सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका २ मोहनपुरबाट करिब ८ लाख रुपैयाँ बराबरको चोरीपैठारीको रेडियो सेट (वाकिटकी) बरामद भएको छ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मूल्यको १ सय वटा पेर्टेबल वाकिटकी ह्याण्ड सेट सशस्त्र प्रहरी बल नेपाल बीओपी छिन्नमस्ताले बरामद गरेको हो। उक्त सेट ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथै फरार भएको सशस्त्रले जनाएको छ।
विशेष गरी सुरक्षाकर्मीले प्रयोग गर्ने रेडियो सेट के प्रयोजनको लागि ल्याइएको थियो भन्ने खुल्न नसकेको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले बताए।
यसैगरी सोही जिल्लाको बलानविहुल गाउँपालिका ४ बेल्हीस्थित सीमा ईलाकाबाट असोज १२ गते करीब २ लाख २५ हजार रुपैयाँ बरारको चोरीपैठारीको एक थान प्रिन्टर मेसिन र एउटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको प्रिन्टर मेसीनसहितको मोटरसाइकल बीओपी बेल्हीले नियन्त्रणमा लिएको हो।
बरामद रेडियो सेट, प्रिन्टर मेसिन र मोटरसाइकल आवश्यक कारबाहीको लागि राजविराज भन्सार कार्यालय बेल्ही तिलाठीमा बुझाईएको सह प्रवक्ता थापाले बताए ।
Shares

प्रतिक्रिया