काठमाडौं महानगरपालिकाले लाजिम्पाटस्थित एक रेस्टुरेन्टमा ताला लगाएको छ। वडा नम्बर ३ मा रहेको फो–९९ रेस्टुरेन्टमा बिक्री गरिएको मःममा साङ्ला भेटिएको गुनासोपछि महानगरको टोलीले बिहीबार अनुगमन गरेको थियो।
अनुगमनका क्रममा उक्त रेस्टुरेन्टमा अखाद्य वस्तुहरू भेटिएपछि ताला लगाइएको महानगरले जनाएको छ।
महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख राम प्रसाद पौडेलका अनुसार बुधबार एक ग्राहकले मःम साङ्ला भेटिएको गुनासो गरेपछि आज अनुगमन गरिएको थियो।
‘एक ग्राहकले गुनासो गरेपछि आज हामीले अनुगमन गरेका थियौं,’ पौडेलले नेपालखबरसँग भने, ‘अनुगमनका क्रममा लगभग सडेकै अवस्थामा अन्य खाद्यवस्तु देखिएपछि हामीले ताला लगाएर आएका हौं।’
उनका अनुसार रेस्टुरेन्टलाई जरिवाना समेत गराइनेछ। ‘अखाद्य वस्तुहरूका कारण सर्वसाधरणको स्वास्थ्यमा हुने असरलाई मध्यनजर गर्दै हामीले आज ताला लगाएका छौं,’ पौडेलले भने, ‘उहाँहरूले गुणस्तरिय खानेकुरा बनाउने प्रतिवद्धता गरेपछि जरिवाना गराएरमात्रै ताला खोल्छौं।’



Shares

प्रतिक्रिया