ad ad

समाज


दसैँमा हराउँदै लिंगे पिङको चलन, गाउँका डाँडा र चौतारा सुनसान

दसैँमा हराउँदै लिंगे पिङको चलन, गाउँका डाँडा र चौतारा सुनसान

फाइल तस्बिर


नेपालखबर
कात्तिक ३, २०८० शुक्रबार १०:२, बागलुङ

केही वर्ष अगाडिसम्म दशैँ नजिकिएसँगै गाउँमाथिका डाँडा र चौतारामा थुप्रै लिङ्गे पिङ देखिन्थे। बाँसका बाला र बाबियोको लुठो बाटेर पिङ बनाउने समूह पनि धेरै हुन्थे। पिङमा गाउँका आफन्त, इष्टमित्र र कुटुम्ब जम्मा भएर रमाइले गर्ने प्रचलन थियो। 

वर्षौँदेखि टाढा रहेका आफन्तलाई पिङ भेट गराउने माध्यम बन्थ्यो। दशैँ शुरू भएदेखि तिहार नसकिँदासम्म डाँडा र चौतारामा पिङ हुन्थे। तर अहिले ती डाँडा र चौतारा सुनसान हुन्छन्। 

अचेल गाउँमा पिङ बनाउन छोडेपछि बाँसघारी झाँगिदै छन् भने भीरको बाबियो पनि प्रयोग हुन छोडेको छ। कोही पनि वनमा पुगेर बाबियो ल्याएर डोरी पनि बाट्दैनन्। गाउँमा पिङका लागि लुठो बाट्ने सीप भएका पनि भेटिँदैनन्। दशैँको मौलिकतासँग जोडिएको लिङ्गे पिङबिना दसैँको रौनक कम हुने गरेको स्थानीयको भनाइ छ। 

बडिगाड गाउँपालिका–४ का ६७ वर्षीय रिनबहादुर थापाले युवापुस्ताले आधुनिक कला संस्कृतिलाई अँगाल्न लागेपछि लिङ्गे पिङ बनाउनेप्रति चासो घटेको बताए। वर्षमा एकचोटी धर्ती छाड्नुपर्छ भन्ने जनविश्वास रहे पनि आजभोलि गाउँमा पिङ हाल्न छोडिएको थापाले बताए। 

मेला महोत्सवमा राखिने आधुनिक प्रविधिको पिङ खेल्न पाइने भएपछि परम्परागत लिङ्गे पिङप्रति चासो हराउन थालेको क्षेत्रीले बताउँछन्। पिङसँगै अन्य कला, संस्कृति र परम्परा हराउँदै गएको उनको भनाइ छ। थापाले दशैँ आउनुभन्दा एक साता पहिले नै गाउँमाथिको डाँडामा मान्छेहरू जम्मा भएर बाँसको लिङ्गो गाड्ने र बाबियो काटेर लुठो बाट्ने गरेको स्मरण गर्दै अहिले त्यो परम्परा सङ्कटमा परेको बताए। 

‘हाम्ले पिङ हालेर खेल्ने, रमाइलो गर्ने ती डाँडा र चौतारा अहिले सुनसान छन्। हामीहरू बुढो भयौँ। बाब्बो (बाबियो) को लुठो बाट्न त जानेको छु तर बाँस काटेर ल्याएर पिङ बनाउन सक्दैन। हाम्रा बाउबाजेले वर्षमा एक चोटी धर्ती छाड्नुपर्छ भन्नुहुन्थ्यो। यही मान्यता राखेर दशैँमा पिङ हाल्ने र खेल्ने गरिन्थ्यो, अहिले पिङ पनि हाल्दैनन्, पिङ नखेलेपछि धर्ती छोड्ने कुरै भएन,’ उनले भने, ‘समय र जमाना फेरिएसँगै मान्छेको आनीबानी पनि फेरियो, मेला महोत्सव लाग्यो भने आधुनिक प्रविधिको बिजुलीबाट चल्ने पिङ खेल्ने गर्छन्। लिङ्गे पिङ त देख्न पनि छोडियो, पाँच्छ वर्ष पहिलासम्म त जताततै देख्न पाइन्थ्यो। अहिले कतै बनाउँदैनन्।’

गलकोटन नगरपालिका–३ का ७१ वर्षीय पदमबहादुर केसीले पिङले आफन्त र धेरै समयदेखि छुटेका सङ्गीसाथीसँग भेटाउने र आत्मीयता बनाउने काम गर्ने बताए। दशैँका बेला गाउँमा वर्षौँदेखि छुटेका आफन्तको भेट हुने, सुख, दुःख र बेदनाका कुरा गर्ने अवसर पिङले जुराउने उहाँको भनाइ छ। पिङ बनाउँदा बाबियो गाँसेर बलियो लुठो बनाए जसरी सम्बन्ध पनि त्यसरीनै बलियो बन्ने मान्यता रहेको केसी बताउँछन्। 

आफ्नो पालामा तन्नेरीले पिङ हालेपछि तरुनीले धजा बन्ने र पछि गएर उनीहरूको विवाहसमेत हुने गरेको सुनाए। पिङमा बाँधेको धजाले सम्बन्धलाई बलियो बनाउने जनविश्वास रहेको भन्दै पिङ हाल्ने र ध्वजा बाँध्ने प्रचलन चल्दै आएको उनको भनाइ छ। 

‘दशैँ आयो, तर पिङबिनाको दशैँ त त्यति रमाइलो लाग्दैन, पहिले एउटै गाउँमा पाँच–छ वटा पिङ बनाउँथे, अहिले एउटा पनि बनाउँदैनन्’, उनले भने।

केसीले पछिल्लो समय निर्माण भएका सडकले पहिले पिङ हाल्ने चौतारा र डाँडा भत्काएर कुरूप बनाएको बताए। अहिले सहज बजारमा बनेका आधुनिक पिङको विकासले परम्परागत पिङ ओझेलमा परेको उनको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .