ad ad

समाज


वामदेवले भने : जथाभावी डोजर चलाउँदा बाढी-पहिरो बढ्यो, भौगर्भिक जोखिमको ख्याल गरिएन

वामदेवले भने : जथाभावी डोजर चलाउँदा बाढी-पहिरो बढ्यो, भौगर्भिक जोखिमको ख्याल गरिएन

फाइल तस्बिर


नेपालखबर
साउन ३२, २०८० बिहिबार १७:४४, काठमाडौँ

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गर्नुपर्ने बताएका छन्। 

बिहीबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै गौतमले नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गर्नु आवश्यक रहेको बताएका हुन्।

उनले नेपालको भू–सतह चलायमान रहेको उल्लेख गर्दै त्यसको अध्ययन गरेर मात्रै जमिनको प्रयोग गर्नुपर्ने बताए।

अध्ययन गरेर मात्रै कृषि उत्पादन गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

गौतमले जथाभावी जमिनमा खनजोत गर्न नहुने भन्दै जतिधेरै डोजरको प्रयोग गरिन्छ उति नै प्राकृतिक प्रकोपको खतरा रहेको उल्लेख गरे।

गौतमले आगामी सोह्रौँ आवधिक योजनामा भौगर्भिक र भू–सतहको अध्ययन गर्ने विषय समेट्नुपर्ने पनि बताएका छन्। 

‘आजसम्म कुनै पनि योजनाले भौगर्भिक र भू–सतहको अध्ययन गरेको पाइएन। के हो स्थिति हाम्रो? अमेरिकामा जसरी फलाइन्छ यहाँ पनि त्यसैगरी फलाउन सकिन्छ, सकिँदैन? भारतमा जसरी गर्न सकिन्छ नेपालमा सकिन्छ कि सकिँदैन? भन्ने ध्यान गएको पाइएन’, उनले भने, ‘हाम्रो देशको भू–सतह निरन्तर चलायमान छ। संसारमा सबैभन्दा पछि विकसित भएको भू–सतह हो। अरु ठाउँका प्लेटहरु छन्, त्यसमाथि जमिन छ। उनीहरु ५/६/१० अर्ब पहिले विकसित भएका छन्। हाम्रो देशको साढे ५ करोड वर्ष पहिलेको हो। यो भूकम्पको अवस्थामा पनि छ। यसलाई राम्ररी अध्ययन नगरीकन हामीले हाम्रो देशको पहाडको, ढुंगाको, माटोको प्रयोग गर्‍यौँ भने हामी निरन्तर असफल हुँदै जान्छौँ।’

उनले जनधनको क्षति व्यहोरिरहनुपर्ने अवस्था आइरहने पनि बताए। ‘यो विषयमा योजना आयोगले ध्यान दिनुपर्छ। भू–सतह निरन्तर चलायमान छ भने त हलो जोत्न, ट्याक्टर चलाउन, डोजर हिँडाएर बाटो खन्नु भएन’, उनले भने, ‘जति त्यसो गर्नुहुन्छ, त्यत्तिकै महामारी आउँछ। बाढी, पहिरो आउँछ। यसमा ध्यानै गएको छैन। यस पटक सोह्रौँ योजनामा यो समावेश गर्नुपर्छ।’

उनले नेपालमा उत्पादन भएका कृषि उपजको सही तरिकाले प्रयोग गर्न सके आत्मनिर्भर भइने बताए। नेपालमा उत्पादित खाद्यान्नको सही तरिकाले उत्पादन गर्न नसक्दा देश बाहिरबाट आयात गर्नुपर्ने अवस्था आएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .