ad ad

समाज


मुलुकको समृद्धि र सुशासनका लागि आन्तरिक सुरक्षा सुदृढ हुन जरूरी : गृहमन्त्री श्रेष्ठ

मुलुकको समृद्धि र सुशासनका लागि आन्तरिक सुरक्षा सुदृढ हुन जरूरी : गृहमन्त्री श्रेष्ठ

नेपालखबर
असोज २९, २०८० सोमबार १२:५४, काठमाडौँ

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको समृद्धि, समुन्नति र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनु अत्यन्त जरूरी रहेको बताएका छन्।

६८औं प्रहरी दिवसको अवसरमा सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा बोल्दै मुलुकको आन्तरिक सुरक्षा व्यवस्थाको मियोका रूपमा रहेको नेपाल प्रहरीको भूमिका र कर्तव्यवोधले मात्र समग्र मुलुकको समृद्धि, कानूनी शासन र सुशासनको पूर्ण अनुभूति गर्न सकिने बताए।

गृहमन्त्री श्रेष्ठले नेपाल प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका परिवारहरुलाई कदरपत्र प्रदान गरे।

उनले प्रहरी दिवस २०८० स्मारिका र नेपाल प्रहरीलाई निशुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरूको नामावली तथा अमर प्रहरीसँग सम्बन्धित स्थापना भएका अक्षयकोषहरूको विवरण पुस्तिका लोकार्पण पनि गरेका छन्।

समारोहलाई सम्बोधनको क्रममा गृहमन्त्री श्रेष्ठले नागरिकको सुरक्षा सुनिश्चित गर्न चाडपर्व लगायत आफ्नो व्यक्तिगत र पारिवारिक दायित्वलाई थाँती राखी देश र जनताको सुरक्षामा तैनाथ प्रहरी कर्मचारीहरुको समर्पणभाव हरेक पुस्ता र पिंढीका लागि प्रेरणाको श्रोतको रूपमा रहने बताए।

साधन स्रोतको अभावमा पनि राज्यले सुम्पेको जिम्मेवारीलाई नेपाल प्रहरीले निष्ठापूर्वक तथा प्रविधिसँग प्रभावकारी मिश्रण गरी छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्दै आएको उनले बताए।

आमनागरिक र राज्यले सामना गरेको हरेक विषम परिस्थितिलाई निस्तेज तुल्याउन नेपाल प्रहरीका प्रत्येक सदस्यहरूले पेशागत कर्तव्यपरायणतामा उच्च मनोबलका साथ खटिदै आएको चर्चा पनि गरे।

गृहमन्त्री श्रेष्ठले नविनतम आविष्कार र नयाँ प्रविधिको कारण बढ्दै गएका अपराधका नयाँ शैलीविरूद्ध तदारूकता बढाउँदै वर्तमान र भविष्यमा हुनसक्ने अपराधहरूको रोकथाम तथा सफल अनुसन्धान गर्न सक्ने गरी नेपाल प्रहरी हरदम तयारी रहनुपर्ने उल्लेख गरे।

निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिलाउनुको साथै राज्यमा दण्डहिनताको अन्त्य हुने बताउँदै गृहमन्त्री श्रेष्ठले भने, ‘प्रहरीको अनुसन्धानमा प्रश्न उठाउने आधार छैन र कुनै स्वार्थ तथा शक्तिको प्रभाव वा दबाबमा नपरी निष्पक्ष अनुसन्धान कार्यमा नेपाल प्रहरीले सम्झौता गर्दैन भन्ने मेरो पूर्ण विश्वास रहेको छ।’

समारोहमा विशिष्ट अतिथि पूर्व सभासद एवं अवकास प्राप्त प्रहरी महानिरीक्षक रविन्द्र प्रताप शाह, गृहसचिव दिनेश भट्टराई, अवकास प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरु, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष तथा पदाधिकारीहरू, अमर प्रहरीका परिवारहरु, अन्य विशिष्ट अतिथि महानुभावहरु, वरिष्ठ प्रहरी अधिकृतहरु एवं उपस्थित प्रहरी अधिकृत तथा जवानहरुले समेत अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरे।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नागरिकमैत्री प्रहरीको रूपमा सांगठनिक छवि उजागरमा केन्द्रित रहन नेपाल प्रहरीका सकल दर्जाका प्रहरी अधिकृत तथा जवानहरूलाई नेपाल सरकारको कार्य प्राथमिकतामा अटल र अविचलति रहन निर्देशन दिए।

नागरिकमैत्री प्रहरीका रूपमा पारदर्शी, जबाफदेही, सेवाग्राही र नागरिक स्वीकार्य, मानव अधिकारको संरक्षण र सम्मानको कसीमा प्रहरीका काम कारवाहीहरू उत्कृष्ट हुने प्रतिबद्धता व्यक्त गरे।

प्रहरी महानिरीक्षक कुँवरले प्रहरी कर्मचारीको उत्प्रेरणा तथा मनोबल अभिवृद्धि मार्फत प्रहरी सेवा प्रवाहमा प्रभावकारिता वृद्धि गर्दै आन्तरिक सुदृढीकरण र शुद्धीकरणको
लक्ष्य सहित ‘नेपाल प्रहरी कार्ययोजना,२०८०’ तर्जुमा गरी लक्षित वर्ग केन्द्रित कल्याणकारी योजना विकास गर्ने, प्रहरी कर्मचारीको उत्प्रेरणा तथा मनोबल वृद्धि हुने क्रियाकलाप सञ्चालन गर्ने, नव प्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने लगायतका उच्च प्राथमिकतायुक्त कार्यक्रमहरू कार्यान्वयनको लागि कार्ययोजना अगाडि बढाइएको र उक्त लक्ष्य पूरा गर्न तालुक मन्त्रालय र अन्य सरोकारवाला निकायको साथ र सहयोग आवश्यक रहेको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .