वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा आजदेखि बहिरङ्ग सेवा (ओपिडी) बिहान ८ बजे सुरु भएको छ। यसअघि बिहान ९ बजेदेखि ओपीडी सेवा सञ्चालन भइरहेको थियो।
वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले बिरामीलाई सहज सेवा दिने उद्देश्यले ओपीडी सेवा बिहान ८ बजे सुरु गरिएको जानकारी दिए। दुवै अस्पतालमा टिकटको समय बिहान ७ बजेदेखि दिउँसो २ः३० बजेसम्म निर्धारण गरिएको उनले बताए।
वीर अस्पतालमा शल्यक्रिया सेवा बिहान ८ बजे सुरु हुने अस्पतालले जनाएको छ। अस्पताल प्रशासनले सबै कर्मचारीको ई–हाजिरी अनिवार्य गरिएको जनाएको छ। अस्पतालबाट दैनिक तीन हजार बिरामीले ओपीडी सेवा लिइरहेका छन्।
ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले बिहान ८ः१५ बजेदेखि ओपीडी सेवा सुरु गरिएको जानकारी दिए। उनका अनुसार ट्रमा सेन्टरअन्तर्गत रहेका सबै विभागमा बिहानैदेखि ओपीडी सेवा सुरु गरिएको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) कार्यकारी परिषद्को बैठकले वीर अस्पताल र ट्रमा सेन्टरमा बिहान ८ बजे नै ओपीडी सेवा सुरु गर्ने निर्णण गरेको थियो। रासस
Shares
प्रतिक्रिया