ad ad

समाज


हरिवंश भन्छन् : राजाको जस्तै सवारीका नाममा जनतालाई सास्ती दिन बन्द गरौँ (भिडिओ)

हरिवंश भन्छन् : राजाको जस्तै सवारीका नाममा जनतालाई सास्ती दिन बन्द गरौँ (भिडिओ)

वरिष्ठ कलाकार हरिवंश आचार्य। तस्बिर : नेपालखबर


नेपालखबर
असोज १४, २०८० आइतबार १२:४७, काठमाडौँ

वरिष्ठ कलाकार हरिवंश आचार्यले विशिष्ट व्यक्तिहरुले सवारीको नाममा नागरिकलाई सास्ती दिनेकुराको अन्त्य हुनुपर्ने बताएका छन्। 

आइतबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले अहिले पनि विशिष्ट व्यक्तिहरुको सवारीको नाममा दिनभर सडक अस्तव्यस्त पार्ने परम्परा रहेको भन्दै त्यसको विरोध गरे।

उनले सवारीलाई ठूलो दर्जा दिइएको भन्दै सवारी गर्न रहर हुनेले दमकलमा बसेर जान सल्लाह दिए।

‘कहिलेकाहीँ यस्तो लाग्छ, अरुले त भन्न मिल्दैन होला, मैले भन्न मिल्छ। हाम्रो देशमा ठूला ठूला मान्छेहरुले सवारी रे! पहिले राजा महाराजाको पालामा सरकारको सवारी हुन्छ भन्ने चलन थियो। तर अहिले पनि त्यो सवारीलाई सवारी नै भनिन्छ’, उनले भने, ‘त्यसलाई यति ठूलो दर्जा दिइएको छ, कुनै ठूलो मान्छे विदेश गएर आउनुभयो वा कुनै समारोहमा जानुपर्छ भने काठमाडौं उपत्यकाको ट्राफिक सिस्टम अस्तव्यस्त हुन्छ।’

भिडिओ

उनले बिहानदेखि मानिसलाई रोकेर राखेर सवारी गर्नुपर्ने क्रम अझै जारी रहेको बताए। ‘भित्रभित्रै रिस उठ्छ। सवारी रे! बिहानदेखि बेलुकासम्म अस्तव्यस्त हुन्छ’, उनले भने, ‘यसलाई पनि करेक्शन गर्नुपर्छ। त्यस्तो मानिसले दमकलमा बसेर गए हुन्छ। सवारी भनेर अस्तव्यस्त बनाउने सिस्टमलाई समाधान गर्न सकिन्छ।’

उनले सार्वजनिक यातायातको विकास नभइकन कुनैपनि देशमा जनताले सुख नपाउने बताए। राज्यले पब्लिक ट्रान्सपोर्टेशनमा बढी लगानी गर्नुपर्ने भए पनि नेपालले सर्वजनिक बसमा लगानी गर्न नसकेको बताए। उनले देशमा बस स्टप नै नभएको भन्दै त्यतातर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताए।

‘हामीले ट्राफिक नियमको यति धेरै उल्लंघन गर्छौँ। सबैभन्दा नेपालका धेरै रिसाउनुपर्ने पेशा भनेकै ट्राफिक प्रहरी होला। छिनछिनमा सिठी बजाइरहेको छ, उता पनि एउटाले नियम उल्लंघन गर्छ, उता पनि उल्लंघन छ’, उनले भने, ‘सबैसँग रिसाउनुपर्ने र टेन्सनमा आउनुपर्ने पेशाहरुप्रति हामीले गौरव गर्नुपर्छ। हामीले उहाँहरुको मनोबल उठाउनुपर्ने वातावरण सिर्जना गर्नुपर्नेछ। काठमाडौं उपत्यकाको सडक पहिला पाँचवटा हात्ती हिँड्न भनेर बनाएको रे जुद्ध शमशेरले। अहिले दिनको १४ लाख भेहिकल गुडाउनुपरेको छ।’

उनले काठमाडौंमा गाडीका लागि बाटो नै नभएको बताए। ‘काठमाडौंमा आजको १० वर्षपछिको स्थिति के होला? भयावह स्थिति हुनसक्छ। मान्छेले सबैभन्दा ठूलो प्रगति गर्‍यो भने उन्नति गरे भने सुन्दर घर र गाडी किन्ने कल्पना हुन्छ। त्यो दिनहुँ दिन बढ्दै जान्छ। घट्ने सम्भावना छैन’, उनले भने, ‘सार्वजनिक यातायातको विकास नभइ कुनै पनि देशमा जनताले सुख पाउँदैनन्। ट्राफिक जामको त्यत्ति नै ठूलो समस्या विभिन्न देशका शहरमा छन् तर त्यहाँ सबैभन्दा ठूलो आधार भनेको सार्वजनिक यातायात हो।’

उनले राज्यले पब्लिक ट्रान्सपोर्टेशनमा बढी लगानी गर्नुपर्ने बताए। ‘तर हाम्रो देशमा सार्वजनिक यातायातमा सरकारको लगानी भनेको एउटा सर्वजनिक बसमा छ’, उनले भ ने, ‘त्यो पनि अर्ध सरकारी हो। त्योबाहेक यातायातको साधनमा सरकारले एक पैसा पनि खर्च गर्न सकेको छैन । हाम्रो देशमा ट्राफिक स्टेप नै छैन, गाडी रोक्ने ठाउँ नै छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .