ad ad

समाज


वीर अस्पतालबाट सरुवापछि स्वास्थ्यमन्त्रीलाई ठाडै चुनौती दिने डाक्टर को हुन्?

वीर अस्पतालबाट सरुवापछि स्वास्थ्यमन्त्रीलाई ठाडै चुनौती दिने डाक्टर को हुन्?

नेपालखबर
मंसिर १६, २०८० शनिबार २१:१३, काठमाडौँ

नेपाल सरकार स्वास्थ्य मन्त्रालय मातहतका एक चिकित्सक यतिखेर आफ्ना विभागीय मन्त्रीका क्रियाकलापलाई लिएर सामाजिक सञ्जालमा आक्रोश पोखेका कारण चर्चामा छन्। आफूलाई वीर अस्पतालको निर्देशकको जिम्मेवारीबाट हटाउने स्वास्थ्य मन्त्रालयको निर्णयलाई उनले राणा शासनभन्दा पनि कडा अधिनायकवादी भनेर टिप्पणी गरेका छन्।

उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘अधिनायक तत्कालीन राजा ज्ञानेन्द्र शाहले शेरबहादुर देउवालाई प्रमबाट हटाउँटा ‘निर्वाचन गराउन नसकेको, अक्षम’ भन्ने आरोप लगाएर हटाएको इतिहास छ। दुई वर्षको अवधि तोकी नियुक्ति पाएको मलाई त राजनीतिक आस्थाका आधारमा निर्देशकबाट हटाएको मात्र हैन, हाडजोर्नीको विशेषज्ञ सर्जनलाई मन्त्रालयमा तानियो! यो राणा शासनभन्दा कडा अधिनयकवाद हो।’

अगाडि उनले थपेका छन्, ‘विधिको शासनको रट लगाएर नथाक्ने नेपाली कांग्रेसका मन्त्रीको यो हर्कतबाट लोकतन्त्र लजाएको छ।’

भएको के हो?
स्वास्थ्यमन्त्रीमा अहिले कांग्रेसका मोहनबहादुर बस्नेत छन्। उनले वीर अस्पतालको निर्देशकबाट डा सन्तोष पौडेललाई हटाउनुको कारण सार्वजनिक गरेका छैनन्।

मंसिर १४ गते मन्त्रालयले कर्मचारी प्रशासन शाखाका उपसचिव कृष्ण थापाको हस्ताक्षरमा एउटा पत्र पठाएको छ र त्यसमा लेखिएको छ, ‘तपाईँ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालको निर्देशकको जिम्मेवारीमा रहनुभएकोमा अर्को निर्णय नभएसम्म निर्देशकको पदीय जिम्मेवारीमा नरहने गरी मिति २०८०।०८।१५ गतेदेखि यस मन्त्रालयमा हाजिर गर्न आउनुहुन यस मन्त्रालय (मा मन्त्रीस्तर) को मिति २०८०।०८।१४ को निर्णयानुसार अनुरोध छ।’

यस पत्रले डा पौडेललाई जिम्मेवारीबाट हटाउनुको कारण के हो भन्ने खुल्दैन। पत्रमा कुनै आधार र कारण त खोलिएको छैन नै, उनको कार्यक्षमता, योग्यता वा इमानमा प्रश्न पनि गरिएको छैन। उनलाई स्पष्टीकरणको मौकासमेत दिनु मन्त्रीले आवश्यक ठानेका छैनन्।

गत वर्षको फागुनमा मात्र डा पौडेलले यो जिम्मेवारी पाएका थिए। अर्थात् उनले पदीय जिम्मेवारी सम्हालेको एक वर्ष पनि पुगेको छैन। उनलाई हटाउन मन्त्रालयलाई कतिसम्म हतार भएको देखियो भने मन्त्रालयले चिठी काटेकै दिन वीर अस्पताल छाड्नुपर्ने र त्यसको भोलिपल्ट मन्त्रालयमा हाजिर हुनुपर्ने बेहोराको उर्दी पत्रकामा देखिन्छ। अस्पतालजस्तो संवेदनशील संस्थाको नेतृत्वमा रहेको पदाधिकारीलाई आफ्नो जिम्मेवारी हस्तान्तरण र बरबुझारथका लागि समेत समय दिइएको छैन।

दशौं तहका अर्थोपेडिक सर्जन डा पौडेलले यसअघि ट्रमा सेन्टरको नेतृत्व सम्हालिसकेका हुन्।

पौडेल पक्षधरका भनाइमा, वीर अस्पतालमा डा। सन्तोष पौडेलको नेतृत्वमा सेवाग्राहीको पक्षमा केही सुधारात्मक काम भएका हुँदै थिए। जस्तो कि वीर अस्पतालमा टिकट बिहान ७ बजेबाट खुलाइएको थियो भने अस्पताल ८ बजेदेखि चलाउन थालिएको थियो। वीरमा संघन उपचार कक्ष थपिएको थियो। वेलनेस क्लिनिक र सबै अपरेसन थिएटर सञ्चालनमा ल्याएर पनि उनले केही सुधारको संकेत गरेका थिए।

स्वास्थ्य बीमा काउन्टर १ बाट ८ बनाइएको,सामाजिक सेवा एकाइलाई भुईँ तल्लामा लगेर सर्वसाधारणको सहज पहुँचमा लैजाने काम गरेको भनेर पनि उनका निकटस्थहरू सम्झिन्छन्।

ह्विल चियर तथा ट्रली गेटमा नै उपलब्ध गराउन थालिएको थियो। पुराना फार्मेसीका भग्नावशेष हटाएर अस्पतालको वातावरण सफा बनाएको, बिरामी तथा कुरुवाको लागि अस्पताल प्रांगणमा छानासहितको बेन्च राखेको, बर्न सेन्टर सञ्चालनमा ल्याउन प्रयासरत रहेक‍ो, वर्षौँ पुराना सामान लिलाम प्रक्रियामा अगाडि बढाइएको भनेर पनि उनका सहकर्मी सम्झिन्छन्।

यस्तै सर्जिकल भवन र ओपीडी भवनको तलापिच्छे क्यास काउन्टर थप गरिएको, कुन सेवा कहाँ छ भनेर सेवाग्राहीले बुझिने गरी लेखाउने काम भएको, सबै शौचालय तथा स्नानगृह सर्वबसाधारणको लागि खुल्ला गरिएको, कर्मचारीका लागि विद्युतीय हाजिरी राख्ने प्रक्रिया अघि बढाएको र सबै कर्मचारीलाई निःशुल्क स्वास्थ्य बिमा गरिएको पौडेल पक्षधरको दाबी छ।

खेल कसको ?

पौडेल वीरमा आउँदा डा भुपेन्द्र बस्नेतको जिम्मेवारी खोसिएको थियो। यसअघि कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को निमित्त कार्यकारी अधिकारीको रुपमा बस्नेत कार्यरत थिए। डा पौडेलले जिम्मेवारी पाएपछि बस्नेतको जिम्मेवारी खोसिएको थियो। वीरमा वामपन्थी धारका पौडेलको आगमन कांग्रेसनिकट बस्नेतका लागि सह्य भएन। त्यसैले आफू हटेको पहिलो दिनदेखि नै बस्नेत पौडेललाई हटाउन लागिपरेका थिए।

मोहनबहादुर बस्नेत स्वास्थ्यमन्त्री भएर आएपछि डा भुपेन्द्र बस्नेत र वीर अस्पतालको उनी पक्षधर सञ्जालले पौडेलका विरुद्धमा सहज रूपमा लबिङ गर्न पायो। परिणामतः बरबुझारथ र बाटाको म्यादसमेत नदिएर पौडेललाई मन्त्रालय तानियो। यसका पछाडि अरु केके खेल छन् भन्ने आगामी दिनमा बिस्तारै सार्वजनिक हुँदै जाला।

तत्काल भन्न सकिने कुराचाहिँ के हो भने पौडेलले मन्त्री बस्नेतलाई रिझाउन सकेनन्। वीर अस्पतालको एउटा क्रोनिक स्थायी सत्ताले पौडेलविरुद्ध चलाएको अभियान सफल भयो। वीरका धेरै कर्मचारीहरूको भनाइ यही छ।

तर, पौडेलले मन्त्री बस्नेतमाथि सिधा औँलो ठड्याउने साहस जसरी देखाएका छन्, त्यसले यो प्रकरण यत्तिकै सेलाइहाल्ने देखिँदैन। अझ प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष पुगेपछि मन्त्रिपरिषद्को सेट नै परिवर्तनको तयारी गरेपछि दिनगन्तीमा पुगिसकेका मन्त्रीले स्वास्थ्य संस्थाको उच्च तहमा पजनी गर्न खोज्नु झनै अस्वाभाविक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .