समाज


६० किलो सुन प्रकरणमा दावाको बयान : स्वराज र प्रतीकसँग व्यापारिक साझेदारी थियो

६० किलो सुन प्रकरणमा दावाको बयान : स्वराज र प्रतीकसँग व्यापारिक साझेदारी थियो

सुन तस्करी गरेको आरोपमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ


सागर न्यौपाने
साउन ३२, २०८० बिहिबार २२:२, काठमाडौँ

हङकङ हुँदै नेपालमा सुन तस्करी गरेको आरोपमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङले तीन व्यापारिक साझेदारको नाम खुलाएका छन्।

६० किलो ७ सय १६ ग्राम सुन तस्करी सम्बन्धमा गरिएको सोधपुछका क्रममा उनले केही वर्ष अघिबाटै नेपालका शीर्ष नेताका निकटस्थ व्यक्तिहरुसँग मिलेर काम गरिरहेको बताएका हुन्।

दावालाई पक्राउ गरेलगत्तै राजस्व अनुसन्धान विभागले उनीसँग सोधपुछ गरेको थियो। त्यसपछि सीआईबीमा बुझाएपछि पनि उनी मार्फत नै सुनको मालिक पत्ता लगाउने प्रयास भइरहेको छ। उनीसँग सीआईबीले बयान लिइसकेको छ। 

सुरुमा उनीमार्फत नेपालमा तस्करीको सुन ल्याउने गिरोहबीचको कनेक्सन खोज्ने प्रयास अनुसन्धान अधिकारीहरुले गरेका थिए। 

दावासहितले ठमेलमा सञ्चालन गरेको होटेल भियनाबाट सुनको कारोबार भएको भरपर्दाे प्रमाण सीआईबीसँग छ। 

तस्करीको सुन संकलन र प्रशोधन गर्ने कम्पनीबाट छुटेका हरेक गाडी दावाको होटलमा पुगेको सीसीटीभी फुटेजबाट पनि देखिएको छ।

दावासँग केहीको कनेक्सन देखिने प्रमाणहरु राजस्वले मुद्दाको फाइल बुझाउँदा प्रहरीलाई दिएको छ। राजस्वले पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने व्यक्तिहरुको बारेमा पनि खुलाएर पठाएको छ। 

जसमा राजनीतिक दलका नेताहरुकै परिवारका सदस्यको नाम समेत छ। दावाले नेकपा एमालेका दुई जना पदाधिकारीका छोरासँग मिलेर लामो समयदेखि काम गरिरहेको बयानमा बताएका हुन्। 

दावाले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका छोरा स्वराज पोखरेल र उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापासँग मिलेर विगतदेखि व्यवसाय गरिरहेको भनेका छन्। आफूलाई अप्ठेरो पर्दा उनीहरुले नै सहयोग गर्ने गरेको दावाको प्रारम्भिक बयान छ। 

‘काठमाडौंको र्‍याडिसन होटलको साइडमा रहेको एक रेन्टुरेन्टमा म, मिस ली र स्वराजबीच हाम्रो बिजनेसका बारेमा छलफल हुन्थ्यो,’ दावाको बयान उधृत गर्दै एक अधिकारीले  नेपालखबरसँग भने, ‘उहाँहरुसँग मिलेरै कोभिडको बेला पनि स्वास्थ्य सामग्री खरिद गर्थ्यौँ। प्रतीक थापा काम गर्न धेरै सहज हुनुहुन्छ।’

साउन १० गते दावालाई होटल भियनामा छापा मार्दै राजस्वको टोलीले पक्राउ गरेको थियो। पक्राउलगत्तै उनले नेताका परिवारसँग साझेदारी रहेको खुलाएका थिए।

तर, अरु व्यवसायमा साझेदारी रहेको बयानबाट खुले पनि सुन तस्करीमा स्वराज र प्रतीकको संलग्नता खुलेको छैन। राजस्वको अनुसन्धानमा उनीहरु समेत संलग्न रहेको आशंका गरिए पनि सीआईबीले उनीहरुमाथि अनुसन्धान गरेको छैन।

