ग्रामिण तहमा बाँझोपनको समस्या बढ्दै गएको भन्दै चिकित्सकहरुको चिन्ता व्यक्त गरेका छन्।
चिकित्सकहरुले पछिल्लो केही वर्षयता युवाहरु विदेश जाने क्रम बढेको र उमेर पुगेर पनि विवाह नगर्दा बाँझोपनको समस्या बढ्दै गएको बताएका हुन्। उनीहरुले बाँझोपनको समस्या समाधानका लागि परामर्श दिन आवश्यक भइसकेको बताए।
चिकित्सकहरुका अनुसार बाँझोपनले मानसिक समस्या विकराल बन्दै गइरहेको भन्दै सचेत रहन आग्रह समेत गरेका छन्। प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा.कृतिपाल सुवेदीले बाँझोपन हुनुमा महिला र पुरुषको भूमिका समान हुने बताए।
डा.सुवेदीले भने, ‘सामान्य रुपमा बुझ्यौँ भनेपनि महिलाको अण्डा चाहीँ एक महिनामा निस्किन्छ। करिव करिव ४८ घण्टा जति बाँच्छ। र, पुरुषको शुुक्रकिट चाहीँ एक पटक यौनसम्पर्क भयो भने महिनाको वरिपरि ४८ देखि ७२ घण्टा बाँच्छ। फर्टाइल विन्डो भनेको करिव करिव चारदेखि पाँच दिन हुन्छ। यो बीचको बाहेक महिनाभर जति यौन सम्पर्क भएपनि बच्चा बस्नेवाला छैन। स्ट्रेसले अण्डाको क्वालिटी पनि घटाउँछ र बीर्यको क्वालिटि पनि घटाउँछ। हरेक पटक यौन सम्पर्क गर्ने बेलामा यो यौन सम्पर्कले बच्चा बसोस् भनेर श्रीमान, श्रीमती दुवैले स्ट्रेस लिइरहनुभएको छ।’
उनले विवाह पश्चात पुरुषहरु वैदेशिक रोजगारीमा जानुपनि बाँझोपनको कारण रहेको औंल्याए। उनले खाडी मुलुकमा गएका पुरुषहरु नेपालमा फर्किंदा बच्चा नहुनुको प्रमुख कारण उच्च तापक्रमले शुक्रकिट उत्पादनमा ल्याउने ह्रास रहेको पनि बताए।
डा.सुवेदीले एक वर्ष वा एक वर्ष भन्दा बढी समयसम्म श्रीमान श्रीमती अस्थायी परिवार नियोजनको साधन बिना यौन सम्पर्क गर्दापनि सन्तान उत्पादन नभएमा त्यसलाई बाँझोपन भनिने बताए। डा.सुवेदीले सरकारले बाँझोपनबारे प्रिकन्सेप्सनल काउन्सिलिङ स्थापना गर्ने बेला भइसकेको बताए।
उनले भने, ‘अहिलेको अवस्था हेर्दा ग्रामिण तहका युवा पुस्तादेखि विदेश जानका लागि भिसा लाएपछि विवाह गर्ने हो, किन भने त्यो भन्दा अगाडी जागिरको टुंगो छैन। विवाह गरेको १५ दिनमा विदेश जाने हो। दुई वर्षमा आउने हो, दुई महिनाका लागि आउने हो। दुई महिनाको लागि बच्चा चाहियो। यो त प्रकृतिले नै नदिएको कुरालार्ई जित्न नै सकिँदैन नि! सरकारले प्रिकन्सेप्सनल काउन्सिलिङ स्थापना गर्ने बेला भइसक्यो। त्यसमा पारामेडिक्सहरुले मज्जाले काउन्सिलिङ गर्न सक्नुहुन्छ। काउन्सिलिङ गर्न थालियो भने बिस्तारै बिस्तारै चेतना आउन थाल्छ। फाइदा बेफाइदाबारे जानकारी हुन्छ।’
वंशाणुगत रोग विशेषज्ञ डा.निलम ठाकुरले बाँझोपन थाहा पाउन महिला पुरुषको स्वास्थ्य जाँच गर्नुपर्ने र बाँझोपनको कारण पत्ता लगाइसकेपछि मात्रै उपचार प्रक्रिया थाल्नुपर्ने बताए।
डा.ठाकुरले निःसन्तानपनले मानसिक समस्या निम्त्याएको बताए। समाजमा बाँझोपन बढ्दै गएको भन्दै बाँझोपन सम्बन्धी सरकारले नीति ल्याउन आवश्यक रहेको बताए।
भ्रुण रोग विशेषज्ञ डा.विनिता थापाले निःसन्तानपनको उपचार गर्न केही समय लाग्ने बताइन्। उनले निःसन्तान कसरी हुन्छ भनेर शुरुमा आम नागरिकमा जनचेतना जगाउन आवश्यक रहेको बताइन्।
थापाले निःसन्तानको उपचारका लागि महिनावारीको दोस्रो दिनबाट शुरु भई १३/१४ दिनसम्म स्क्रिनिङ नै गरेर राख्ने गरिएको बताइन्। लामो समय लाग्ने हुँदा उपचारका लागि विकट ठाउँबाट आउनेहरुका लागि निकै समस्या हुने गरेको बताइन्। उनले निःसन्तानबारे जनचेतना जगाउन आवश्यक रहेको धारणा राखिन्।
बाँझोपन पछिल्लो केही वर्षयता सरकारको प्राथमिकतामा परेपनि यसको निराकरणका लागि संवद्ध निकायहरुले बन्न नसकेको चिकित्सकहरु बताउँछन्।
Shares
प्रतिक्रिया