ad ad

समाज


उत्तर प्रदेशको न्यून चापीय क्षेत्र र पश्चिमी वायुले मौसम बदली, केही ठाउँमा वर्षा

उत्तर प्रदेशको न्यून चापीय क्षेत्र र पश्चिमी वायुले मौसम बदली, केही ठाउँमा वर्षा

फाइल तस्बिर


नेपालखबर
मंसिर १८, २०८० सोमबार ६:३०, काठमाडौँ

भारत उत्तर प्रदेशको न्युन चापीय क्षेत्र र पश्चिमी वायुको कारण  नेपालको मौसम बदली भएको छ।

हाल देशमा भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार यतिबेला बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी भू(भागमा सामान्य बदलीको अवस्था छ। 

देशका बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको उनले जानकारी दिइन्। 

‘लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा अहिले छिटपुट देखि हल्का वर्षासमेत भइरहेको छ,’ उनले नेपालखबरसँग भनिन्, ‘सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको छ।’

महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। 

त्यसैगरी लुम्बिनी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना छ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी लगायत कर्णाली प्रदेशको पहाडी भू-भागमा सामान्य बदली हुने छ। 

कतिपय क्षेत्रमा वर्षा, हिमपातसँगै देशभरिको तापक्रम घटेर हुन सक्ने असरबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन महाशाखाले सम्बन्धित सबैलाई आग्रह गरेको छ।

मौसमविद् मानन्धरका अनुसार यतिबेला काठमाडौँ उपत्यकाको मौसम पनि बदली छ। ‘आज हिजोको जस्तो दिनभरी काठमाडौँ उपत्यकामा टन्टलापुर घाम लाग्ने सम्भावना छैन,’ मानन्धले भनिन्, ‘आज काठमाडौँमा घाम बादल भइरहन्छ।’

आज बिहान ६ बजे काठमाडौँ उपत्काकाको तापक्रम ७ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ। हिजो काठमाडौँको न्युनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो। 

आज दिउँसोको अधिकमत तापक्रम १८ देखि २० डिग्री सेल्सियस पुग्ने अनुमान मौसम पूर्वानुमानमा महाशाखाले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .