नौ वर्ष भयो शोभा गहतराजका आँखा ओभाउन पाएका छैनन्। श्रीमानको सम्झनामा गाँठो परिरहन्छ उनको छाती। आमाको आँखाको आँसुले सबैभन्दा धेरै पिरोल्छ उनका १२ वर्षीया छोरा सुबोधलाई।
सुबोधलाई थाहा छ, अब आमाको साहारा म मात्रै हुँ। आमाको रोदन र पीडा हेर्दै हुर्किएका सुबोधले सानै उमेरमा महसुस गरेका छन्, आमाको आँखाको आँसु उनैले पुछ्नु पर्छ। तर आमालाई के भनेर सम्झाउने, उनीसँग शब्द छैन।
आइतबार मध्याह्न आमासँगै न्यायको दौडमा भेटिएका सुबोधले भक्कानिँदै भने, ‘नरुनु आमा, हामीले न्याय पाउँछौँ भन्ने त होला!’
त्यसपछि उनी बोल्न सकेनन्, केवल रोइरहे। शोभाका आँखा पनि थामिएनन्।
उनका श्रीमान् थमन विक मधेश आन्दोलनका क्रममा मारिए। सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन सीमा सुरक्षा कार्यालय जलेश्वरमा कार्यरत थिए। २०७२ साल भदौ ७ मा टीकापुर हत्याकाण्ड भयो। दूधे बालकसहित प्रहरीहरु मारिए। मधेश आन्दोलन मत्थर भएको थिएन। टीकापुर हत्याकाण्डपछि शोभाका आँखामा निद्रा आउन छाडेको थियो। आफ्ना श्रीमानको पनि कतै त्यही हविगत हुने त होइन भन्ने त्रासले सताउँथ्यो। तीन वर्षे छोरो च्यापेर शोभा रात कटाउँथिन्।
मनको डर कसैलाई देखाउन सक्दिनथिन्। श्रीमानको फोन आउँदा भन्थिन्, ‘आफ्नो ख्याल गर्नु है।’
थमन सान्त्वना दिन्थे, ‘तिमी यसै पीर नगर, मलाई केही हुँदैन।’
शोभाले श्रीमानसँग ६ वर्ष मात्रै सँगै हिँड्न पाइन्। थमन अभाव टार्न आमाले गरेको संघर्ष, बुबाले बगाएको पसिनाको कुरा श्रीमतीलाई सुनाइरहन्थे। ‘प्रहरीमा भर्ती हुनुमा उहाँका थुप्रै सपना थिएन होलान्। मुख्य सपना त आमालाई सुख दिने थियो। आज आमा मेरो छोराले कम्तीमा न्याय पाइदिए म ढुक्कले मर्ने थिएँ भनेर रुनुहुन्छ। मैले पनि आमासँगै रुनबाहेक केही सकिनँ,’ बोल्दाबोल्दै शोभाका गला अवरुद्ध भए।
तीज आउन लागेको थियो। घरभरि पाहुना। शोभाले ड्युटीमा रहेका श्रीमानसँग राम्ररी कुरा गर्न पाएकै थिइनन्। भदौ २४ गते साँझ शोभा र थमनले सामान्य कुराकानी गरे।
उनले भनेका थिए, ‘म ठिक छु है। तिमीले केही पीरचिन्ता लिनु पर्दैन।’
शोभाको कानमा आज पनि श्रीमानको त्यही बोली गुञ्जिरहन्छ। श्रीमानसँगको अन्तिम संवाद त्यही थियो। ५ दिनपछि तीज थियो। शोभा श्रीमानको दीर्घायुको कामनासहित व्रत बस्ने तयारीमा थिइन्। दरको सामान किन्न बजार पुगेकी उनी दिनभर व्यस्त रहिन्।
साँझपख रेडियोले खबर फुक्यो, ‘मधेश आन्दोलनका क्रममा सीमा सुरक्षा कार्यालय जलेश्वरमा कार्यरत सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको मृत्यु।’
त्यसपछि के भयो शोभालाई थाहा छैन। उनले अर्धचेत अवस्थामै श्रीमानको काजकिरिया गरिन्।
छोराको मृत्युपछि शोभाकी सासू पनि विक्षिप्त बनिन्। उनले श्रीमान् गुमाएको केही वर्षमै छोरो गुमाएकी थिइन्। थमनको मृत्युको ४५ दिनपछि उनको हत्याका दोषिविरुद्ध कारबाहीको माग गर्दै उजुरी दिनु पर्ने खबर आयो। शोभा उजुरी दिन जान सक्ने अवस्थामा थिइनन्। उनका जेठाजुले उजुरी दिए।
शोभाको परिवारले दिएको उजुरीमा लक्ष्मी महतो कोइरीको नाम हत्याको मुख्य योजनाकारका रुपमा उल्लेख गरियो। त्यसबेला मधेशी जनअधिकार फोरमबाट राजनीति गरिरहेका कोइरीकै नेतृत्वमा महोत्तरीमा आन्दोलन भएको थियो। कोइरीकै नेतृत्वका आन्दोलनकारीले विकलाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको मुद्दामा उल्लेख छ।
यही मुद्दामा पक्राउ परेका कोइरीलाई जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ गते १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो। त्यसपछि शोभाका परिवार जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदनमा गएपछि जनकपुर उच्च अदालतले ०७७ मंसिर १९ गते थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दियो। शोभाले थोरै न्यायको अनुभूति गरिन्। तर, कोइरी समातिएनन्।
‘प्रहरीको फरार सूचीमा रहेका उनी समातिएलान् र न्यायको प्रत्याभूति गर्न पाइएला भन्ने आश मनमा थियो। त्यो पनि उनलाई संसदमा देखेपछि सकियो,’ शोभाले एकै सासमा भनिन्।
हिजोआज त धेरै बोल्नु पनि हुँदैन, आँखा कतिखेर भरिएर पोखिन्छन् उनैलाई थाहा हुँदैन। हत्या अभियोगमा फरार सूचीमा रहेका कोइरी त्यही अवस्थामा कसरी उम्मेदवार बने र निर्वाचित भए, फेरि कसरी संसद् भवन प्रवेश गरे भन्ने प्रश्नले शोभाको मन चिमोटिरहन्छ। तर, उनको यो प्रश्नको जवाफ कसले दिने? दिनुपर्ने सरकारले हो तर शोभालाई सरकारको भर लाग्न छोडिसक्यो।
‘झडपमा घाइते भएका मेरा श्रीमानलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाटै थुतेर धानखेतमा लखेटीलखेटी मारियो। सरकारले खटाएको ड्युटीको समयमा मारिएका मेरा श्रीमानका हत्यारालाई संरक्षण गरेर बसेको सरकारलाई म के प्रश्न गरौं?’ उनी भन्छिन्, ‘यदि सरकार थियो भने यतिबेला मेरो घाउमा खाटा बस्न पाउनु पथ्र्यो। तर सरकार त मेरो घाउमा खाटा लागोस् अनि त्यही खाटा उप्काएर दुखाइदिनु पर्छ भनेर कुरिबसेको छ। अदालतको पेसी धाउँदाधाउँदा म पटकपटक मरिरहेकी छु।’
शोभासँगै काठमाडौँ आएकी उनी जेठानी छेउमा बसिरहेकी थिइन्। उनले पनि शोभाको अवस्था देखेर आफूलाई सम्हाल्न सकिनन्।
भनिन्, ‘एउटा गरिब परिवारको छोरो किन मारियो? ठिक छ, मारिएको हाम्रो मान्छे फर्काइदेऊ भनेको छैन, कम्तीमा बीभत्स तरिकाले हाम्रो मान्छेको हत्या गर्ने दोषीलाई कारबाही गर भन्दा पनि किन हाम्रो बेवास्ता गरिन्छ? के यो देशमा कुनै राजनीतिक पावर नहुने हामीले चाहिँ न्याय नपाएरै मर्नु पर्ने हो?’
