ad ad

समाज


काठमाडौँका सीडीओ भन्छन्– प्रसाईंलाई नजरबन्द गरेका छैनौँ, गैरकानुनी हर्कत चल्दैन

काठमाडौँका सीडीओ भन्छन्– प्रसाईंलाई नजरबन्द गरेका छैनौँ, गैरकानुनी हर्कत चल्दैन

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत


नेपालखबर
मंसिर ८, २०८० शुक्रबार १६:२४, काठमाडौँ

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नजरबन्द नगरिएको दाबी गरेका छन्। 

शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी बोलाएको सुरक्षा निकायको बैठकपछि उनले सो कुरा बताएका हुन्। 

‘उहाँहरूले कार्यक्रमलाई शान्तिपूर्ण बनाउनुपर्ने ठाउँमा हिजो बेलुका कानूनलाई चुनौती दिने र गैरकानुनी हर्कत गर्ने काम गर्नुभयो। यस्ता गैरकानूनी हर्कत काठमाडौंमा चल्दैन। उहाँलाई हामीले नजरबन्दमा राखेको छैन। उहाँ काठमाडौं छिरेदेखि सुरक्षा प्रबन्ध गर्दै आएका छौँ,’ उनले भने।

साथै, उनले जारी विरोध प्रदर्शनलाई सुरक्षित र व्यवस्थित बनाउन उपत्यकामा सुरक्षा व्यवस्था मजबुत बनाएको बताए।

‘हिजोदेखि दुई वटा पक्षको काठमाडौँमा कार्यक्रम थियो। आज एउटा पक्षले त्यो कार्यक्रमलाई निरन्तर रुपमा अनिश्चित कालसम्म गर्ने भनेर अघि बढाइरहेको छ। त्यो सन्दर्भमा काठमाडौँको सुरक्षा चुनौती विश्लेषण गर्ने र यथोचित सुरक्षा प्रबन्ध मिलाउने सन्दर्भमा हामी बसिरहेका छौँ,’ उनले भने।

बैठकमा काठमाडौँको सुरक्षा चुनौती विश्लेषण गरिएको र यथोचित सुरक्षा प्रवन्ध मिलाउने बारेमा सम्बन्धित निकायहरूसँग छलफल गरेको पनि उनले बताए।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नामक समूहले काठमाडौँमा कार्यक्रम गर्ने भन्ने सन्दर्भमा स्थानीय प्रशासनसँग कुनैपनि अनुमति नलिकन आज तीनकुनेमा कार्यक्रम गर्ने र त्यहाँ भेला भइ निषेधित क्षेत्र तोड्ने, सार्वजनिक सम्पतीमाथि क्षति पुर्‍याउने, विशिष्ट पदाधिकारीको निवासमा घेराउ गर्ने, उहाँहरुमाथि आक्रमण गर्ने भन्ने अराजक शैलीको कार्यक्रम सार्वजनिक गरेकाले सो कार्यक्रमको सन्दर्भमा तीनकुने क्षेत्रमा अनुमति नलिकन पाइँदैन भनेका थियौँ, बल्खुमा गर्नु भन्दा उहाँहरू आजसम्म अनुमति लिन आउनुभएको छैन,’ उनले भने।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले तीनकुनेमा कार्यक्रम गर्न अनुमति नलिएको र निषेधित क्षेत्र तोड्ने, सार्वजनिक सम्पतीमाथि क्षति पुर्‍याउने, विशिष्ट पदाधिकारीको निवासमा घेराउ गर्ने उनीहरुमाथि आक्रमण गर्ने कार्यक्रम सार्वजनिक गरेकाले तीनकुने क्षेत्रमा कार्यक्रम गर्न नदिइएको स्पष्ट पारे।

‘काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाएका छौँ। काठमाडौँ उपत्यकाका तीन जिल्लाकै सुरक्षा व्यवस्था कडा छ। संविधानमा प्रदत्त नागरिकको अभिव्यक्ति, स्वतन्त्रता हक र बिना हातहतियार भेला जम्मा भइ शान्तिपूर्ण रुपमा कार्यक्रम गर्न पाउने हकको सम्मान गर्दै यस्ता अराजक भीड जसले कानून हातमा लिन खोजेको छ, त्यस्ता समूह र व्यक्तिलाई चेतावनी स्वरुप अनुमति बिना कार्यक्रम गर्न पाइँदैन भनेका छौँ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .