चीनको विशेष प्रशासकीय क्षेत्र मकाउमा रहेका करिब ३५ सय नेपालीका लागि सरकारले एउटा कार्यालय समेत राख्न नसकेपछि राहदानी लगायत आवश्यक कागजात कहिले चौरमा बसेर बनाइन्छ भने कहिले त्यस्ता कागजात व्यक्तिको किराना पसलबाट वितरण गरिन्छ।
नेपाल सरकारबाट श्रम स्वीकृति लिई कामदार भिसामा सन् १९९६ देखि मकाउमा आउन थालेका नेपाली कामदारका निम्ति अहिलेसम्म व्यवस्थित कार्यालय खडा गरी काम गरिएकै छैन। अनुमानित आँकडाअनुसार हाल मकाउमा करिब ३५ सय जना नेपाली कार्यरत रहेको बताइन्छ।
नेपाल सरकारले मकाउलाई चीनको अर्को विशेष प्रशासनिक क्षेत्र हङकङमा रहेको नेपाली महावाणिज्यदूतावास अन्तर्गत हेर्दै आएको छ। त्यसैले मकाउका नेपालीका राहदानी नवीकरण लगायतका सम्पूर्ण काम हङकङबाटै सम्पादन हुँदै आएको छ, जुन प्राविधिक रूपमै झन्झटिलो छ।
सेवाग्रहीका निम्ति मकाउमा पनि प्रशासनिक कार्यालयको माग राख्न थालेको वर्षौं भए पनि अझैसम्म त्यसमाथि सुनुवाइ भएको छैन।महावाणिज्यदूतावासले हङकङबाट मकाउका निम्ति दुई जना कर्मचारी खटाउने गरेको छ। तर, त्यो घुम्ती टोलीको काम पनि विवादरहित हुन सकेको छैन।
गैरआवासीय नेपाली संघ (एनआरएनए) मकाउसँग समन्वय गरी महावाणिज्यदूतावासको घुम्ती टोलीले सन् २०२१ देखि एनआरएनए अध्यक्ष भीमसेन श्रेष्ठ (रुस्टम) को ‘हिमालय ट्रेडर्स’ नामक ग्रोसरी स्टोर (किराना पसल)बाटै सेवा प्रवाह गर्दै आइरहेको छ।
‘हिमालय ट्रेडर्स’मा राहदानीसम्बन्धी काम गर्न आएका सर्वसाधारण
राहदानी फारम भर्ने क्रममा ती कर्मचारी संलग्न रहे पनि राहदानी वितरणमा भने उनीहरूको उपस्थिति बेगर नै किराना पसलका कामदारले वितरण गर्ने गरेको सेवाग्रही बताउँछन्। महावाणिज्यदूतावासको नियम अनुसार पासपोर्टको फारम भर्दा र पासपोर्ट लिन आउँदा नागरिकता, राहदानी र ब्लुकार्ड (वर्क परमिट)को सक्कलै लिएर स्वयं व्यक्ति उपस्थित हुनुपर्दछ।
दूतावासले सक्कल कागजात अनिवार्य ल्याउनुपर्ने भने पनि पसलबाट फारम भर्दा कमिशन लिएर फोटोकपीकै भरमा सबै काम हुने गरेको सेवाग्रहीहरूको आरोप छ।
नाम खुलाउन नचाहने एक सेवाग्राहीले आफूले फोटोकपीकै भरमा पासपोर्ट बनाएको नेपालखबरलाई बताए। माथिल्लो तलामा एनआरएनएको कार्यालय भए पनि अध्यक्ष श्रेष्ठले आफ्नो पसलबाटै राहदानी नवीकरण लगायतका काम गर्दै आएका छन्। यसले राहदानी जस्तो संवेदनशील विषयमा कायम हुनुपर्ने गोपनीयता भंग हुने त्रासमा छन् सेवाग्राही।
‘जुन भवनमा एनआरएनएको कार्यालय छ, त्यसैको भुइँ तलामा मेरो पसल छ,‘ अध्यक्ष श्रेष्ठले भने, ‘माथि एनआरएनएको कार्यालय सानो स्पेसमा छ, बढी भीड भएको अवस्थामा तल पसलबाटै काम हुन्छ।’
किराना पसलबाटै यसरी खुलेआम राहदानीजस्तो संवेदनशील दस्तावेज बाँडिदा पनि हङकङस्थित महावाणिज्यदूत उदय राना मगर बेपर्वाह देखिन्छन्।
‘पहिले–पहिले त चौरमै बसेर काम गर्नुपर्ने बाध्यता थियो। हामीले यसलाई अलिकति व्यवस्थित गर्ने काम गरेका छौँ,’ नेपालखबरले किराना पसलबाटै राहदानी वितरण भइरहेको स्मरण गराउँदा रानाले भने, ‘तर हामीले बुझ्ने भनेको एनआरएनएको कार्यालयबाट काम भएको छ भन्ने हो।’
मकाउका सेवाग्राहीलाई सहज होस् भनी एनआरएनएसँग सहकार्य गरी काम गर्दै आइरहेको दाबी गर्दै राना अगाडि थप्छन्, ‘मकाउ हङकङकै कार्यक्षेत्रभित्र पर्दछ। तर, नेपाल सरकारले त्यहाँ कार्यालय सञ्चालनको लागि रकम निकासा गर्दैन। तर पनि हामीले मकाउमा काम गर्नैपर्ने हुन्छ। यसको लागि हामीले एनआरएनएसँग समन्वय गरेर काम गरेका हौँ।’
ग्रोसरी पसल अगाडि भीडभाड देखेपछि आएका मकाउ प्रहरी
मकाउका नेपालीले भने एनआरएनएले सेवाग्रहीहरूलाई सेवाभन्दा दु:ख दिइरहेको आरोप लगाइरहेका छन्। दूतावासको फितलो व्यवस्थापन, व्यापारी तथा दलालहरूको चलखेलका कारण पक्षपाती व्यवहार हुने गरेको उनीहरूका दर्जनौँ गुनासा नेपालखबरले प्राप्त गर्दै आइरहेको छ।
राहदानीजस्तो संवेदनशील विषयलाई खुद्रा व्यापार जस्तो बनाइएको र यस बारेमा सम्बन्धित निकायमा पटक–पटक जानकारी गराउँदा पनि सुनुवाइ हुन नसकेको ती सेवाग्राहीको भनाइ छ। तिनका भनाइमा हङकङ महावाणिज्यदूतावासबाट आउने घुम्ती सेवा अपर्याप्त छ।
‘पहिला हामीले अनलाइन मार्फत भर्दा पनि महावाणिज्यदूतावासले स्वीकार गर्थ्यो। अहिले चाहिँ एनआरएनए अध्यक्ष मार्फत भरेको बाहेक कसैको निवेदन स्वीकार गरिदैँन,’ मकाउको एउटा क्लबमा बाउन्सर काम गरिरहेका एक सेवाग्राहीको गुनासो छ, ‘व्यक्तिगत रूपमा फारम भर्दा काम नबन्ने तर अध्यक्ष श्रेष्ठको पसलबाट फोटोकपीकै भरमा सजिलै हुनुले कमिशनको खेल छ भन्ने प्रष्ट हुन्छ।’
श्रेष्ठको पसलबाट आवेदन दिँदा सेवाशुल्क बापत एमओपी १५० शुल्क लिइन्छ। यो भनेको नेपाली रुपैयाँ झण्डै २५–२६ सय रुपैयाँ हो।
यति भएर पनि काम सजिलै हुन नसकेको गुनासो सेवाग्रहीको छ। घण्टौँ लाइन बस्दा पनि पालो नपाएको र विनाकाम फर्कनुपरेको गुनासो पोख्दै एकजना सेवाग्राही भन्छन्, ‘यस्तो अवस्थाबाट दिक्क कतिपय साथीले ग्वान्जाओ पुगेर नवीकरण गरे। कतिपय बिदाको समयमा नेपाल गई बनाउने पर्खाइमा छन्।’
तर, उनको भनाईमा गोन्जाओ गएर नवीकरण गर्न पनि त्यति सजिलो छैन। चीनको भिसा लागेको अवस्थामा मात्र त्यसो गर्न सकिने हो। मकाउमा विदेशी कामदारको राहदानीको म्याद सकिनु तीन महिनाअघिसम्मको मात्र भिसा नवीकरण हुने प्रावधान छ। जस्तै, कुनै कामदारको राहदानीको म्याद १२ महिना बाँकी छ भने उसको ९ महिनाको मात्र भिसा नवीकरण हुन्छ।
मकाउका कामदारलाई हङकङस्थित महावाणिज्यदूतावासमा पुगेर कागजात बनाउन पनि सहज छैन। एक त मकाउबाट हङकङ जानको लागि भिसा लगाएर जानु पर्दछ। त्यसका निम्ति सजिलो प्रक्रिया छैन। दैनिक ८ देखि १२ घण्टासम्म काम गर्ने यहाँका नेपालीलाई हङकङ गइरहने फुर्सद बिरलै हुन्छ। मकाउबाट हङकङ पुग्न बसमा ४५ मिनेट र पानीजहाज (फेरी)बाट १ घण्टा समय लाग्दछ।
सेवाग्राहीको भीड
प्रतिक्रिया