श्रीमानको मृत्युपछि शोभाको मन कहिल्यै थिर भएन। २८ वर्षमा विधवा भएकी उनले मन बुझाउन सकिनन्। श्रीमान सम्झियो आँसु बगायो, घटना सम्झियो अचेत भयो, उनको नियति बन्यो। कयौं पटक मर्न मन लाग्थ्यो। हुर्कंदै गरेको छोराको अनुहार सम्झिएर मृत्युको बाटोबाट आफूलाई फर्काउँथिन्। मानसिक रुपमा विक्षिप्त बनेकी उनको उपचार गरियो। अहिले पनि उनी औषधि खान्छिन्।
भन्छिन्, ‘औषधि नखाएको दिन म आत्तिन्छु। छोरा छ भन्ने पनि बिर्सन्छु कि खै के हुन्छ, संसार अँध्यारो लाग्छ। चक्कर आउँछ। बेहोस हुन्छु।’
आफन्तले एकदिन न्याय पाइन्छ हरेस नखाऊ भने। शोभालाई पनि न्याय पाइएला भन्ने लाग्यो। श्रीमानको हत्या भएको ९ वर्षसम्म आम नागरिकले पनि न्याय पाउँछन् भन्ने भ्रममा शोभाले न्यायालयको चक्कर काटिन्।
‘अदालत गयो। बयान दियो, फर्कियो। स्मृतिमा हराउन लागेका सम्झना ताजा भएर आउँछन्। दैनिकी बिथोलिन्छ। मन कमजोर हुन्छ। मेरो मनको अवस्था यो देशको सरकारले कहिले महसुस गरेन,’ शोभा भन्छिन्, ‘मैले त श्रीमानको मृत्युको शोक पनि राम्रोसँग मनाउन पाइनँ। मेरा श्रीमानका हत्यारालाई सजाय देऊ भनेर चिच्याउनु पर्यो।’
अब भने सामान्य तरिकाले न्याय पाइने आश उनले मारिसकिन्। न्यायका लागि भएका अनेक संघर्षका कथा हेरेकी, पढेकी शोभा अन्ततः न्यायको भिख माग्न काठमाडौं आइपुगेकी छिन्। १२ वर्षको छोरो अघि लाएर आएकी शोभा न्याय नपाएसम्म गाउँ नफर्किने बताउँछिन्।
‘यतिका वर्ष लुकेर आँसु बगाएँ। श्रीमानको वियोगका आँसु किन अरुलाई देखाउनु भन्ने लाग्थ्यो। अब सबका सामु रुने दिन आयो। यो देशको सरकारले मलाई रमिता बनायो,’ छुट्नुअघि शोभा डाँको छोडेर रोइन्।
उनलाई एकपटक सबै सम्बन्धित निकाय पुग्ने मन छ। ‘किन कारबाही भएन मेरा श्रीमानका हत्यारालाई’ भनेर प्रश्न गर्न मन छ। गृहमन्त्रीलाई भेट्न मन छ। तर, कसको साथ लागेर कहाँ धाउने उनलाई थाहा छैन।
भन्छिन्, ‘म कुनै पार्टीमा छैन। मलाई न्याय देऊ भनेर मात्रै यो सरकारले मलाई न्याय दिँदैन भन्ने यो ९ वर्षमा मैले महसुस गरिसके। तर, न्याय नपाउँदासम्म घर फर्किन बाटो पनि छैन। छोराको न्याय पर्खिएर बसेकी ७५ वर्षीय आमालाई मैले के जवाफ दिनु? मलाई यो राज्यबाट अरु केही चाहिएको छैन। मलाई जसरी भए पनि न्याय चाहियो।’
शोभा काठमाडौंसँग त्यति परिचित छैनन्। यहाँ धेरैदिन बसेर न्यायका लागि कराउने पनि उनको अवस्था छैन। न उनलाई स्वास्थ्यले साथ दिएको छ न आर्थिक अवस्थाले।
‘अन्यायमा परेको यो नागरिकले मलाई न्याय देऊ भनेर चिच्याउन ऋण काढेर हिँड्नु पर्ने यो देश कसको हो?’ शोभा प्रश्न गर्छिन्।
उनको सरकारसँग एउटै आग्रह छ।
‘यो सरकारले कि तिमीहरुजस्तो भुइँमान्छेले न्याय पाउँदैनस् भनिदेओस्, नत्र काख रित्तो पारेर छोराको न्याय कुरिरहेकी मेरी सासूलाई न्याय देओस्’ शोभा प्रश्न गर्छिन्, ‘शोक बोकेर सडकमा आउनु पर्ने मुद्दा हो र यो?’
प्रतिक्रिया