यसैगरी, दावाले तेस्रो व्यक्तिको नाम पनि लिएका छन्। उनी हुन् रामेछापका किशोर बस्नेत। उनी भने तस्करीमा प्रत्यक्ष संलग्न नै रहेको खुलेको अनुसन्धान अधिकारीहरुको दाबी छ।

बस्नेतले तस्करीको सुन गाल्ने कारखाना व्यवस्थापन गर्नेदेखि सुन गाल्ने उपकरण खरिदमा समेत सहयोग गरेको अनुसन्धान अधिकारीले बताए।

‘दावाको सम्पर्क सूत्र नै किशोर बस्नेत देखिन्छ। विद्युतीय चुरोट (भेप) मा राखेर ९ किलो सुन तस्करी गर्ने गिरोहसँग पनि किशोरको कनेक्सन देखिएको छ। यो प्रकरणमा किशोरनिकट व्यक्तिहरु पनि पक्राउ परेका छन्,’ अर्का एक अधिकारीले भने।

किशोर हाल फरार छन्। उनले मोबाइल समेत बन्द गरेको अनुसन्धान अधिकारीले बताए। उनले दावालाई एमालेका अन्य नेतासम्म भेटघाट गराएको अनुसन्धान अधिकारी बताउँछन्। 

दावाले प्रयोग गरेका दुई वटै मोबाइल नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ। त्यसबाट दावाको कनेक्सन को–कोसँग थियो प्रष्ट खुल्ने छ। 

यद्यपि चिनियाँ व्यक्ति जिक्वाङ लिन पक्राउ परेपछि दावाले मोबाइल फर्म्याट गरेको पाइएको छ। 

राजस्वबाट रायसहितका केही तथ्य समावेश गरेर पठाइएको प्रतिवेदन अध्ययन गरेर अनुसन्धानलाई तीव्रता दिएको सीआईबीले जनाएको छ।

उसले चार चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

सुन कसको?
साउन २ मा ब्रेक सुमा राखेर हङकङ हुँदै नेपाल भित्रिएको ६० किलो सुन कसको हो भन्ने अझै खुलिसकेको छैन।

सुन बरामद भएदेखि राजस्व अनुसन्धान विभागले १७ दिन यसको अनुसन्धान गरेको थियो। राजस्वले १८ जनालाई हिरासतमा राखेर बयान लिएको थियो। 

तर, संगठित अपराध, त्रिदेशीय कनेक्सन लगायतका कारण थप अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिएको छ।

उक्त सुन व्यापारी राकेश अदुकियाले नै भित्र्याएको प्रारम्भिक निष्कर्षसहितको प्रतिवेदन राजस्वले सीआईबीलाई बुझाएको छ। 

राकेश अदुकिया टेस्ला गाडीका विक्रेता कम्पनीको लगानीकर्ता हुन्। 

‘जसले जे भित्र्याउँछन्, त्यसैमा राखेर सुन तस्करीको काम भएको छ,’ राजस्वका एक अधिकारीले नेपालखबरसँग भने, ‘हङकङबाट नेपालमा ६० किलो सुन ल्याउँदा ब्रेक प्याडमा राखिएको छ। मोबाइल कारोबार गर्नेले त्यसमै राखेर सुन ल्याउने गरेको र गुडिया व्यापार गर्नेले गुडियामै राखेर सुन तस्करी गर्दा रहेछन्।’

हङकङ हुँदै साउन २ गते नेपाल भित्र्याएको सुन राजस्वको टोलीले सिनामंगल पुगेपछि बरामद गरेको थियो। 

त्यही क्रममा राजस्वले सुनको व्यवस्थापन गर्ने कारखाना सञ्चालन गरिरहेका चिनियाँ व्यक्ति ली जिक्वाङलाई साउन ४ गते पक्राउ गरेको थियो। एक हप्तापछि दावा पक्राउ परेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .