ad ad

समाज


जहाँ बीपीकाे नाममा चार दशकदेखि कोठा खाली छ

जहाँ बीपीकाे नाममा चार दशकदेखि कोठा खाली छ

नेपालखबर
भदौ २४, २०८० आइतबार ८:४९, चितवन

प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद (बीपी) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि उनकै नाममा खाली छ। 

भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित गौरीदेवी प्रधानको घरको उक्त कोठा अहिले पनि बीपीकै सम्झनामा खाली राखिएको छ। त्यतिबेला बीपी सुत्ने काठको खाट सफा तन्नाले ढाकेर राखिएको छ।

‘घर बनेपछि यो कोठामा बीपी कोइरालाबाहेक अहिलेसम्म कोही पनि सुतेको छैन’, ९० वर्षीया गौरीदेवीले भनिन्। श्रीमान स्व.श्यामकृष्ण प्रधानसँग बीपीको निकट सम्बन्धका कारण परिवारको एक सदस्यका रूपमा प्रधान परिवारले बीपीलाई लिने गरेको थियो।

विसं २००६ मा बन्दीपुरमा प्रधानको बीपीसँग चिनजान भएपछि उक्त  सम्बन्ध बाँचुञ्जेलसम्म रहिरह्यो। गौरीदेवी भन्छिन्, ‘अरु नेता आउँदा पनि विपीको कोठामा कसैलाई पनि बस्न दिइएन।’

कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवालगायत नेता आउँदा पनि कोहीलाई माथिल्लो तला र कोहीलाई भुइँ तलामा सुत्ने व्यवस्था गरिएको उनको भनाई छ। 

‘घर बनेदेखि बीपी यही घरमा बस्नुभएको हो’, गौरीदेवीले भनिन्। छतमा मन्दिर भएको घरको अगाडितर्फ दुईतिर ठूला झ्याल भएको पहिलो तलाको खुला कोठामा बीपी बस्ने गरेका थिए। रातो रङको यो घर २०२६ सालमा निर्माण भएको हो। 

घरको पहिलो तलामा आराम गरिरहेकी गौरीदेवीले भनिन्, ‘बीपी बाबुले गिरिजाबाबुलाई भनेको मलाई अहिले पनि सम्झना छ।’

 ‘गिरिजा चिन्यौँ, घरको परिवारजस्तै हो, जहिले पनि यही आएर बस्नु है,’ बीपीले त्यतिबेला भनेका थिए। गौरीदेवीको मामाको छोरा धर्मभक्त माथेमालाई राणा शासकले मारेकाले उनमा क्रान्तिकारी जोश भएकाले पनि बीपीप्रतिको श्रद्धा बढी भएको हो। 

‘बीपी घरमा आएपछि सुरक्षाकर्मीले घरबाहिर घेर्ने गथ्र्यो। कहिले के हुन्छ, थाहा हुँदैनथ्यो’, त्यतिबेलाको सम्झना गर्दै उनले भनिन्, ‘यही घरमा बसेर बीपीबाबुले राजनीतिक योजना बनाउनुहुन्थ्यो।’ 

बीपी कतिपटक घरमा आए गौरीदेवीलाई यकिन सम्झना छैन। ‘कति पटक आउनुभयो आउनुभयो। चितवनमा आउँदा होस् वा पूर्वपश्चिम अन्य जिल्लामा जाँदा उहाँ यही बस्नुहुन्थ्यो। धेरैपटक आउनु भएको छ।’

बीपीले सादा खाना रुचाउने गरेको गौरीदेवी बताउँछिन्। ‘उहाँले माछामासु खाएको मलाई थाहा छैन, दही, दूध, सादा खाना नै खानुहुन्थ्यो।’ आफूले ‘विपीबाबु के खाने?’ भनेर सोध्दा पनि उनले ‘तपाईँले जे पकाउनुहुन्छ, त्यही खान्छु भन्नुहुन्थ्यो।’ बीपीले थोरै खाना मीठो गरी खाने गरेको सम्झना उनलाई अहिले पनि ताजै छ।
 
जिल्लाभर जहाँ घुमे पनि बेलुका सुत्न बीपी गौरीदेवीकै घरमा पुग्थे। साँझ आइपुगेका बीपी भन्थे, ‘जहाँ घुमे पनि आफ्नै घरजस्तो लागेर यही आउन मन लाग्छ।’ बीपी आउँदा विवाहको घर जस्तै हुने गरेको उनले बताइन्। थोरै खाने र चिटिक्क परेर हिँड्ने बीपीको बानी थियो। 

‘बीपी मेरो कान्छी छोरी नम्रतालाई ‘छोरी मेरो कपडामा आइरन गदिदेउ’ भन्नुहुन्थ्यो र चिटिक्क परेर हिँड्नुहुन्थ्यो,’ उनले भनिन्। तनहुँ र चितवनमा महिला सङ्घको स्थापना गरेकी प्रधानले बीपीको उपचारका लागि नारायणगढ बजारमा आर्थिक सङ्कलनसमेत गरेकी थिइन्। ‘मैले बजार घुमेर आर्थिक सङ्कलन गरेँ, म आफूले त दिने नै भएँ, अरुले पनि बीपीको उपचारको लागि पैसा सहयोग गरे,’ उनले भनिन्। 

बीपीसँगै कांग्रेसका शीर्षनेताको बस्ने थलो पनि यही घर हो । तर, पछिल्ला वर्षमा नेताहरू यो घरमा त्यति पुग्दैनन् । बीपीको देहवसानपछि देश उँभो लाग्न नसकेको गौरीदेवीको भनाइ छ। ‘कसैलाई पनि कांग्रेस बन्न उत्साह छैन,’ उनले भनिन्, ‘साराका सारा विदेश जान थालेका छन्, बीपी भएको भए, साराका सारा कहाँ विदेश जान्थे, यही काम पाउँथे। बीपीजस्तो नेता न कांग्रेसले न देशले नै जन्मायो।’
 
गौरीदेवीका ससुरा लालप्रसाद खरदारको जागिर छाडेर पार्टीमा लागेको भए पनि पार्टीले अहिले आफ्नो घर बिर्सिएकामा उनलाई चिन्ता छ। गौरीदेवीलाई बीपी बस्ने त्यो कोठामा जाँदा अहिले पनि बीपीको झल्को आउँछ । राति अबेर सुत्ने कोइरालालाई बिहानीपख चिया लिएर जाने गरेको स्मरण गौरीदेवीलाई अहिले पनि ताजै छ।

गौरीदेवीका कान्छा छोरा सुवोधलाई बाल मानसपटलदेखि बीपीको स्मरण ताजा छ। बीपी चितवन आउँदै गर्दा बुवा श्यामकृष्णले गाडीमा बीपीसँग राखेर गाउँ डुलाएको उनी अहिले सम्झन्छन्। गाडी पछिपछि नेविसङ्घका विद्यार्थी हुने भए पनि उहाँलाई के हुन्छ भर थिएन। ठाउँ–ठाउँमा प्रहरीले रोकेर सोधपुछ गथ्र्यो।
 
बाह्र–तेह्र वर्षको कलिलो उमेरको विगतलाई सम्झँदै सुवोधले भने, ‘बीपी हाम्रो परिवारको सदस्यजस्तै हुनुहुन्थ्यो। उहाँको निधन हुँदा मेरो दाई सुवासले कपाल खौरिनुभएको थियो।’ 

आफ्नो घरमा बीपी आउँदा घरवरिपरि खाकी बर्दी लगाएर प्रहरीले घेरेको स्मरण उनलाई ताजै छ। 

सुवोधले भने, ‘म घरको कौशीमा लुकेर खाकी बर्दी लगाएका प्रहरी हेर्थेँ।’ सबैले बीपीलाई निकै मान्ने गरेको उनले बताए।  ‘त्यतिबेला सबैले बीपीलाई देवताजस्तै गरी सम्मान गर्थे,’ विगत सम्झिँदै उनले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .