ad ad

समाज


आज दिनमा भन्दा राति बढी वर्षाको सम्भावना, तराईमा हावाहुरी पनि आउने अनुमान

२४ घण्टाका लागि चेतावनी जारी
आज दिनमा भन्दा राति बढी वर्षाको सम्भावना, तराईमा हावाहुरी पनि आउने अनुमान

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
असार १९, २०८० मंगलबार ८:२०, काठमाडौँ

दैनिक वर्षा हुने क्रम जारी छ। अहिले (मंगलबार बिहान) पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पानी परिरहेको मौसमविद्ले जानकारी दिएका छन्।  

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार यतिबेला कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको हो। ‘काठमाडौं उपत्यकामा पनि कतै कतै हल्का वर्षा भइरहेको छ’, उनले भने। 

मौसम महाशाखाका अनुसार आज दिनमा भन्दा रातमा बढी वर्षा हुने सम्भावना देखिएको छ। 

दिउँसो (भन्नाले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म) देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

महाशाखाका अनुसार राति (भन्नाले आज साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म) देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ। 

महाशाखाले आगामी २४ घण्टा (बुधबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ– देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ। त्यसैले  सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुनसक्ने देखिन्छ। तसर्थ भारी वर्षा, मेघगर्जन/चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।  

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। अनि २ सय मिलिमिटरदेखि माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ। 

यस्तै सम्बन्धित क्षेत्रको १० प्रतिशत भूभागमा मात्रै वर्षा हुनुलाई एक/दुई स्थान, १० देखि ३० प्रतिशत भूभागमा पानी पर्नुलाई थोरै स्थान, तोकिएको क्षेत्रको ३० देखि ५० प्रतिशत भूभागमा वर्षा हुनुलाई थोरै स्थान, ५० देखि ८० प्रतिशत भूभागमा पानी पर्नुलाई केही स्थान, ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुनुलाई अधिकांश स्थानमा वर्षा हुने भनेर बुझ्नुपर्ने मौसमविद् बताउँछन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .