ad ad

समाज


ठमेलमा गुण्डा सलबलाउन थाले, क्लबभित्रै कुटे सञ्चालक र बाउन्सर

ठमेलमा गुण्डा सलबलाउन थाले, क्लबभित्रै कुटे सञ्चालक र बाउन्सर

नेपालखबर
असार २४, २०८० आइतबार २०:१३, काठमाडौँ

काठमाडौंमा लामो समयदेखि शान्त देखिएका गुण्डा फेरि सलबलाउन थालेका छन्। नुवाकोटका गुण्डा सानु भाइ भन्ने युवराज गुरुङको समूहले ठमेलको नाइट क्लब ओम्नियामा प्रवेश गरेर सञ्चालक र बाउन्सरलाई कुटपिट गरेको हो।

नुवाकोट घर भएका राजेन्द्र गुरुङले सञ्चालन गरेको उक्त क्लबमा प्रवेश गरेर केही दिनअघि देखि नै उनीहरुले अराजक गतिविधि गर्दै आएका थिए।

तर असार १५ गते भने ६ जनाको समूहमा पुगेका गुरुङको समूहले सञ्चालकलाई लखेटि लखेटि कुटेको भिडिओ सार्वजनिक भएको छ।

युवराज गुरुङको समूहका विनोद लामा, रघु लामा, कमल लामा, निरु भन्ने निरज गुरुङ र विश्व लामाले क्लबका सञ्चालक र बाउन्सरमाथी कुटपिट गरेका हुन्। रक्सी खाएर उनीहरु निउँ खोज्दै क्लबमा प्रवेश गरेका थिए। युवराज र क्लब सञ्चालकबीच लेनदेनको कारोबार थियो।

राजेन्द्रले अढाई वर्ष पहिले युवराजलाई १८ लाख रुपैयाँ सापटी दिएका थिए। एक महिनामा फिर्ता गर्ने शर्तमा लगेको उक्त रकम एक वर्षसम्म पनि फिर्ता नगरेपछि उनीहरुको मनमुटाव सुरु भएको थियो।

रकम माग्दा युवराजले काट्छु मार्छु भन्दै धम्क्याउने तर रकम फिर्ता नगर्ने बताउँदै आएका थिए।

सुरुमा गुण्डाको ग्याङ क्लबमा प्रवेश गरेर राजेन्द्रसँग विवाद गर्न खोजेका थिए। त्यसपछि राजेन्द्र तल्लो तलामा झरेर बसे। पछि गुण्डाको समूह पनि तलै झरेर विवाद गर्न खोजे।

दुई तीनहप्तादेखि क्लबमा आउने र झगडा गर्ने बाउन्सरलाई धकेल्ने गर्न थालेका थिए। १५ गते भने ६ जनाको समूह आयो। क्लबमा प्रवेश गर्दा देखिनै बाउन्सरलाई धकेल्ने र लफडा गर्न खोजिरहेका थिए।

राजेन्द्रलाई भेटेर धम्क्याए, ‘तँ हामीलाई रक्सी खान दिने कि, नदिने? हामीलाई हेप्ने बदनाम गर्ने? मलाई के सोचेको छस् तलाई म ५ सेकेन्डमा हान्दिन्छु।’

क्लब सञ्चालकले विवाद नगर्न र रक्सी खान भने। तर उनीहरुले सञ्चालक राजेन्द्रलाई सडकमा निकाल्न खोजे। पटक पटक सडकमा हिँड् भन्दा पनि राजेन्द्र बाहिर जान मानेनन्।
पुलिसले कति दिन थुन्छ र म तेरो घरमै आएर खुकुरी हान्न सक्छु भन्दै धम्क्याए। नुवाकोटमा उनीहरुको घर वारीपारि नजिकै पर्छ।

सुरुसुरुमा पैसा फिर्ता मागेका राजेन्द्रले पछिल्लो समय पैसाको कुरा निकालेका थिएनन्। त्यो दिन पनि आफूलाई धम्क्याएर पटक पटक लफडा गर्न खोजेपछि उनले रकमको कुरा आफूले नगरेको भन्दै सम्झाउन खोजे।

तर तीन सातादेखि यसैगरी लफडा गर्ने खाने र नतिरि जाने गरेको समूह त्यो दिन लफडा नगरी फर्किन तयार भएन। अन्ततः क्लबका सञ्चालक र बाउन्सरलाई कुटपिट गरे।

कुटपिटमा संलग्न दुई जनालाई सोह्रखुट्टे बृत्तले पक्राउ गरेको छ। विनोद लामा र रघु लामा पक्राउ परेका छन्।  युवराजसहित चार जना भने फरार छन्। क्लब सञ्चालकले बृत्तमा ६ जनाविरुद्ध जाहेरी दिएका छन्।

सञ्चालक राजेन्द्र दुवईमा साढे ११ वर्ष रोजगारी गरेर फर्किएका हुन्। उनी फर्किएको एक हप्तामै युवराजले व्यवसाय गर्नका लागि भन्दै १८ लाख रुपैयाँ लगेका थिए। उक्त रकम लगेको आगमी माघ १७ गते तीन वर्ष पूरा हुन्छ।

सुरुसुरुमा उनीहरुले सँगै रमाइलो गरे पनि पैसा फिर्ता माग्न थालेपछि सम्बन्धमा खटपट सुरु भएको थियो।

पैसा लगेको एक वर्ष भइसकेपछि एक दिन युवराजले राजेन्द्रलाई धम्क्याउँदै म्यासेज पठाएका थिए। उनले म्यासेन्जरमा पठाएका थिए, ‘तैँले मेरो बदनाम गराइस्, धेरै फ्यार फ्यार नगर खुकुरी खालास्।’

राजेन्द्रले भने भेटेर कुरा गरौंला भन्ने जवाफ दिएका थिए।

यो समूहले राजेन्द्रका आफन्तको पनि ५९ लाख रुपैयाँ लिएको राजेन्द्रले बताए। उनीहरुको पनि रकम फिर्ता नगरी धम्क्याउने गरेका छन्।

सानुभाइ भनिने युवराज इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार घैँटेकै समूहका हुन्। घैँटे प्रहरी कारबाहीमा मारिएपछि उनीहरुको समूह गुपचुप भएको थियो।

युवराजले यसअघि नुवाकोटका निर्माण व्यवसायी अनिल श्रेष्ठलाई पनि गोली प्रहार गरेका थिए। २०६७ सालको उक्त घटनापछि फरार रहेका उनलाई २०७२ सालमा प्रहरीले बुलेटप्रुफ ज्याकेट लगाएको अवस्थामा पक्राउ गरेको थियो। उनको साथमा लोड गरेको पेस्तोलसमेत फेला परेको थियो।

यही समूहले २०७८ सालमा नुवाकोटका निर्माण व्यवसायी जितबहादुर कार्कीमाथि समेत गोलि प्रहार गरेको थियो।

त्यसपछि सामसुम रहेको यो समूह भने पुनः सक्रीय हुन थालेको हो। युवराजसँग सोह्रखुट्टे बृत्तका प्रहरीको समेत साँटगाँठ देखिएको छ। पटक पटक रिपोर्ट गर्दा पनि बृत्तले उनको समूहमाथि कारबाही गरेको थिएन। युवराजको समूहले प्रहरीसँग मिलेमतो देखाउँदै व्यवसायीलाई धम्क्याउने गरेको थियो।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी सीताराम रिजालले आपराधिक गतिविधिमा संलग्न समूह कारबाहीको दायरामा आउने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .