ad ad

समाज


पहरामा सेनाको विपत् उद्धार अभ्यास

पहरामा सेनाको विपत् उद्धार अभ्यास

शुरबहादुर सिंह
माघ १६, २०७६ बिहिबार ११:२४,

‘पुल भाँच्चियो, पुल भाँच्चियो। नदीमा मान्छे खस्यो, लौन गुहार, गुहार’ एक्कासी कतैबाट यस्तो आवाज आयो। आवाज सुन्नेबित्तिकै नेपाली सेनाको टोली त्यहाँ आइपुग्यो। खसेको मान्छे नदीको बीचमा रहेको ढुंगाको सहारा लिएर तलबाट शीघ्र सहयोग याचना गरिरहेको हुन्छ।

सेनाका उद्वारकर्मीले झोलाबाट डोरी निकालेर जोखिम डोरीमार्फत विपतमा परेको मान्छेलाई उद्धार गर्छ। त्यस्तै शैलीमा पहिरो गयो, मान्छे फस्यो, मान्छे फस्यो भन्ने अर्को रोदनयुक्त आवाज आउँछ। पुनः नेपाली सेना हतपत गर्दै पहरामा डोरीमा झरेर भिरमा अड्केको मान्छेलाई उद्धार गर्छ।

त्यसरी विपत्मा परेको मान्छेलाई उद्धार गर्ने २४ नं बाहिनी अड्डा जुम्लाका बाहिनीपति दीपक बानियाँ नेतृत्वको नेपाली सेनाको टोली थियो। यो दृश्य देखेर तिला गाउँपालिका–१ जुम्ला सेरीगाउँका स्थानीय हस्याङ्फस्याङ गर्दै जम्मा भए। यो कहाँ, के, कहिले, कसरी भयो भनेर उनीहरु एकापसमा मुखामुख गर्दै थिए।

निकै वास्तविक लाग्ने यो दृश्य वास्तविक नभई नेपाली सेनाले गत साता देखाएको विपत् उद्धारको स्थलगत नमूना र काल्पनिक अभ्यास थियो। पछि उक्त भीडलाई बाहिनीपति बानियाँले यो आजको घटना वास्तविक नभई मानवको वास्तविक जीवनमा आइपर्ने घटनामा उद्धार कसरी गर्ने अभ्यास सिकाउन गरिएको नमूना प्रदर्शनी भएको प्रष्ट्याए।

पछिल्लो समयमा नेपाली सेनाले गरेको विपत् जोखिममा सञ्चालन गर्ने गतिविधिलाई चार दिनको प्याकेज बनाएर कर्णालीका पाँचै जिल्लाका स्थानीय तहमा वृत्तचित्र, भिडियो र अन्य प्रयोगात्मक अभ्यासबाट जनचेतना जगाउने कार्य तीव्र बनाएको बाहिनीपति बानियाँले बताए। ‘हामी प्रत्येक महिनामा एक स्थानीय तहमा गएर विपत् प्रतिकार्यका गतिविधि, सो अवस्थामा कसरी उद्धार गर्ने भन्ने विषयमा स्थानीयवासीलाई जानकारी गराउँदै आएका छौँ’, उनले भने।

केन्द्रीय विपत् व्यवस्थापन समितिले मुलुकभरि सञ्चालन गरेको विपत् प्रतिकार्यसम्बन्धीका गतिविधिअनुसार कर्णालीका डोल्पा, हुम्ला, मुगु, कालीकोट र जुम्लामा अभ्यास सञ्चालन गरिएको उनको भनाइ थियो। उनका अनुसार अभ्यासमार्फत स्थानीयस्तरमा उपलब्ध स्रोत साधन र जनशक्ति परिचालन कसरी गर्ने भन्नेसम्बन्धी पनि सन्देश प्रवाह गरिएको छ।

विभिन्न स्थानीय तहका गाउँमै पुगेर नागरिकलाई यस्तैखाले विपत् प्रतिकार्यको अभ्यास देखाउँदा यसले स्थानीयवासीलाई सचेतीकरण गराएको तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढाले बताए। भूकम्प जाँदा, पहिरो खस्दा, बाढी आउँदा, भिरबाट झर्दा, पुल भाँच्चिदा, आगलागी हुँदा, घर भत्कनेजस्ता प्राकृतिक तथा मानवीय विपत्को प्रतिकार्य, उद्धार एवं समस्याको सामना कसरी गर्ने भन्ने विषयमा पनि सेनाले स्थानीयवासीलाई पर्याप्त शिक्षा दिँदै आएको छ।

चौबीस नं बाहिनी अड्डा जुम्लाले जुम्लाको तिला गाउँपालिकाको रारालिहीस्थित तिलानदी र त्यसको आडमा रहेको भिरमा गरेको विपत् उद्धारको अभ्यास स्थानीयवासीका लागि निकै प्रेरणादायी भएको स्थानीयवासीले बताएका छन्। स्थानीय जङ्गबहादुर बस्नेतले यो अभ्यास वास्तविक जीवनमा आइपर्ने जोखिम कम गर्न सिकाइएको उपाय भएको टिप्पणी गरे।

‘यसबाट हामीले विपत् प्रतिकार्यको पूर्वतयारी, अपनाउनुपर्ने उपाय, विपत्को अवस्थामा उद्धार गर्नेबारे राम्रोसँग बुझ्ने मौका पायौँ’, बस्नेतले भने। सेनाको अभ्यासले विपत्मा उद्धार मात्र नभई प्रतिकार्यका काम कसरी गर्ने भन्ने कुरा हामी आफैँले गर्न सक्दा रहेछौँ भन्ने ज्ञान सजिलै लिन सकिएको उनको भनाइ थियो।

चौबीस नं बाहिनी जुम्लाका बाहिनीपति बानियाँसहितको उच्चस्तरको नेपाली सेनाको टोली र गाउँपालिकाको समन्वयमा प्रत्येक महिनामा अभ्यास गरिँदै आएको छ। उक्त अड्डाले मुगुका साथै जुम्लाका सिञ्जा, तिला र पातारासी गाउँपालिकामा सेनाले विपत् प्रतिकार्य, उद्धारको अभ्यासका गतिविधि सम्पन्न गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .