ad ad

समाज


अजित मिजारलाई न्याय माग गर्दै काठमाडौँमा आन्दोलनको तयारी

अजित मिजारलाई न्याय माग गर्दै काठमाडौँमा आन्दोलनको तयारी

अजित मिजार


नेपालखबर
पुस १५, २०८० आइतबार १५:०, काठमाडौँ

अन्तरजातीय प्रेमविवाह गर्दा ७ वर्षअघि मारिएका काभ्रेका अजित मिजारसम्बन्धी मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन छ। 

उक्त घटनाका तीनजनै प्रतिवादीलाई जिल्ला अदालत धादिङ तथा उच्च अदालत पाटनले समेत सफाइ दिएपछि अजितका बुवा हरिभक्त ढकाल मिजारले उक्त मुद्दा पुनः हेरिपाऊँ भनी गत वैशाखमा सर्वाेच्च अदालतमा निवेदन दिएका हुन्।

सो विषयमा सर्वाेच्चले हालसम्म निष्कर्ष दिएको छैन। 

यसैबीच दलित अभियन्ताले अजित मिजारको न्यायका लागि दबाब दिन काठमाडौँमा आन्दोलन गर्ने तयारी गरेका छन्। 

दलित अभियन्ता खगेन्द्र सुनारले आन्दोलन तयारीका विषयमा सोमबार (भोलि) दिउँसो १ बजे कुपन्डोलस्थित फेडो कार्यालयमा छलफल कार्यक्रम गर्न लागिएको जानकारी दिए। 

‘अजित मिजारको हत्या मुद्दा सर्वाेच्च अदालतमा आएको छ’, उनले भने, ‘ आवश्यक दबाब दिन थप सशक्त आन्दोलनको तयारी भइरहेकाले उक्त मुद्दा, आन्दोलनबारे सल्लाह, सुझाव लिन भोलि छलफल कार्यक्रम गर्न लागेका हौँ।’  

यस्तो थियो घटना
काभ्रेको पाँचखाल नगरपालिका–६ होक्सेका १८ वर्षीय अजित मिजार गाउँकै पराजुली थरकी किशोरीसँग प्रेम गर्थे। तर केटीको परिवारलाई आफ्नी छोरीले कथित अछूत जातका केटासँग सम्बन्ध बनाएको पटक्कै मन परिरहेको थिएन। उनीहरू कुनै पनि हालतमा यो सम्बन्ध छुटाउने पक्षमा थिए। 

त्यसैले अजितले २०७३ असार २५ गते प्रेमविवाह गर्दै केटीलाई भगाए। श्रीमती लिएर अजित भक्तपुरस्थित दिदीको घर गएर बसे। 

यता अजितका बुबा हरिभक्तलाई केटीपक्षबाट लगातार ज्यान मार्ने धम्की आउन थाल्यो। यसपछि हरिभक्त २०७३ असार २७ गते प्रहरी कार्यालय पुगे। प्रहरीले बिहे गर्न केटा र केटी दुवैको उमेर नपुगेको भन्दै उनीहरूलाई घर फर्काउने सहमति गरायो।

तर त्यसको ३ दिनपछि अजित धादिङको परेवाटारस्थित विश्रामस्थलमा झुन्डिएको अवस्थामा मृत फेला परे। 

साउन १ गतेसम्म पनि शवको सनाखत नभएपछि प्रहरीले उनको मृत्युलाई आत्महत्या भनी बेवारिसे शवका रूपमा गाडिदियो। छोराको मृत्युको खबर पाएपछि हरिभक्त ढकाल मिजार धादिङ पुगे। तर प्रहरीले अजितले आत्महत्या गरेको र उनको शव गाडिसकिएको जानकारी गरायो। 

हरिभक्तले अन्तिम संस्कार गर्न छोराको शव खाल्डोबाट निकालिदिन प्रहरीसँग अनुरोध गरे।

जब शव खाल्डोबाट निकालियो, तब हरिभक्तले आत्महत्या नभई छोराको हत्या भएको संकेत पाए।

अजितको शव खाल्डोबाट निकालिँदै

त्यसपछि छोराको शव लिएर उनी काठमाडौँको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा आए। 

यसपछि आफ्नो छोराको हत्या भएको शंका गर्दै अजितका बुबाले २०७३ साउन २ गते धादिङकै गजुरीस्थित इलाका प्रहरी कार्यालयमा केटीका बाबुसहित तीन जनाविरुद्ध किटानी जाहेरी दिए।

त्यसको एक महिनापछि भदौ २० गते प्रहरीले उनीहरूलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलायो। तर जिल्ला अदालत धादिङले उक्त मुद्दामा २०७५ जेठ २० गते तीनैजना विनोद भनिने टेकबहादुर पराजुली, ध्रुव भनिने भोजबहादुर पराजुली र सम्झना पराजुलीलाई सफाइ दियो। 

चित्त नबुझेपछि अजितका बुवा हरिभक्तले उच्च अदालत पाटनमा पुनरावेदन गरे। तर उच्च अदालतले पनि २०७९ वैशाख १२ गते जिल्ला अदालतकै फैसला सदर गरेपछि उनी गत वैशाखमा सर्वाेच्च अदालत पुगेका हुन्। 

न्याय नपाएसम्म छोराको अन्तिम संस्कार नगर्ने हरिभक्तको अडानका कारण अजितको शव ७ वर्षदेखि त्रिवि शिक्षण अस्पतालको शवगृहमै अलपत्र छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .