ad ad

समाज


शिक्षा विधेयक अव्यवहारिक, स्वार्थ समूहले होटलमा बसेर बनाएको आरोप

शिक्षा विधेयक अव्यवहारिक, स्वार्थ समूहले होटलमा बसेर बनाएको आरोप

अनेरास्ववियूले आयोजना गरेको अन्तरक्रिया। तस्बिर : नेपालखबर


नेपालखबर
भदौ ३१, २०८० आइतबार १४:१, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी ) निकट अनेरास्ववियूले सरकारले संसदमा दर्ता बहुचर्चित विद्यालय शिक्षा विधेयक-२०८० बारे सडक अन्तरक्रिया गरेको छ। 

रत्नराज्य क्याम्पसअगाडि आयोजित अन्तरक्रियामा शिक्षा क्षेत्रका सरोकारवालाहरुहरुले यो विधेयक जस्ताको तस्तै कार्यान्वयनमा भए नेपालको समग्र शिक्षा क्षेत्र संकटमा पर्न सक्ने बताएका छन्। 

अनेरास्ववियूकी अध्यक्ष आरती लामाको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व मन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले विद्यालय शिक्षा विधेयकलाई संसोधन गरेर मात्रै पास गर्नुपर्ने बताए। 

विधेयकका केही दफाहरुमा गरिएको व्यवस्था शिक्षक र विद्यार्थी समुदायको हितविपरीत रहेको उल्लेख गर्दै चौधरीले संसद्‍मा यसको संशोधनका लागि संघर्ष गर्ने बताए। 

अन्तरक्रियामा आफ्ना विचारहरु प्रस्तुत गर्नुहुँदै शिक्षाविद प्रा. डा. विद्यानाथ कोइरालाले विधेयकले निजि र सार्वजनिक शिक्षाबीचको असमानता हल  गर्ने ठोस उपाय निकाल्न नसक्ने दाबी गरे। 

सहरका निजी विद्यालयमा ५० देखि ७० प्रतिशत जनताका छोराछोरी पढ्ने गरेको उल्लेख गर्दै डा. कोइरालाले बालबालिकाको स्तर मापन हुने गरी शिक्षा प्रदान गर्न नसकिएको बताए। 

कोइरालाले निजी स्कुलले बच्चालाई थुनेर पढाइरहेकोले सरकारी स्कुलले खुलेर पढाउन पाउने गरी शिक्षा विधेयक  संसोधन गर्नुपर्नेमा जोड दिए। 

कोइरालाले फेरि पनि शिक्षकलाई नै मारमा पारेर शिक्षा क्षेत्र नसुध्रिने बताए। विद्यमान विधेयकमा विद्यार्थीको अनिवार्य वचत र  दलित समुदायको सीपलाई संस्थागत गर्नुपर्ने बताउँदै कोइरालाले ४ वटा विषय अंग्रेजीमा पढाउनु पर्ने उल्लेख गरे।

कार्यक्रममा शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले विद्यमान विधेयक मुलतः शिक्षकहरुको हक र अधिकारलाई कुण्ठित गर्ने गरी ल्याउन खोजिएकोले यसलाई सच्याउन अनेरास्ववियू लगायतका विद्यार्थी संगठनदेखि सबै सरोकारवालाहरुले सहयोग र दबाब सिर्जना गर्नुपर्ने बताइन्। 

समाजवादी पेशागत कानुन व्यवसायी संगठनका अध्यक्ष डेकेन्द्र सुवेदीले विद्यालय शिक्षा विधेयक राज्यले केन्द्रिकृत रुपमा लागु गर्नुपर्ने विधेयक भएको उल्लेख गर्दै यसको कार्यान्वयन अघि सबै सरोकारवालाहरु चनाखो हुनुपर्ने बताइन्। 

कार्यक्रमका अर्का अतिथि प्रगतिशील शिक्षक संगठनका महासचिव हरिदेव यादवले भने केही समय अघि चर्चामा आएको विधेयक जस्तै अहिलेको विधेयक पनि विभिन्न स्वार्थ समूहका मानिसहरु होटेलमा बसेर तयार पारेको आरोप लगाएका छन्। 

कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका नेता सुरज सेजुवाल, अनेरास्ववियु ( क्रान्तिकारी) का उपाध्यक्ष नरेन्द्र सी र  समाजवादी विद्यार्थी युनियनका महासचिव प्रकाश चाम्लिङ राईले पनि विधेयकबारे बोलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .