ad ad

समाज


आज महानवमी : तलेजु मन्दिर सर्वसाधारणका लागि खुला

आज महानवमी : तलेजु मन्दिर सर्वसाधारणका लागि खुला

नेपालखबर
कात्तिक ६, २०८० सोमबार १४:२३, काठमाडौँ

प्रत्येक वर्ष दसैँको महानवमीका अवसरमा मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा सोमबार बिहानैदेखि भक्तजनको भीड लागेको छ।

हनुमान ढोकास्थित तलेजु भवानीको मन्दिर महानवमीका अवसरमा आज सर्वसाधारणका लागि खुला गरिएको हो।

वर्षमा एक पटक महानवमीको दिनमा मात्र सर्वसाधारणका लागि खुला गरिने तलेजु भवानीको मन्दिरमा दर्शनार्थीको भीड छ।

हरेक वर्ष आश्विन शुक्ल नवमीका दिन आम सर्वसाधारणका लागि मन्दिर खुला गरिने परम्पराअनुसार आज सोही अवसरमा मन्दिर खुला गरिएको हो।

तलेजु मन्दिरमा ३६४ दिनमा दैनिक नित्य पूजा हुन्छ र एक दिन सर्वसाधारणको पूजाका लागि खोलिन्छ।

तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूल चोकमा ल्याइएको थियो। भवानीलाई विजयादशमीका दिन बिहान मूल मन्दिरमा फर्काइने प्रचलन छ।

यस अवधिमा भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ। विजयादशमीका दिन समितिले दिएको साइतअनुसार यात्रा गराइन्छ।

महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइने परम्परा छ।

महानवमीमा गरिने दुर्गा पूजा लगायत विधिवत् कार्य गरी घटस्थापनामा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइने परम्परा छ।

दसैँघर र कोत लगायत राज्यका विभिन्न देवीमन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत् एवं देवीसास्त्रोक्त पाठ गरिन्छ।

पशुबलि नदिने र शाकाहारीले भने महानवमीमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवल समेतको बलि दिई पायस चढाउने गर्दछन्।

अधिकांश स्थानमा महाष्टमीमा बलि दिने र महानवमीमा मार हान्ने चलन रहेको छ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ।

कतिपय शक्तिपीठमा भने महानवमीमा हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .