समाज


साझा भण्डारको जग्गा व्यक्तिलाई बिक्री गर्ने सहकारीका पदाधिकारीविरुद्ध भष्टाचार मुद्दा

साझा भण्डारको जग्गा व्यक्तिलाई बिक्री गर्ने सहकारीका पदाधिकारीविरुद्ध भष्टाचार मुद्दा

नेपालखबर
साउन २५, २०८० बिहिबार १५:५४, काठमाडौँ

साझा भण्डार सहकारी संस्था लिमिटेड, भोटाहिटी, काठमाडौंको नाममा सुर्खेतमा रहेको जग्गा व्यक्तिलाई बेचविखन गरेको आरोपमा सहकारीका तत्कालीन अध्यक्ष जयकुमार खड्कासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

सहकारीका पदाधिकारीहरुले सुर्खेत जिल्ला साविक कटकुवा गाउँ पञ्चायत ९, हाल वीरेन्द्रनगर नगरपालिका–८ को क्षेत्रफल ०–२–० को जग्गा र बाँके जिल्ला, कोहलपुर गाविस ३ (क) को क्षेत्रफल ०–२–१७ को जग्गा अनुचित लाभ लिई कम मूल्यमा बिक्री गरी आर्थिक हिनामिना गरेको अख्तियारको ठहर छ।

साझा भण्डार सहकारी संस्था लि।का तत्कालीन अध्यक्ष जयकुमार खडका तथा सञ्चालक समितिका तत्कालीन सदस्यहरू आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा, भोला प्रसाद न्यौपाने र सदस्य सचिव तथा महाप्रबन्धक अमर थापाले साझा भण्डार सहकारी लि.को नाममा रहेको सुर्खेत उपत्यका नगर विकास समितिको गुरुयोजनाको प्लानिङ नक्सामा व्यावसायिक क्षेत्र भनी तोकिएको सो जग्गा साझा भण्डार सहकारी संस्था लि.ले बिना आधार र कारण हचुवाको भरमा अत्यन्त कम मूल्यमा बिक्री गरेको अख्तियारले जनाएको छ।

सो निर्णयबाट व्यक्ति विशेषलाई बिक्री गरी संस्थालाई चार करोड चार लाख २४ हजार १८१ रुपैयाँ २० पैसा हानिनोक्सानी पुर्याएको र व्यक्तिलाई फाइदा गराएको अख्तियारको ठहर छ।

सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको पुष्टि भएको हुँदा निजहरू जयकुमार खडका, आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा, भोला प्रसाद न्यौपाने र अमर थापालाई सुर्खेत र कोहलपुर दुवै स्थानको जग्गा बिक्रीवापत संस्थालाई नोक्सानी पुर्‍याएको चार करोड चार लाख २४ हजार १८१ रुपैया २० पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सोही दफा १७ ले निर्देश गरेको दफा ३ को उपदफा (१) को खण्ड (झ) बमोजिम कैद र जरिवाना गरी ऐ.को दफा १७ वमोजिम विगोसमेत असुल उपर हुन मागदावी लिइएको छ।

यस्तै, सञ्चालक समितिका तत्कालीन सदस्य योगेन्द्रनाथ कर्माचार्य, दैलेखको नारायण नगरपालिका–१ स्थायी ठेगाना भई हाल काठमाडौं जिल्ला, टोखा नपा ३, बाँसबारी बस्ने गीताकुमारी शाही, बाँकेको कोहलपुर नगरपालिका –११ बस्ने सुरोज गिरीउपर समेत कैद र जरिवाना हुन मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad