ad ad

समाज


सुत्केरी र जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

सुत्केरी र जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

प्रकाश न्यौपाने
माघ २२, २०७६ बुधबार १२:४८,

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले जेष्ठ नागरिक र सुत्केरीलाई घरमै पुगेर स्वास्थ्य दिएपछि उनीहरुमा खुशी छाएको छ।

उपमहानगरले अहिले ८० वर्ष माथिका जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिएको हो। ज्येष्ठ नागरिकलाई घरदैलोममा पुगेर सेवा दिएपछि अहिलेसम्म एक हजार तीन सय ३२ जना ज्येष्ठ नागरिक लाभान्वित भएका छन्। यस्तै सुत्केरीलाई घरमै पुगेर पोषण र औषधि प्रदान गरिरहेको उपमहानगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए। यसबाट ५ सय २३ सुत्केरी महिला लाभान्वित भएका छन्।

बुटवलका विभिन्न सहरी स्वास्थ्य केन्द्रहरुमार्फत अहिले आधुनिक ल्याब सेवासहितको प्राथमिक स्वास्थ्य सेवा सञ्चालन गरिएको छ। सेवा सुरु पछि सेवाग्राहीको आकर्षण पनि बढ्दो छ। उपमहानगरका १९ वटै वडाहरुमा मेडिकल अफिसर र जनस्वास्थ्य अधिकृतले आधुनिक ल्याबसहित नियमित सेवाप्रवाह गरिरहेका छन्। जसले गर्दा साना–साना स्वास्थ्य समस्यालाई लिएर पनि नागरिक स्वास्थ्य संस्थामा जान थालेका छन्। उपमहानगरमा रहेको विभिन्न ८ वटा स्वास्थ्य संस्थामा कार्यरत ५५ जना स्वास्थ्यकर्मीहरुले नियमित सेवाप्रवाह गर्दै आएको सुवेदीले बताए।

उपमहानगरका अनुसार अहिले गर्भवती महिलाहरुको निःशुल्क स्वास्थ्य जाँच, ४० वर्ष माथिका सबैको निःशुल्क मधुमेह र प्रेसर जाँचसमेत भइरहेको छ। सहरी स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र तथा स्वास्थ्य चौकीमार्फत प्राथमिक स्वास्थ्य सेवालाई प्रभावकारी र विश्वसनीय बनाउने पहल थालिएदेखि नै नगरबासीको आकर्षण बढेको सुवेदी बताउँछन्।

‘मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरि विश्वसनिय, जवाफदेहीपूर्ण र प्रभावकारी सेवा उपलव्ध गराउने कोसिस गरिएको छ’, प्रमुख सुवेदीले भने। उपमहानगरका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा नगरका सम्पूर्ण स्वास्थ्य संस्थाहरुबाट बहिरंग सेवा लिने २१ हजार चार सय ७३ जना थिए भने आव २०७५/७६ यो संख्या बढेर ३२ हजार आठ सय २१ पुगेको छ।

IMG 7177

उपमहानगरले स्वास्थ्य संस्था नभएका वडाहरुमा वडाक्लिनिक सञ्चालनमा ल्याएको छ। यसबाट २०७४/७५ मा चार हजार ७ सय ४ जनाले सेवा लिएका छन् भने गत आव ०७५/७६ मा बृद्धि भई नौ हजार पाँच सय ९० पुगेका छन्। सेवा गरे पनि सम्मान पाउन नसकेको गुनासो गरिरहेका स्वास्थ्य स्वयम्सेविकालाई पनि उपमहानगरले प्रोत्साहन भत्तादेखि पहिचानका लागि परिचयपत्रसमेत वितरण गरेर सेवा प्रवाहमा लगाएको उपप्रमुख गुमादेवी आचार्यले बताइन्। ‘हामीले उपमहानगर भित्रका एक सय ७४ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुको परिचयपत्र वितरण गर्ने र यातायात तथा सञ्चार खर्च स्वरुप मासिक एक हजार प्रदान गर्दै आएका छौं’, उनले भनिन्।

यस्तै, उपमहानगरले विभिन्न वडाहरुमा महिला तथा बालबालिकाका लागि मातृशिशु स्वास्थ्य परीक्षण शिविर, महिलाहरुका लागि पाठेघर एवं स्तन क्यान्सर स्क्रिनिङ्ग शिविर, ज्येष्ठ नागरिकका लागि स्वास्थ्य परीक्षण शिविर लगायत आँखाजाँच, दन्त परीक्षण, चर्मरोग, छाला रोग र अपांगता सम्बन्धी विभिन्न शिविरहरु सञ्चालन गरी करिब १० हजार जनालाई प्रत्यक्ष ंरुपमा सेवा प्रदान गरेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .