहने उनले बताए। हस्तकला, पुस्तक प्रदर्शनी एवं बिक्री बितरणमा थारु हस्तकला तथा थारु जातिका बारेमा लेखिएका, प्रकाशन भएका विभिन्न पत्र पत्रिका, ऐतिहासिक पुस्तक, पुस्तिका, जर्नल पनि प्रदर्शनीमा राखिनेछ।

हस्तकलाका सामग्रीहरु भेषभूषाः गोन्या (गुन्यु) चोल्या (चोलो), लेहङा, भेग्वा, अंगुछा, धोती, लंगौटी, धोती, कुर्ता, आँचर खडकी, घंघरिया, चौबन्दी टोपी, मन्द्रक झालर सहित अन्यमा ढकीया, ढक्ली, डेल्वा, भौंका, भौंकी, फेर्वा, पैनसटोपी, डेलिया आदि हस्तकलाका सामग्रीहरु प्रदर्शनीमा हुनेछन्। 

महोत्सवमा सहभागीले मन पराएका हस्तकला तथा पुस्तकहरू निश्चित दरमा खरिद गर्न सक्नेछन्। महोत्सवलाई व्यवस्थापन गर्न तथा सफल बनाउन करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .