समाज


मुगुमा जातीय र यौन दुर्व्यवहार भोग्नुपरेको अनमी विकको गुनासो (भिडिओ)

मुगुमा जातीय र यौन दुर्व्यवहार भोग्नुपरेको अनमी विकको गुनासो (भिडिओ)

नेपालखबर
पुस ४, २०८० बुधबार २१:३२, काठमाडौँ

केही दिनदेखि सामाजिक सञ्जालमा मुगुको सोरु गाउँपालिका-९ स्थित खनाया स्वास्थ्य चौकीमा कार्यरत अनमी तुलसाकुमारी विकको भिडिओ भाइरल भइरहेको छ। 

जसमा उनले आफू दलित समुदायको भएकै कारण कथित उच्च जातिका कार्यालय प्रमुखदेखि स्थानीयसम्मबाट जातीय अपहेलना र यौन हिंसासमेत भोग्नुपरेको गुनासो गरेकी छन्। 

दाङको तुलसीपुर उपमहानगरपालिका-११ स्थायी घर भएकी २३ वर्षीया विक उक्त स्वास्थ्य चौकीमा खटिएको एक वर्ष भएको छ। यस अवधिमा आफूले थुप्रैपटक जातीय विभेद र यौन हिंसा भोग्नुपरेको उनले उल्लेख गरेकी छन्। भिडिओमा उनले सकेसम्म सहने प्रयास गरेको तर सीमा नाघेपछि बाध्य भएर पीडा पोखेको बताएकी छन्।  

खनाया स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमार शाहीको घरमा डेरा लिएर बसेकामा आफ्नो जात खुलेपछि शाहीको परिवारले ११ महिनापछि कोठा खाली गराउन दबाब दिएको दाबी अनमी विकले गरेकी छन्। 

त्यसपछि स्वास्थ्य चौकीकै क्वार्टरमा बस्न खोज्दा पनि तत्कालीन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लले आफ्नो काज फिर्ता भएर आए त्यहाँबाट पनि निकालिदिने धम्की दिएको आरोप उनले लगाएकी छन्।

यसरी कार्यालय प्रमुख तथा स्थानीय सबैबाट बस्नै नसक्ने व्यवहार भएपपछि आफूले आफ्नो परिवारमा यो कुरा सुनाउँदा घटना सार्वजनिक भएको विकले बताएकी छन्। 

भिडिओमा उनले स्थानीय व्यक्ति हाकिम भयो भन्दैमा उसले भनेका सबै कुरा मैले मान्नुपर्छ र भन्ने आक्रोश पनि व्यक्त गरेकी छन्। 

आफूलाई स्थानीय युवाबाट गलत आशयबाट बारम्बार फोन आउने गरेको र त्यसले आफूलाई असुरक्षित महसुस भएको विकले बताएकी छन्। त्यही ठाउँमा गैरदलित युवतीहरू भने निर्धक्क बस्ने वातावरण भएको उनको भनाइ छ। 

भिडिओमा उनले भनेकी छन्, ‘महिनावारी भएको समयमा त्यहाँका सबै युवतीहरू ७/८ दिनसम्म झ्याल/ढोका नभएको घरमा सुत्छन्, तिनीहरूलाई केही पनि नहुने तर, म त्यहाँको लोकल नभएर हो या म दलित भएर हो, मलाईचाहिँ त्यसरी टर्चर हुने के कारण हो?’

एकपटक स्थानीय एक जनाको बर्थडे पार्टीमा सहभागी हुँदा पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मल्लले चिसो पेय पदार्थमा झुक्याएर मदिरा मिसाई खुवाएको र त्यसैका आधारमा भिडिओ बनाएर आफ्नो बदनाम गराएको आरोप पनि अनमी विकले लगाएकी छन्। 

हाल उनी प्रहरीको संरक्षणमा रहेको बताइएको छ। 

सुनौँ उनको भनाइ भिडिओमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .