ad ad

समाज


धादिङ बस दुर्घटना : मृतक आठै जनाको सनाखत, चालक पक्राउ

धादिङ बस दुर्घटना : मृतक आठै जनाको सनाखत, चालक पक्राउ

नेपालखबर
भदौ ७, २०८० बिहिबार ८:४९, काठमाडौँ

धादिङको गजुरीमा बुधबार भएको बस दुर्घटनामा ज्यान गुमाउने आठैजनाको सनाखत भएको छ।

काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान पृथ्वी राजमार्गमा पर्ने धादिङको गजुरी गाउँपालिका २ चालिसेबाट त्रिशूली नदीमा खसेको थियो।  

दुर्घटनामा ज्यान गुमाउने आठै जनाको सनाखत भएको इलाका प्रहरी कार्यालय गजुरीका डीएसपी मदनबहादुर कुँवरले जानकारी दिए। 

दुर्घटनामा ज्यान गुमाउनेमा म्याग्दीको रघुगंगा गाउँपालिका ३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका १ की १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका ८ का २० वर्षीय सुशिल रम्तेल, गजुरीकै १७ वर्षीय सविन रम्तेल, कास्कीको फुलबारी ११ का २४ वर्षीय सुमन थापा, पर्वतको जलजला गाउँपालिका ६ की ४२ वर्षीया राधिका सापकोटा, पर्वतकै मोदी गाउँपालिका ५ का ४५ वर्षीय झपटबहादुर क्षेत्री र म्याग्दीको धौलागिरी गाउँपालिका ५ का ७२ वर्षीय टेकबहादुर छन्त्याल छन्।

दुर्घटनामा परेको बसमै सवार म्याग्दीको मंगला गाउँपालिका २ का ३६ वर्षीय हरि अरमोजा दुर्घटनापछि बेपत्ता छन्। 

‘उहाँ सोही बसमा चढेर काठमाडौंबाट घर फर्किंदै गरेको जानकारी आफन्तले दिनुभएको छ,’ डीएसपी कुँवरले नेपालखबरसँग भने, ‘तर, उहाँलाई हामीले फेला पार्न सकेका छैनौँ। उहाँलाई नदीले बगाएको पनि हुनसक्छ।’ 

दुर्घटनामा परेको बसका चालक म्याग्दीको बेनी ६ का ३० वर्षीय दीपक थापा उपचारपछि डिस्चार्ज भएका डीएसपी कुँवरले जानकारी दिए। 

‘उनलाई सामान्य चोट मात्रै लागेको थियो। अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई हामीले नियन्त्रणमा राखेका छौँ,’ एसपी कुँवरले भने, ‘साँघुरो र जीर्ण सडकमा तीव्र गतिमा चलाउँदा बस दुर्घटनामा परेको अनुमान हामीले गरेका छौँ।’

दुर्घटनामा घाइते भएका १५ जनामध्ये ३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। 

घाइते १२ जनाको हाल वीर अस्पतालको ट्रमा सेन्टर, बयोधा, बीएण्डबी, किस्ट लगायतका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .