ad ad

समाज


९० वर्षको उमेरमा कक्षा १ मा भर्ना भए प्रेमबहादुर

९० वर्षको उमेरमा कक्षा १ मा भर्ना भए प्रेमबहादुर

९० वर्षको उमेरमा कक्षा १ मा भर्ना भएका प्रेमबहादुर डाँगी। तस्बिरः रासस


नेपालखबर
भदौ ५, २०८० मंगलबार ९:३९, दाङ

पिठ्युमा झोला, एक हातमा लठ्ठी। तर हिँडाइमा भने रफ्तार हुन्छ- दाङ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको। 

उमेरमा पढ्न नपाए पनि उहाँमा पढाइको भोक मरेन। अहिले तिनै डाँगी दैनिक विद्यालय जान्छन्। कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगीको दैनिकी हिजोआज विद्यालयका बालबालिकासँग बित्न थालेको छ। 

उनले पनातिसमेत देखिसकेका छन्। तिनै पनातिजस्ता उमेरका विद्यार्थीसँग यतिबेला डाँगी कक्षा १ मा पढिरहेका भेन्छिन्। 

चालु शैक्षिकसत्रदेखि उनले कक्षा १ को पढाइ सुरु गरेका हुन्। सोही वडाको वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा उनले पढ्न विद्यालय छ। 

डाँगी पढ्नकै लागि भमकेबाट एक घण्टा पैदल हिँडेर भ्यूडहर सुनपुर पुग्छन्।  

‘सानोमा पढ्न पाइनँ, गाउँमा पनि आफूसँग गफगाफ गर्ने साथी छैनन्,’  डाँगीले भने, ‘बुढेसकालमा भए पनि केही कुरा सिकौँ भनेर स्कुल पढ्न थालेको छु।’

घरमा पनि उनी नातिहरूसँग बस्छन्। उनकी श्रीमतीको विसं २०३२ सालमै निधन भएको थियो। पत्नीको मृत्युपछि उनी घरमा एक्लै बस्थे। जेठो छोराको पनि निधन भएपछि अहिले उनी नातिसँग बस्छन्। 

नाति आफ्नो काममा व्यस्त हुने भएकाले घरमा एक्लै बस्नुभन्दा विद्यालय जान थालेको उनको भनाई छ। आफू बाँच्दासम्म पढिरहने अठोट उनले गरेका छन्। ‘सानोमा पढ्न नपाए पनि मेरो पढ्ने चाहना धेरै थियो’, उनले भने, ‘जे भए पनि मर्ने बेलामा केही अक्षर सिकेर मरौँ भन्ने मेरो चाहना हो।’

उनी पढ्नमा पनि त्यति कमजोर छैनन्। शिक्षक राजेन्द्रकुमार शर्माका अनुसार कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तै हुने भएकाले किताबमा भनेअनुसार उनी लेख्न सक्ने भएका छन्।

‘परिपक्व दिमाग भएर पनि होला, कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तो हुन्छ’, उनले भने, ‘त्यो पुस्तिकाअनुसार उहाँले लेख्न सक्नुहुन्छ।’

अङ्ग्रेजी अलि गाह्रो लाग्ने गरे पनि नेपाली भाषाका सबै किताब डाँगी राम्रोसँग पढ्न सक्ने भएका छन्।

९० वर्षको उमेरमा विद्यालयमा पढ्न आउनुले समाजमा पढाइको महत्व झल्काएको विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्तीले बताए। 

‘उहाँ सुरुमा आउँदा अच्चम्म पनि लागेको थियो, तै पनि कक्षा १ मा भर्ना गर्यौँ’, उनले भने, ‘अहिले उहाँ आउँदा मान्छे बूढो भए पनि पढाइ बूढो हुँदैन भन्ने एउटा उदाहरण बन्नुभएको छ।’

विद्यालयले उनलाई सम्मान गर्ने योजना बनाएको समेत प्रअ घर्तीले बताए। ‘उहाँ विद्यालयको गहना भएकाले सम्मान पनि गर्ने र नियमित विद्यालय आउँदा विद्यालय पोशाक लगाउनुपर्ने भएकाले विद्यालय पोशाक पनि किनिदिने योजना बनाएका छौँ,’ उनले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .