समाज


सेनाको जागिर छाडेर रुस पुगेका स्याङ्जाका अर्याल युक्रेनसँगको युद्धमा मारिए

सेनाको जागिर छाडेर रुस पुगेका स्याङ्जाका अर्याल युक्रेनसँगको युद्धमा मारिए

नेपालखबर
पुस १७, २०८० मंगलबार १४:५४, काठमाडौँ

रुस सेनामा भर्ना भएका स्याङ्जाको वालिङ नगरपालिका-१४, मान्खुका हरि अर्यालको युक्रेनसँगको युद्धका क्रममा ज्यान गएको छ।

अर्यालको गत नोभेम्बर २९ (मंसिर १३) मा युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएको खबर परराष्ट्र मन्त्रालयले आफूलाई दिएको वालिङ नगरपालिका-१४ का वडाअध्यक्ष राजु कुँवरले नेपालखबरलाई बताए। 

‘हाम्रो वडाका हरि अर्यालको युक्रेनसँगको युद्धमा ज्यान गएको खबर दूतावासबाट प्राप्त भएको जानकारी परराष्ट्र मन्त्रालयले फोनमार्फत् दिएको छ’, उनले भने, ‘परराष्ट्रले लिखित पत्र पनि ईमेलमा पठाउने भनेको छ।’

कुवँरका अनुसार अर्यालय नोभेम्बर २९ देखि बेपत्ता थिए। उनको त्यही मितिमै मृत्यु भएको खबर अहिले आएको हो।

तर एक महिनापछि अर्यालको मृत्यु भएको खबर गाउँमा पुगेको हो। अर्याल यसअघि नेपाली सेनामा कार्यरत थिए। तीन वर्ष सेनामा काम गरेका उनी राजीनामा दिएर रुसतिर लागेका थिए।

‘उनी ३ वर्ष सेनामा जागिर खाएपछि राजीनामा दिएर गत कात्तिक ३ गते दुबई हुँदै रुस पुगेका थिए’, उनले भने, ‘त्यसपछि उनी रुसी सेनामा भर्ना भएको खबर आएको थियो। तर एक करिब २७ दिनदेखि उनी बेपत्ता थिए। हामीले तलमाथि भएको आशंका गरेका थियौँ। अहिले मृत्युको खबर आइपुग्यो।’

परराष्ट्रले लिखित पत्र पठाएपछि उनको परिवारलाई पनि खबर गरिने कुँवरले बताए। ‘परराष्ट्रको पत्र कुर्दै छौँ’, उनले भने, ‘उनी नरहेको खबर परिवारलाई अरूमार्फत् पुगेको छ। पत्र आएसँगै हामी जानकारी गराउँछौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .